|

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदूत नाइफ अलोटाइवीबीच सोमबार भएको भेटमा दुई देशको आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको थियो।

श्रममन्त्री श्रेष्ठले नेपाली कामदारको प्रमुख श्रम गन्तब्य बनेको साउदीमा नेपालीहरू विभिन्न समस्यामा परेको गुनासो आएकाले समाधानको पहल गर्न राजदूत अलोटाइवीसँग आग्रह गरेका थिए। सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको भन्दै उजुरी तथा गुनासो गर्ने नेपाली कामदारको संख्या धेरै रहेको उनको भनाइ थियो।

नेपाल र साउदी अरेबिया बीचको श्रम सम्झौतालाई छिटो अन्तिम रूप दिनुपर्ने मन्त्री श्रेष्ठले बताए। श्रम सम्झौता नहुँदा रोजगारदाता तथा मानव श्रोत आपूर्तिकर्ता संस्थाको कर्तव्य स्पष्ट हुन नसकेको बताए। छलफलपछि  राजदूत अलोटाइवीले नेपाली कामदारको सहजताको लागि आफू प्रतिबद्ध रहेको बताएका थिए।

मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारको सहयोगमा नेपालमा साउदीलक्षित सीप प्रशिक्षण केन्द्र संचालनको प्रस्ताव भएको थियो। अहिले साउदी अरेबिया जाने अधिकांश कामदार अदक्ष रहेकोले सीपयुक्त जनशक्ति उत्पादन गर्न सीप परीक्षण परियोजना संचालन गर्न सकिने उनले बताए। 

साउदीमा रोजगारीका लागि जाने नेपालीमध्ये अधिकांश अदक्ष कामदार छन्। करिब ४ लाख श्रमिक कार्यरत रहेको साउदी नेपाली कामदारहरूको लागि प्रमुख श्रम गन्तव्य हो। नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.