|

काभ्रे : जिल्लाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले नेकपा (एमाले) परित्याग गरेका छन्।

शनिबार बनेपाका मेयर बादेले आफूसहित परिवारका ५ जना सदस्यले एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिए।

पुनः बनेपाको मेयरको लागि टिकट दाबी गरेका बादेलाई नदिएर अर्कैलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका उनले एमाले परित्यागको घोषणा गरेका हुन्। एमाले काभ्रेले यसपटक बादेलाई टिकट नदिएर बनेपाको मेयरको लागि रत्नकुस रन्जितलाई उम्मेदवार बनाएकाे छ।

उनलाई एमालेले बनेपाको मेयरको उम्मेदवारमा सिफारिस भने गरेको थियो। तर अर्कैलाई उम्मेदवार बनाएपछि मेयर बादेले पार्टी छाेडेकाे जानकारी गराएका हुन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा बादे एमालेबाट बनेपा नगरपालिका मेयरमा निर्वाचित भएका थिए। निर्वाचनमा बादेले ११ हजार ४०९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम जोशीले ९ हजार ६८८ मत ल्याएका थिए।

बाँस्कोटाले धोका दिए

मेयर बादेले आफूलाई पूर्वमन्त्री तथा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले धोका दिएको बताए। बाँस्कोटाले आफूलाई मेयरको टिकट दिलाउने वचन दिएर अन्तिम समयमा धोका दिएको उनको भनाई छ।

‘मलाई गोकुल बाँस्कोटाले मेयरको टिकट दिने वचन पटकपटक दिएर पनि धोका दिए,’ उनले भने, ‘हाम्रो राम्रो किसिमको सम्बन्ध हुँदा हुँदै पनि मैले उनी (बाँस्कोटा) बाट धोका पाएँ। मलाई किन यसरी झुक्याए, उनीहरुको साँठगाँठ के थियो, त्यो उनैलाई थाहा छ।’

मेयर बादेले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य बाँस्कोटाले पार्टीभित्र सल्लाह र छलफल नगरी आफूखुशी पार्टीभित्र मनलाग्दी किसिमको काम गरेको आरोप लगाए। उनले बाँस्कोटालाई भगवानभन्दा केही कमी नमाने पनि आफूले धोका पाएको बताए।

बनेपा नगरपालिका पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य बाँस्कोटाको निर्वाचन क्षेत्र समेत हो। 

मेयर पदबाट राजीनामा दिने

बादेले नगर प्रमुखको पदबाट समेत राजीनामा दिने बताएका छन्। उनले पत्रकार सम्मेलनमा बोल्दै सोमबार नगरपालिका खुलेपछि नगर प्रमुखको पदबाट समेत राजीनामा दिने बताएका हुन्।

‘आज र भोलि सार्वजनिक बिदा छ, पर्सि कार्यालय खुलेपछि मेयर पदबाट पनि राजीनामा दिन्छु,’ उनले भने, ‘मलाई आश्वासन दिएका र धोका दिने व्यक्ति रहेको पार्टीमा बस्नु छैन।’ मेयर बादेले निर्वाचन अघि कुनै पार्टीमा नलाग्ने बताए। तत्काल अरु पार्टीमा प्रवेश गर्ने कुनै तयारी नरहेको उनको भनाई छ। 

उनले भने, ‘एमाले छाडे पनि निर्वाचन अघि कुनै पार्टीमा लाग्ने छैन। कुन पार्टीमा जाने भन्ने कुरा निर्वाचनपछि नै भनौँला।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.