|

विराटनगर : मुलुक यतिवेला स्थानीय तहको चुनावको संघारमा छ। शहर, बजार, गाउँका प्रत्येक बस्तीमा समृद्धिका नारासहित पार्टीका झण्डा बोकेर दलका नेता, कार्यकर्ता र उम्मेदवार पुगेका छन्।

कोही पाँचवर्षे कार्यकालको अनुभव बटुलिसकेका छन् भने कोही नयाँ अनुहारका उम्मेदवार शिक्षा,स्वास्थ्य, यातायातका पुरानै एजेण्डा बोकेर घरदैलो कार्यक्रममा व्यस्त छन्।

तर बिहान दिउँसोभरि पाखुरी बजाएर दुई पैसा कमाएर साँझमा खानेहरूका लागि भने निर्वाचन ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भने झैँ भएको छ। यस्तै एक जना हुन् विराटनगर–२ का सुशील सिंह। उनलाई चुनावी रौनकले खासै छोएको छैन।

दिनभर बिजुली रिक्सा चलाउँछन् उनी, साँझ बिहानको छाक टार्न। दिनभर कमाएर साहु र आफूले लिँदा खान मात्रै पुग्ने गरेको उनी बताउँछन्। उनको एक्लो कमाइले आफूसहित ४ जनाको परिवार धानीरहेको उनले बताए। आफूले अघिल्लो चुनावमा भोट दिएर पठाएका नेता ठाँउमा पुगेपछि मतदातालाई दिएको प्रतिबद्धता नै भुल्ने गरेको समेत उनीसँग गुनासो छ।

चुनाव पैसा हुनेका लागि मात्रै भएको बताउने उनी भन्छन्, ‘आफूलाई त आफ्नो काम र परिवारको हेरचाह थाहा छ, अरु त्यस्तै हो।’ 

यस्तै बेलबारी–१ की अनिता शाह र ढुंगाको सम्बन्ध गाँसिएको दशकौँ भयो। ढुंगा कुँदेर सिलौटोको आकार दिँदै बिक्री गर्ने गर्छिन् उनी। उनको यही व्यवसायले घरगृहस्थी चलिरहेको उनी बताउँछिन्। चोकमा चुनावी प्रचार चलिरहँदा उनी आफ्नो काम र व्यापार बाहेक अन्यत्र ध्यान नरहेको बताउँछिन्।

अनिता र सुशील जस्ता सडकमा परिवारका लागि पसिना र श्रम बेचिरहेकाहरूलाई न चुनावले छोएको छ न त उम्मेदवारको भाषणले नै तानेको छ। छोएको छ त भोको पेट र गृहस्थ जीवनले।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.