कञ्चनपुर : पुनर्वास नगरपालिकाका नव निर्वाचित नगर प्रमुख तोयप्रसाद शर्माले आज पदभार ग्रहण गर्दै सुकुम्बासीलाई एक वर्ष भित्रै जग्गाको व्यवस्था गरी लालपुर्जा वितरण गर्ने बताएका छन्।
उनले नगरपालिका क्षेत्र भित्रका वास्तविक सुकुम्बासीको पहिचान गरी जग्गाको स्वामित्व प्रदान गर्ने कार्य पहिलो प्राथमिकतामा राखिएको बताए।
आगामी आर्थिक वर्ष भित्र शववाहन खरिद गरिने समेत उनले बताए। शववाहनको व्यवस्था नहुँदा स्थानीय बासिन्दाले निकै सास्ती खेप्नु पर्ने अवस्था रही आएकाले यसको अन्त्य गर्नका लागि नगरपालिकाले शववाहन खरिद गर्ने उनले उल्लेख गरे।
चुनावमा जनता समक्ष जुन-जुन बाचा गरेर निर्वाचित भएका छौँ। ती सबै कार्य पूरा गर्नका लागि कटिबद्ध भएर लाग्ने उनको भनाई थियो।
नगर प्रमुख शर्माले वैदिक विधि अनुसार कार्यालय प्रवेश गरी पदभार ग्रहण गरेका छन्। उनलाई प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले स्वागत तथा सम्मान गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।