|

बागलुङ : जिल्लाको नगरपालिकाले सेवाग्राहीको सहजताका लागि फ्रन्ट डेस्क  संचालन गर्ने भएको छ। नगर कार्यपालिकाको तेस्रो कार्यपालिका बैठकले आम नागरिकको सहजताका निम्ति फ्रन्ट डेस्क  संचालन गर्ने निर्णय गरको हो।

फ्रन्ट डेस्क  स्थापनासँगै नगरपालिका भित्र छिर्नेबित्तिकै कहाँ के गर्ने भनेर अब सेवाग्राही अलमलिनुपर्ने अवस्थाको अन्त्य हुने नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए।

नगरपालिकाबाट प्रदान हुने हरेक सेवालाई चुस्त दुरुस्त र यहाँ हुने बेथितिको अन्त्यका लागि फ्रन्ट डेस्क  संचालन गरिने श्रेष्ठको भनाइ छ।

फ्रन्ट डेस्क  संचालन गरेसँगै यहाँ बस्ने कर्मचारीले सेवाग्राहीले कुन सेवा लिन आएको हो त्यो सबै बुझ्नेछन्, के के डकुमेण्ट आवश्यक पर्नेछ त्यसको बारेमा पनि जानकारी गराउनेछन्’ श्रेष्ठले भने–‘कुन कामलाई कति समय लाग्ने कामको प्रकृति हेरेर कर्मचारीले सेवा ग्राहीलाई जानकारी दिनेछन्, सेवाग्राहीलाई कुपन प्रदान गरिनेछ, तोकिएको समयमा काम सम्पन्न हुनेछ, प्रत्येक शाखा शाखामा धाउनुपर्ने छैन।’

सबै सेवाग्राहीलाई एउटै दृष्टिकोणले सेवा प्रदान गरिने उद्देश्यका साथ नगरपालिकाले नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने निर्देशिका २०७९ नै निर्माण गरेर यो कामलाई अगाडि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए। 

फ्रन्ट डेस्कमा एकजना अधिकृत, एक जना इन्जीनियर सहित पाँच जना कर्मचारी हुनेछन् र कुन शाखामा सम्बन्धीत काम हो उनिहरु मार्फत नै हुने उनले बताए।

‘नगरपालिकाले प्रदान गर्ने सेवा प्रवाहको मोडल परिवर्तन गर्न लागिएको हो, प्रशासकीय अधिकृत सापकोटाले भने, –‘सेवाग्राही नगरपालिका आएपछि कुन काम लिएर आएको छ त्यो बुझेर आवश्यक डकुमेण्ट तयार छ कि छैन त्यो हेरिने छ, सेवा ग्राही शाखामै जानु पर्दैनमा डेक्समा रहेका कर्मचारीले लगेर काम गरिदिने छन  कति समयमा काम सकिने छ, त्यो जानकारी सेवाग्राहीलाई गराईने छ, तोकिएको समयमा सेवा प्रदान गर्ने हाम्रो उद्देश्य हो।’

सबै नागरिकलाई समान रुपमा सेवा प्रदान गर्नका निम्ति डेक्सको स्थापना गर्ने निर्णय गरिएको सापकोटाले जानकारी दिए। सेवा प्रवाह निर्देशिकालाई राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गर्ने उनले बताए।

नगरकार्यपालिकाले पूर्णता पाएसँगै बसेको बैठकमा नवनिर्वाचित कार्यपालिका सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको थियो। सदस्यहरुलाई नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सपथ खुवाएका थिए।

विषयगत समितिलाई पूर्णता

बैठकले विषयगत समितिलाई पनि पूर्णता दिएको छ। यसअघि संयोजकको मात्र जिम्मेवारी तोकिएका सबै विषयगत समितिले पूर्णता पाएको सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिए।

पार्किङ व्यवस्थापन समितिका प्रतिवेदन

अघिल्लो बैठकमा निर्णय गरिएको बागलुङ बजारको पार्किङ व्यवस्थापनका लागि जग्गा खोज्ने जिम्मा पाएको समितिले बजार क्षेत्रका विभिन्न स्थानको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाएको छ।

बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरज बोसेलको संयोजकत्वमा गठित समितिले बजार क्षेत्रका हरेक क्षेत्रमा पार्किङका लागि सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन बुझाएको गौतमले जानकारी दिए।

कार्यविधि पारित

बैठकले नगर शिक्षा कोष संचालन कार्यविधि पारित गरेको छ भने नगरप्रमुखको संयोजकत्वमा हुने शिक्षा समितिलाई पनि पुर्णता दिएको छ। कार्यपालिका बैठकबाट वडा स्तरको आगामी वर्षको बजेटको सिल पठाउने र वडा तहबाट योजना छनोटका कामलाई तीव्रता बनाउने निर्णय गरेको सामाजिक विकास समितिका संयोजक गौतमले बताए।

नगरप्रमुख श्रेष्ठले गरेको पहिलो निर्णयलाई कार्यान्वयमा लैजाना बालमैत्री नगरपालिका घोषणाका लागि आवश्यक कामलाई आगाडि बढाउने र प्रत्येक वडामा बालसञ्जाल र नगरस्तरीय बाल सञ्जालको गठन गर्ने कार्यपालिकाले निर्णय गरेको नगरपालिकाले जनाएको छ।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.