|

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक शनिबार बस्दैछ। बैठक बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित एक ब्याङ्क्वेटमा बोलाइएको छ। 

बैठकमा हालका मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषयमा पार्टीभित्र देखिएको विवादबारे छलफल गर्ने तयारी छ। एकीकृत समाजवादीले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको तीन साता भएपनि कार्यान्वयन हुन सकेको छैन। 

बहालवाला मन्त्रीहरू सकभर आफू नहट्ने र हट्नैपरे नयाँ  आफू अनुकुल हुनुपर्ने गरी नेतृत्वलाई दबाब दिइरहेका छन्। उनीहरूले पार्टीको निर्णय अपरिपक्व भएको र नयाँ पठाउने मन्त्री समावेशी हुनुपर्ने भन्दै आठबुँदे लिखित ध्यानाकर्षण पत्रसमेत अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन्। 

पत्रका विषयमा आजको बैठकमा कुरा उठाउने मन्त्रीहरूको तयारी छ। २३ मध्ये १० सांसदले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा पार्टीको संसदीय दलको बैठक बोलाउन पनि माग गरिएको छ। केन्द्रीय कमिटी बैठकको तयारीका लागि शुक्रबार पार्टीको पोलिटब्युरो बैठक बसेको थियो । 

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले स्थानीय तहको निर्वाचन परिणामबारे समीक्षा गर्ने एजेण्डा राखिए पनि बैठकमा पनि मन्त्रीहरूले पार्टीको निर्णय नमानेको विषयमा बढी छलफल भएको थियो। शनिबार बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टीको आगामी कार्ययोजना, वर्तमान संगठनात्मक अवस्था तथा त्यसका सम्भावना र निर्वाचनमुखी कार्ययोजनाबारे छलफल गर्ने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.