|

काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षाकोषमा जोड्ने घोषणा गर्‍यो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताए। 

गत ४ वैशाखमा मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार तथा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूको नियमित योगदान रकम सञ्चित गर्ने, सञ्चित रकमको लगानी प्रतिफल सञ्चयकर्ताले प्राप्त गर्न सक्ने गरी तत्काल कार्यविधि बनाउने निर्णय गरिएको थियो।

सोही अनुसार प्रक्रिया अगाडि बढाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। नेपाली युवाले जीवनको उर्वर समय विदेशमा खर्च गरेका  हुन्छन्। विदेशमा बगाएको पसिनाका केही हिस्सा जम्मा गर्दा बुढेसकालमा सहयोग पुग्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए। वैदेशिक रोजगार ऐन परिमार्जन गरी श्रमिकलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गर्ने तयारी भइरहेको उनको भनाइ छ।

सामाजिक सुरक्षाकोषमा आबद्ध गर्दा रोजगारदाता कम्पनीले आधा लगानी गर्ने गरी श्रम सम्झौता गर्नुपर्ने हुन्छ। हाल मलेशियाको स्वइस्ट कम्पनी र वैदेशिक रोजगार बोर्डले सम्झौता गरी काम गर्दै आएको छ। जसबाट श्रमिकले फाइदा लिइरहेको उनको भनाइ छ। सोही मोडलमा अन्य गन्तव्य मुलुकलाई पनि जोड्ने तयारी भएको उनको भनाइ थियो। 

वैदेशिक रोजगारीका क्रममा दुर्घटनामा परी आजीवन काम गर्न नसक्ने गरी अंगभंग भई आजीवन सामाजिक सुरक्षाको आवश्यकता रहेकाहरूलाई पनि कोषले सञ्चालन गरेको अशक्तता सुरक्षा योजना सहयोग लिन सकिनेछ। हाल वैदेशिक रोजगारीमा रहेकालाई श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको पैसाबाट सहयोग लिइरहेका छन्। कल्याणकारी कोष जस्तै गरी व्यवस्थापन गरी अगाडि बढाउन लागेको मन्त्रालयले जनाएको छ। ऐन परिमार्जन गरी प्रक्रिया अगाडि बढाउने उनको भनाइ थियो। 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समिति गठन गरी वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराउन आवश्यक पूर्वाधार तयार गर्नेछन्। सोही अनुसार नेपालीको श्रम गन्तव्य मुलुकसँग द्विपक्षीय समझदारी गरी वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराइनेछ। मन्त्रालयले तयार गरेको पाँचवर्षे रणनीतिक योजनामा सामाजिक सुरक्षाकोषको विस्तारलाई प्राथमिकतामा राखिएको छ।

४ वर्षमा ३ हजार श्रमिक आबद्ध

२०७५ मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षाको शुरुवातदेखि निजी संगठित क्षेत्रका करिब ३ लाख ४० हजार श्रमिक र १७ हजार रोजगारदाता आबद्ध भएको मन्त्रालयले जनाएको छ। 

सरकारले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेटबाट नै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने योजना बनाए पनि कोभिड संक्रमणका कारण काम हुन सकेको थिएन। 

वैदेशिक रोजगार, सरकारी क्षेत्रमा रहेका अस्थायी तथा करारका कर्मचारी तथा श्रमिकहरूलाई कोषले सञ्चालन गर्ने योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्ने विषय उल्लेख गरे अनुसार कोषको कार्यक्षेत्र आगामी आर्थिक वर्षबाट थप विस्तार हुने भएको छ। विगत लामो समयदेखि खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरूले आफूहरूलाई सामाजिक सुरक्षा प्रत्याभूति दिन माग गर्दै आएका थिए।

सरकारको महत्त्वाकांक्षी योजना, कार्यान्वयनमा कठिनाइ

सरकारले घोषणा गरेको वैदेशिक रोजगारीमा रहेका युवालाई सामाजिक सुरक्षाकोषमा आबद्ध गर्ने सरकारको महत्त्वाकांक्षी योजना भएको वैदेशिक रोजगार विज्ञ गणेश गुरुङ बताउँछन्। स्वदेशमा विभिन्न क्षेत्रमा कार्यरत नेपालीलाई आबद्ध गर्न नसकेको अवस्थामा विदेशमा रहेकालाई समेट्छु भन्नु चुनौतीपूर्ण भएको उनको भनाइ छ।

सामाजिक सुरक्षाकोष राम्रो हो तर देशभित्रको कामदारलाई नेपालको कानुनमा आधारित भएर जोड्न नसकेको अवस्थामा विदेशमा रहेकालाई जोड्न कठिन हुने उनको भनाइ छ।

विदेश गएर छोटो समयमा स्वदेश फर्कनेलाई समेट्न कठिन हुने उनको भनाइ छ। वैदेशिक रोजगारीमा रहेका युवाले कोषमा रहेको रकम पाउन सकस हुने देखिन्छ। कोषमा जम्मा भएको रकम लिनका लागि ६० वर्ष पूरा गर्नुपर्छ। विज्ञ गुरुङले भने, ‘कुनै युवा विदेश गएर १ वर्षमा फर्कियो। त्यो एक वर्ष सामाजिक सुरक्षामा गरेको योगदान, पारिश्रमिक ६० वर्षपछि लिने?’‚ उनले थपे, ‘नेपालमा ६० वर्ष पुगेपछि त वृद्धभत्ता नै पाउने व्यवस्था छ।’

यसरी विदेशमा बगाएको पसिना वर्षौंसम्म कुर्नु परेपछि सुरक्षाकोषमा जोड्नु र नजोड्नुको अर्थ छैन तर यसलाई व्यवस्थित गरी श्रमिकले समस्यामा परेको समयमा लाभ दिने गरी अगाडि बढाउने हो भने सरकारको योजना स्वागतयोग्य पनि हो। सरकार जुन प्रक्रियाबाट अगाडि बढे पनि श्रमिकले सुविधा पाउनुपर्ने उनको भनाइ थियो।

यता मन्त्रालयले भने वैदेशिक रोजगारीमा जान श्रमिकको कल्याणकारी कोषसँग आबद्ध गरी सुविधा दिलाउने गरी वैदेशिक रोजगार ऐन परिमार्जन गर्ने तयारी भएको बताए। श्रमिकले कोषमा जम्मा भएको रकम लिन सास्ती भोग्नु नपर्ने बताएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.