|

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धी आचारसंहिता एक साताभित्रै कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिएका छन्।

विज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सो आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक साताभित्र अनुभूति हुने गरी त्यसलाई कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।

मन्त्री कार्कीले भने, ‘आज यो आचारसंहिता जारी गरेका छौं। आचारसंहिताको कुरामा मैले भनेको छु र अहिले पनि भन्छु यो आचारसंहिता जारी गर्दैगर्दा यो प्रभावकारी पनि हुनु पर्‍यो। यो आचारसंहिता लागू हुनु पर्‍यो। र, त्यसका निमित्त जति धेरै विचारविमर्श, छलफल सम्बन्धित पक्षसँग हुन्छ, त्यत्ति नै यो कार्यान्वयनमा सजिलो हुन्छ भन्ने मैले सुझाव दिएको थिएँ। मलाई लाग्छ, धेरै छलफलपछि यो आचारसंहिता आएको छ।’

उनले विज्ञापन क्षेत्र स्वस्थ र मर्यादित बनाउन जारी गरिएको आचारसंहिताको प्रभावकारी कार्यान्वयन नभएसम्म त्यसलाई ऐतिहासिक र महत्त्वपूर्ण भन्न नसकिने पनि स्पष्ट पारे। उनले‚ ‘म त्यतिखेर यसलाई ऐतिहासिक भन्छु–अहिले हामी शुरुवात गर्दैंछौं‍। यसमा अहिले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विसंगति र विकृतिहरू अन्त्य गर्दै यसले यो क्षेत्रलाई मात्रै होइन समाजलाई पनि लाभान्वित गर्न सक्यो भने यो ऐतिहासिक हुन सक्दछ। मलाई विश्वास छ। यो प्रभावकारी हुनेछ। ऐतिहासिक पनि हुनेछ भन्ने मैले आशा लिएको छु।’

सरोकारवालाहरूसँग धेरै छलफलपछि जारी गरिएको सो आचारसंहिताले विज्ञापन क्षेत्रका अस्वस्थ प्रतिस्पर्धा, विकृति र विसंगति अन्त्य गर्दै समाजलाई लाभान्वित बनाउने विश्वास मन्त्री कार्कीले व्यक्त गरे। उनले सो आचारसंहिता कार्यान्वयनमा कुनै व्यवधान खडा भए मन्त्रालय त्यसलाई तत्काल हटाउन लागिपर्ने प्रतिबद्धतासमेत जनाए।

‘अहिले देखिएका जुन अस्वस्थ प्रतिस्पर्धा‚ विकृति, विसंगतिलाई एकैदिनमा यही आचारसंहिताले अन्त्य गर्छ भनेर भनियो भने त्यो एकांकी हुन सक्छ। तर यो प्रभावकारी हुन सक्यो भने हामीले जारी गरेको यो आचारसंहिताको ओज र महत्त्व रहनेछ‚’ मन्त्री कार्कीले भने‚ ‘म यो मन्त्रालयको नेतृत्वको हैसियतले भन्न चाहन्छु–यो आचारसंहिता प्रारम्भ भएको दिनदेखि जुन ठाउँमा अप्ठ्यारा आउँछन्, जुन ठाउँमा अस्पष्टता आउँछन् र जसले अगाडि बढ्न व्यवधान खडा गर्छ‚ त्यसलाई तुरुन्त निराकरण गर्नका निमित्त यो मन्त्रालय तपाईंहरूका साथ रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु। अहिले हाम्रो समस्या नीतिमा छैन‚ अहिले हाम्रो समस्या कार्यान्वयनमा छ।’

मन्त्री कार्कीले मुलुकलाई चाँडै सभ्य र सुन्दर बनाउन स्वतन्त्रता र अनुशासन सँगसँगै अघि बढाउनुपर्ने आवश्यकतासमेत औंल्याए। ‘आज जति पनि विकसित‚ सभ्य र सुन्दर देशहरू छन्‚ तिनको परिपाटीलाई हेर्ने हो भने त्यहाँ अनुशासन पहिलो प्राथमिकतामा छ। तर स्वतन्त्रतालाई खोसेर अनुशासनको कुरा होइन‚’ उनले भने‚ ’स्वतन्त्रता र अनुशासनलाई साथसाथ अगाडि बढाउन सक्यौं भने हाम्रो देश पनि चाँडै सभ्य, सुन्दर देशमा विकास गर्न सक्छौं।’

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन बजारमा देखिएका विसंगतिको समाधान गर्न आचारसंहिता जारी गरिएको बताए। उनले अब त्यसको कार्यान्वयनमा केन्द्रित हुन विज्ञापन बोर्डलाई आग्रह गरे। उनले सो आचारसंहिता कार्यान्वयनमा जटिलता आए त्यसलाई सहज ढंगले सम्बोधन गर्न पनि विज्ञापन बोर्डलाई सुझाव दिए। उनले भने, ‘विज्ञापन बजारमा देखिएका विसंगतिलाई सम्बोधन गर्न सक्ने समाधानमुखी आचारसंहिता तयार भएको छ। त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा केही जटिलता आउलान्‚ विज्ञापन बोर्डले सहजीकरण गर्दै कार्यान्वयनमा लैजानुपर्ने हुन्छ।’

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन क्षेत्रमा देखिएका सबै खालका विकृति, विसंगति अन्त्य गर्दै विज्ञापन व्यवसायमा आबद्ध सबैलाई जिम्मेवार बनाउन आचारसंहिता निर्माण गरी लागू गरिएको बताए। उनले सो आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन सरकारले गर्ने पनि स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.