|

काठमाडौं : रौतहटमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई भारतीय युवकको शव फेला परेको छ।

भारतको सीतामढी कोट बजारबाट वि आर ०१ एच एफ ६६१९ नम्बरको निजी सवारीबाट रमाइलो गर्न रौतहटको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल नुनथर घुम्न आएका ३ जनामध्ये दुई जना भारतीय युवा शनिबार बागमतीमा डुबेर बेपत्ता भएका थिए।

नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरीको संयुक्त टोलीको निरन्तर खोजीबाट आइतबार दिउँसो घटनास्थलबाट करिब १५ किलोमिटर दक्षिणतर्फ नदी किनारमा फेला पारेका हुन्।

मृतावस्थामा भेटिएका दुवै जना भारतको सीतामढी जिल्ला कोटबजार बस्ने ३० वर्षीय मयंक अग्रवाल र ३० वर्षीय गोलु कुमार रहेको सशस्त्र प्रहरी बल नेपालको ११ नम्बर गणले जनाएको छ। आइतबार दिउँसो फेला परेका दुवै युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। २७ वर्षीय सुमन साहलाई स्थानीयले तत्कालै उद्धार गरेका थिए।

पोष्टमार्टमपछि दुवै जनाको शव आइतबार नै परिवारजनलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

रौतहटको प्रसिद्ध पर्यटकीय स्थल नुनथर घुम्न आउनेहरू हरेक वर्ष बागमतीमा पौडी खेल्ने क्रममा बगेर मृत्यु हुने क्रम बढ्दो छ। पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर उत्तरमा रहेको नुनथर क्षेत्र घुम्न ठूलो संख्यामा भारतीयहरू आउने गर्छन्। नुनथरमा रहेको प्रख्यात झोलुंगे पुलमा पर्यटकहरू सेल्फी खिच्नुका साथै मोटरबोट चढेर रमाइलो गर्ने गर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.