|

दाङ : उमेरले तीन बीस पार गरेका बबई गाउँपालिका ५ सिमगैराका  रिमबहादुर खड्का अचेल विद्यालय जान थालेका छन्। उनी पढाउन नभई पढ्न  विद्यालय जान थालेका हुन्।

बिहान नै उठेर घरको काम सकी उनी ९ बजे विद्यालय जानको लागि तयारी हुन्छन्। घरबाट १० मिनेटमा पुगिने विद्यालयमा उनी नाति–नातिना उमेरका विद्यार्थीसँग कक्षा ५ मा पढ्छन्।  

यही असार १४ गते विद्यालयमा भर्ना भएका रिमबहादुरलाई सानै उमेरमा पढ्ने रहर धेरै थियो। तर आर्थिक अवस्थाका कारण उनी कहिल्यै विद्यालय जान पाएनन्। 

अहिले उमेरले पनि पाको भएपछि र दिउँसो समयमा घरमा पनि कुनै काम नभएपछि सानैदेखिको रहर पूरा गर्न विद्यालयमा भर्ना भएको उनले बताए। ‘पढाइ कहिले पनि नसकिने र उमेरले पनि छेक्ने रहेनछ’, उनले भने, ‘त्यसैले मैले पनि पढाइ शुरु गरेको हुँ।’  

घरका जेठा छोरा हुन्, रिमबहादुर। सानोमा बुबाआमाले उनलाई विद्यालय भर्ना गरेनन्। भाइहरू विद्यालय जान्थे। उनी घरको काम गरेर बस्थे। पछि ठूलो भएपछि उनी रोजगारीको सिलसिलामा भारत गए। दैनिक काम सकिएपछि वर्णमाला सिकेर सामान्य लेख्न र पढ्न जानेका थिए। 

विद्यार्थीले बाजे भनी बोलाउँछन्

उमेरले पाको भएपनि उनका साथी भने अहिले साना–साना विद्यार्थी छन्। उनी विद्यालयको कोठामा पस्ने बित्तिकै साथीहरूले बाजे नमस्कार भनेर आफूसँग बस्ने आग्रह गर्छन्। ‘कक्षा कोठामा पस्नेबित्तिकै बाजे आउनु भयो भन्छन्’ उनी भन्छन्, ‘म कक्षा कोठामा बस्दा कसैले होहल्ला गर्दैन। सबैले पढाइमा ध्यान दिएका छन्। मैले पनि उनीहरूलाई राम्रो विद्यार्थी बन्न हौसला दिएको छु।’

एसईई उत्तीर्ण हुने उनकोे लक्ष्य छ। स्वास्थ्यले साथ दिएसम्म त्यो पूरा गर्ने उनले बताए। 

घरपरिवार खुसी

रिमबहादुरकी श्रीमती ६१ वर्षीया लालमती खड्काले श्रीमान् विद्यालय जान थालेपछि खुशी लागेको बताइन्। उनले पढाइलाई उमेरले नरोक्ने भन्दै श्रीमानको इच्छा भएपछि आफूहरूले पढ्नको लागि साथ दिएको बताइन्। उनले पनि आफूले सामान्य नाम लेख्न जानेको भन्दै श्रीमान् पढ्न जाँदा आफूलाई पनि विद्यालय जान मन लागेको बताइन्।  

बुहारी शान्ता खड्काले ससुरा पढ्न जादा धेरै खुशी लागेको बताइन्। ‘उहाँले आफ्नो पढ्ने उमेरमा घरपरिवार हेर्नुभयो। त्यसपछि हामीलाई पढाउनुभयो’  उनले भनिन्, ‘अहिले आफै झोला बोकी  पढ्न जादा पढाइलाई उमेरले रोक्दैन, भन्ने उदाहरण दिनुभएको छ।'

विद्यालय दंग 

विद्यालयका प्रधानाध्यापक कुम्भकर्ण खत्रीले ६१ वर्षीय विद्यार्थी विद्यालयमा भर्ना हुन आउँदा शुरुमा आफूलाई अनौठो लागेको बताए। ‘शुरुमा उहाँ भर्ना हुन आउँदा मैले उहाँलाई सोधेको थिए। तपाईंको उमेर गइसकेको किन पढ्न थाल्नु भयो, भनेर सोध्दा उहाँले पछिल्लो समय सबैले पढाइतिर ध्यान नदिएको अवस्था र आफ्नो सानैदेखि विद्यालय जाने रहर भएका कारण आएको भन्नुभयो र उहाँ भर्ना हुनुभयो,‘ उनले भने। 

रिमबहादुर कक्षा कोठामा पसेपछि साना बालबालिकाहरूले होहल्ला कम गर्ने पढाइ तिर ध्यान दिने गरेको पनि उनको भनाइ थियो। यस्तै उनले पाको भएका व्यक्ति भएकाले सजिलै पढाइ बुझ्ने  र  सजिलै पास गर्नसक्ने विश्वास लिएको पनि बताए।  उनका अनुसार कक्षा ५ सम्म रहेको विद्यालयमा अहिले ७८ विद्यार्थी छन्। 

अभिभावकलाई पढाउन संकोच!

रिमबहादुर ५ कक्षा भर्ना भएर विद्यालय आउन थालेपछि विद्यालयका शिक्षक-शिक्षिकाले शुरुमा अप्ठेरो मानेका थिए। शिक्षिका सीताकुमारी खड्काले रिमबहादुर दाइ नाता पर्ने भएकाले शुरुमा पढाउन केही अप्ठेरो लागेको बताइन्। तर विस्तारै बानी पर्दै गएको उनको भनाइ छ।

उनले बच्चाहरूसँगै अभिभावकलाई पढाउँदा केही फरक लागेको पनि बताइन्। ‘उहाँले सोधेको प्रश्नको जवाफ प्रष्ट दिनुहुन्छ। नजानेको कुरा सोध्नु हुन्छ। बालबालिका भन्दा बढी बुझ्नुु हुन्छ’, उनले भनिन्, 'अभिभावक जस्तो व्यक्तिलाई पढाउन लागेको मेरो पहिलो अनुभव हो।’ उनले रिमबहादुरको पढाइले गाउँ समाजमा राम्रो सन्देश पनि दिने विश्वास लिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.