|

म्याग्दी :  बेनी नगरपालिका-२ बगरफाँटका केही स्थानीयको जग्गाधनी प्रमाणपत्र पुर्जा (लालपुर्जा) भए पनि उपभोग गर्ने जग्गा नहुँदा मर्कामा परेका छन्।

म्याग्दी नदीको कटानका कारण म्याग्दीको बेनी नगरपालिका- २ बगरफाँटको ३६ रोपनी जग्गा बगरमा परिणत भएपछि हातमा लालपुर्जा भएपनि उनीहरूसँग कमाइखाने जग्गा नभएको हो।

 २०५७ सालदेखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गा उपभोग गर्न नपाए पनि स्थानीयले अझैसम्म पनि कर भने तिर्दै आएका छन्।

बगरफाँटस्थित ढलेबगरको विराउटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ। नदी बगेको ठाउँभन्दा पारीपट्टी बेनी नगरपालिका-६ को डम्मरासम्म फैलिएको विरौटाको अहिले नामोनिसान नभएपनि जग्गाधनी पूर्जा कामयमै रहेकोले हुँदै नभएको जग्गा र आफूले उपभोग गर्नै नमिल्ने ठाउँको समेत कर तिर्न बाध्य हुनुपरेको स्थानीय ओमवहादुर थापाले बताए।

थापाका अनुसार स्थानीय हिराबहादुर घिमिरे,भक्तवहादुर घिमिरे,ओमवहादुर थापा,कृष्णवहादुर थापा लगायत ८ जना व्यक्तिहरूले मालपोत कर तिर्दै आएका छन्।

पहिला जग्गा (खेत,बारी र घर) भएको ठाउँमा अहिले म्याग्दी नदी बगेको र आफ्नो जग्गा भएको ठाउँ बेनी नगरपालिका ६ डम्मरामा नदीको बगरमा परिणत भएको थापाले बताए।

‘हाम्रो जग्गा अहिले डम्मरामा पर्छ, नदीको बगरमा परिणत भएको छ’, थापाले भने, ‘जग्गाधनी प्रमाणपूर्जामा हाम्रो नाममा छ, वर्षेनी मालपोत कर तिर्दै आएका छौं,तर हाम्रै जग्गाको नदीजन्य पदार्थहरू हामीले प्रयोग गर्न पाउँदैनौँ,हामीमाथि अन्याय भएको छ।’

२०५७ सालमा म्याग्दी नदीमा आएको भीषण बाढीले जो जग्गा बगाएको थियो। त्यसयताका २१ वर्षसम्म जग्गाधनीहरूले नियमितरुपमा मालपोत कर तिर्दै आएका जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ।

जिल्ला मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्णबहादुर कार्कीले जग्गा नभए पनि जग्गाधनी प्रमाणपत्रमा जग्गा कायमै रहेको देखिएकोले जग्गाधनीले कर तिर्दै आएका बताए। स्थानीयले सो जग्गालाई सार्वजनिक जग्गामा दर्ता गरी मालपोत कर कट्टा गर्न आग्रह गरेका छन्।

पुरै गाउँ जोखिममा

बगरफाँट गाउँ पहिरो र नदी कटानको जोखिममा पर्दै गएको छ। २०५७ सालदेखि म्याग्दी नदीले कटान गर्न शुरू गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाको समयमा गाउँको सिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा म्याग्दी नदीको कटानबाट वर्षेनि त्रसित हुने गरेका छन्।

म्याग्दी नदीको कटान नियन्त्रणका लागि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुंगा र लेदोसहित उर्लिएर आउने बाढी नियन्त्रण हुन नसकेको स्थानीयले बताएका छन्।

‘गाउँ जोखिममा छ, सिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास रहिरहन्छ,’ नदी कटानबाट गाउँलाई जोगाउन वर्षेनी तटबन्धको पहल गर्दै आएका स्थानीय नारायण कार्कीले बताए।

म्याग्दी नदीको कटानका कारण बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमीन क्षय भइसकेको र नदी कटानको समस्या अझै बढ्दै गएको स्थानीय बुद्धिजीवी तथा म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्षसमेत रहेका कार्कीले जानकारी दिए।

बेनी नगरपालिका–३ को तारोखेतबाट बगेर बगरफाँटको सिरानमा अवस्थित पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्न सके केही मात्रामा गाउँ सुरक्षित रहने उनको भनाइ छ।

गाउँको सिरानमा रहेको विशाल पहिरो नियन्त्रणका लागि स्थानीय तहको प्रयासले मात्र नहुने भएकाले प्रदेश वा संघबाटै ठूलो योजना आवश्यक पर्ने देखिएको छ। तर, समस्याको समाधान नभएकाले यसले सदरमुकाम बेनी बजार समेत प्रभावित हुने अनुमान गरिएको छ।

पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट साँघुरिँदै गएको छ। आप्रे र उडाइनो छहराको बीचबाट खस्ने पहिरोका कारण गाउँको सिरानमा रहेको जंगल र बस्ती मासिने खतरा बढेको छ। पहिरोले गाउँ कुरूप बन्दै गएको र पाँच घरपरिवार बसाइ सरिसकेको स्थानीय टेकबहादुर कार्कीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.