|

काठमाडाै‌ं : पब्लिकेशन नेपालयले प्राचीन खानेपानीका लागि धारा व्यवस्थापन 'हिटी' अर्थात हिति प्रणालीमाथि लेखिएको पद्मसुन्दर जोशीको बृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशित गरेको छ। ललितपुर महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा काठमाडौं उपत्यकाका नगरप्रमुख, जनप्रतिनिधि, योजनाविद्, सम्पदा संरक्षण अभियानकर्ताका बीच‌ पुस्तक लोकार्पण गरिएको हो। 

कार्यक्रममा लेखक पद्मसुन्दर जोशीले ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठलाई पुस्तक हस्तान्तरण गरेका थिए। 

आधा शताब्दी अघिसम्म पनि नेपाल भनेर चिनिने काठमाडौं उपत्यका हालको अव्यवस्थित जनसंख्या थपिनु अघिसम्म वास्तुकला र संस्कृतिको विश्वस्तरको जिउँदो नमुना थियो। केही दशकयता खासगरी वि.सं. २००७ सालको खुलापन पछि र अझ २०४६ को परिवर्तनपछि योजनाविहीन र अनियन्त्रित आप्रवासनसँगै यहाँका कलाकौशल र सम्पदा उपेक्षामा परेका छन्। फलस्वरूप तिनको यथोचित प्रवर्द्धन त परै जाओस्, भएका सम्पदा पनि लोपोन्मुख अवस्थामा छन्। 

यसैक्रममा भत्किएको एउटा सुन्दर र कौशलपूर्ण सम्पदा हो हिटी प्रणाली। नेपालीमा हिटि भनेर प्रचलित यो प्रणाली काठमाडौं उपत्यकाको एउटा अद्वितीय र सम्पन्न जल व्यवस्थापन प्रणाली हो।

यो प्रणालीको सबैभन्दा पुरानो लिखित प्रमाण किराँत र लिच्छवी काल (झण्डै १‚७०० वर्ष पहिले) अङ्कित गरिएको पाइन्छ। नेपाल भाषामा यि को सम्बन्ध येंचु अर्थात सफा हुन्छ भने भोट-बर्मेली भाषामा ति वा डि को अर्थ पानी हुने र यसरी हितिको अर्थ सफा पानी भन्ने बुझिन्छ। 

उपत्यका वरपरका पहाडका भिरालो पाखाबाट तल झरेका किराँतहरूसँग पानीको स्रोतको रूपमा मूल फुटेर बग्ने पानी सम्बन्धी ज्ञान थियो भने दक्षिणतिरबाट उपत्यका पसेका लिच्छवीहरूसित भूमिगत जल र इनारको। हिति प्रणाली यी दुबै ज्ञानको समिश्रणको उत्कृष्ट परिणामको रूपमा लिन सकिन्छ। मल्लकालका हितिहरूको कलात्मकता र प्राविधिक विशिष्टताले यस कालमा यी हितिहरू अरू परिष्कृत र व्यापक बनेको देखिन्छ।

पानीको प्रमुख स्रोतको रूपमा प्रयोग गरिने हिति अर्थात् ढुंगेधाराहरू आज लगभग नष्ट हुने अवस्थामा छन्। हुनत अझै पनि केही हिति सञ्चालनमै छन् तर धेरैजसो हिति प्रणालीका अवयव नष्ट भइसकेका छन्। त्यसैले भएका हितिको प्रवर्धन गर्नु र बिग्रन लागेकाहरूको संरक्षण गर्न ढिलो भइसकेको छ।

यसै कार्यमा टेवा पुगोस् भन्ने उद्देश्यले उपलब्ध सूचना र ज्ञान संकलन गरी हिति प्रणालीको उद्गम, यसको प्राविधिक पक्ष, व्यवस्थापनका स्थापित पद्धति र हाल आएर हिति प्रणालीमाथि भइरहेका व्यभिचारहरू र पुनर्निर्माणका सम्भावनाहरूलाई समेटेर यो पुस्तक तयार पारिएको छ।

पुस्तकका लेखक जोशी भन्छन्‚ ‘आजको समयमा दिगो शहरी खानेपानी योजना डिजाइन गर्दा, हामी बीस वर्षको योजना बनाउँछौं‚ यदि धेरै महत्वाकांक्षी योजना छ भने तीसवर्षे पनि होला। आधुनिक जलविज्ञान र इन्जिनियरिङले त्योभन्दा बढी कल्पना गर्न सक्दैन तर हाम्रो हिति प्रणाली भने एउटा ऐतिहासिक प्राविधिक चमत्कार नै हो, किनभने यसले झण्डै दुई हजार वर्षदेखि पानीको बहाव व्यवस्थापन गरेको छ। हिति प्रणाली, भावी पिढी र संसारको सबैभन्दा आधुनिक प्रविधिका लागि पनि अकल्पनीय उदाहरण हो।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु‌‌ महर्जनले हिति सम्बन्धी पुस्तक प्रकाशित हुँदा आफू सबैभन्दा खुशी भएको बताए। मेरो अघिल्लो कार्यकालमा पाटनका हितिहरूबाट पानी झारेर देखाउने धोको थियो, त्यो पूरा हुन पाएन तर अझै पनि प्रयास जारी छ। यसपालि भने लगनखेलको सप्तपाताल पोखरीको जमिन नगर स्वामित्वमा ल्याउन सफल भएको र टीकाभैरव राजकुलो ब्यूँताउने अभियान समेत उल्लेख्य रूपमा अघि बढेको बताए। मेयर महर्जनले आफूहरू केटाकेटी छँदा यिनै पोखरीमा फुलेका कमलका पातमा भोज खाएको स्मरण गर्दै र तिनै पोखरीमा फेरि कमल फुलाउने आफ्नो इच्छा रहेको बताए। 

काठमाडौँ सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता पद्मसुन्दर जोशी दिगो शहरी विकासका योजनाकार हुन्। उपत्यकाको पूर्वाधार विकासका साथै मूर्त तथा अमूर्त सम्पदाहरूको जगेर्नामा सक्रिय उनी पेशाले इन्जिनियर हुन्। लामो समय त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा प्राध्यापनसमेत गरेका उनले काठमाडौँ महानगरपालिकाको शहरी योजना आयोगको सदस्यसचिव रही शहरी पूर्वाधार सुधार आयोजना तथा काठमाडौँ उपत्यका म्यापिङ कार्यक्रमको नेतृत्व गरेका थिए। नेपालीमा यो उनको पहिलो पुस्तक हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.