|

काठमाडाैं : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले​ नेपाल साहित्यिक रचनाहरुको उद्गम स्थल रहेको बताएका छन्।​ ओलीले साहित्यिक रचनाहरुलाई निरन्तरता दिन स्रष्टाहरूलाई प्रोत्साहित गरेका छन्।​​​

छिन्नलता गीत पुरस्कार गुठीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टाहरूलाई आग्रह गरेका हुन्।

उनले गीत, संगीत र गायनको क्षेत्रलाई अगाडि बढाउन नेपाली जनता सदैव प्रतिवद्ध रहेको पनि स्पष्ट पारे। नेपाल कविता, गीत, संगीत, गायनजस्तो रचनाहरुको परम्परा भएको मुलुक भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस परम्परालाई निरन्तरता दिएर नै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

उनले भने, ‘म रचना गरिरहन सबैलाई आग्रह गर्दछु। हाम्रो साहित्यिक परम्परा, हाम्रो कवि परम्परा आजको होईन। यो परम्परालाई अघि बढाऔँ हामी कृतसंकल्पित छौँ। गीतको क्षेत्रमा, संगीतको क्षेत्रमा, गायनको क्षेत्रमा हाम्रा साथीहरु प्रतिवद्ध हुनुहुन्छ, उहाँहरुलाई प्रोत्साहन गर्न हामी सबै तयार छौंँ। नेपाली जनता पनि यस परम्परालाई अगाडि बढाउन प्रतिवद्ध छन्।’

अध्यक्ष ओलीले गीत, संगीतसहितका साहित्यिक रचनाहरु छन्दवद्ध र लयवद्ध हुने भएकाले त्यसलाई बिर्सन नसकिने बताए। कार्यक्रममा ओलीले छिन्नलता साहित्यिक पुरस्कारबाट स्रष्टाहरूलाई सम्मान समेत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.