दाङ : लमही नगरपालिका-२ सुनपुरका रोहितसिंह चौधरी पेशाले सिभिल इन्जिनियर हुन्। उनी अहिले लमही-घोराही-तुलसीपुर सडकखण्डमा काम गर्दै आएका छन्।
तर उनी इन्जिनियरभन्दा पनि एउटा कृषकका रुपमा आफूलाई चिनाउन चाहन्छन्। उनले आफ्नै ३ बिघा जमिनमा करिब १ वर्षदेखि व्यावसायिक माछापालन गर्दै आएका छन्। ५ वटा पोखरी बनाएर माछा पाल्दै आएका चौधरीले इन्जिनियरिङभन्दा पनि आफूलाई कृषि मन पर्ने भएकाले यो व्यवसाय शुरु गरेको बताए।
उनले भने, ‘म एक सिभिल इन्जिनियर हुँ। तर मलाई त्योभन्दा पनि कृषिमा काम गर्न आनन्द लाग्छ। मेरा बाउबाजेहरूले पनि कृषि गर्दै आउनु भएको थियो। त्यसैले पनि होला मलाई कृषि नै मन परेको। अफिस टाइमपछि माछा हेर्दै आएको छु।’
उनका अनुसार कृषिमा अन्य व्यवसायभन्दा माछापालन सहज हुने र आम्दानी पनि राम्रो हुने गर्छ। ‘अरुलाई जस्तो माछालाई हत्तपत्त कुनै रोग पनि लाग्दैन,‘ उनले थपे, ‘अन्य कुनै समस्या पनि हुँदैन। खुला ठाउँ भएका कारण चोरी, विष हाल्न सक्ने र चरा, सर्पबाट मात्र जोखिम हुन्छ। फेरि अरुलाई जस्तो पूरै समय पनि दिनु पर्दैन। वेला वेलामा दाना दिनुपर्छ। पोखरीमा पानीको मात्रा हेर्नु पर्छ। जसले गर्दा पनि यो व्यवसाय अन्यभन्दा सहज छ।’
अहिले दुइटा पोखरीमा ३० हजार बैखा, अर्को पोखरीमा ७ जातका ५ हजार माछा रहेको पनि उनको भनाइ थियो। उनका अनुसार सबैभन्दा छिटो पंगास माछा करिब ६ महिनामा हुर्किन्छन्। यो माछा १ किलो हुनका लागि हुर्कंदासम्म करिब डेढ किलो दाना खाने गरेको पनि उनको भनाइ थियो। सबैभन्दा ढिला रहु भन्ने माछा हुर्कने र त्यो माछा करिब १ देखि डेढ किलो हुनको लागि १२ देखि १८ महिना लाग्ने पनि उनले बताए।
उनले नेपाली दानामा गुणस्तर नहुँदा दुई प्रकारका भारतीय दाना माछालाई खुवाउँदै आएको साथै सानो र ठूलो साइजलाई ९५ देखि १२० रूपैयाँ प्रतिकिलो पाइने पनि बताए।
अन्य बालीभन्दा माछापालनबाट राम्रो आम्दानी
चौधरीका अनुसार अहिले माछा पालिरहेको ठाउँमा धान, तोरी, गहुँलगायत खेती गर्दै आएका थिए। वर्षभरि खेती गर्दा पनि मुस्किलले ४१ हजारसमेत आम्दानी नहुने र हावापानीले पनि उपयुक्त ठाउँ भएका कारण माछापालन शुरु गरेको उनले बताए।
उनले भने, ‘एक बिघा जग्गामा माछा पाल्दा वर्षमा करिब ४ देखि ५ लाख आम्दानी भएको छ। यसमा शुरुमा पोखरी निर्माण गर्दा मात्र लगानी लाग्छ।’ उनले माछापालन गर्दा ५ वटा पोखरी निर्माणलगायत अन्य सामग्री खरिद गर्दा करिब ५० लाख रूपैयाँ लगानी भएको छ।
बेच्न समस्या छैन
उनले अहिले पोखरीमा पालिरहेका माछा आउँदो असोजदेखि बिक्रीको लागि तयार हुन्छन्। गर्मीभन्दा जाडोमा माछाको माग धेरै हुने भएकाले पनि आफूले त्यही समयलाई मद्देनजर गरेर माछा पालेको बताए। आफूले उत्पादन गरेका माछाहरू यहीँको बजारमा बिक्री हुने भएकाले व्यापारीहरू घरमै आएर लैजाने गरेको पनि उनको भनाइ थियो।
उनले भने, ‘मैले शुरु गरेको एक वर्ष भयो। तर अहिलेसम्म मलाई माछा बिक्री गर्न समस्या भएको छैन। यहाँ करिब ३० जनाले व्यावसायिक रुपमा माछा पाल्दै आएका छन्। तैपनि सिजनमा हामी माछाको माग धान्न सक्दैनौँ। जसकारण भारतबाट माछा ल्याएर ब्यापारीले बेच्ने गर्छन्।’ उनका अनुसार देउखुरी क्षेत्रमा करिब सय बिघा जमिनमा माछापालन भइरहेको छ।
लमही नगरपालिका-३ कान्तिपुरका दामोदर अधिकारीले पनि व्यावसायिक माछापालन गर्न लागेको ३ वर्ष भयो। उनी पूर्वशिक्षक हुन्। उनले एक बिघा आफ्नो जग्गामा र २ बिगाहा १२ वर्षका लागि भाडामा लिएर माछा पाल्दै आएका छन्।
उनले शुरुमा सानो पोखरीमा ५ सय माछा पाल्दा राम्रो आम्दानी भए पनि आफ्नो सबै खेतीयोग्य जमिन माछा पोखरी बनाएर शुरु गरेको बताए।
उनले भने, ‘शुरुमा मेरो जग्गामा मात्र माछा पालेको थिएँ तर खेतीभन्दा राम्रो आम्दानी भएपछि अरु जग्गा भाडामा लिएर शुरु गरेको छु। मेरो एक बिघा जग्गामा खेती गर्दा ५० हजार पनि हुँदैनथ्यो। तर माछाबाट एक वर्षमा ५ लाखसम्म आम्दानी गरे।’ उनले भाडामा लिएको जग्गाको वार्षिक १ कट्ठाको ४ हजारका दरले भाडा दिने गरेको पनि बताए।
उनका अनुसार अहिले उनीसँग ५ वटा माछा पोखरी रहेको र रहु, नैनी, कमन कार्प, सिल्भर कार्पलगायत जातका माछा पालेका छन्। उनले वर्षका २ पटक माछाहरू उत्पादन गरेर बिक्री गर्ने गरेको पनि उल्लेख गरे। उनले भने, ‘माछा पालनमा भर पर्ने हुन्छ। मैले ४ महिनामा बिक्री गर्ने गरी पाल्ने गर्छु भने २ महिना पोखरी सुक्खा राख्ने गर्छु। विशेषगरी लोकल दाना नै खुवाउने गर्छु।’
पानीको समस्या
उनले अहिले आफूले व्यावसायिक माछापालन गर्दै आएको भए पनि पानीको समस्या रहेको बताए। आफूले पोखरीमा कुलाको पानी राख्ने गरेको पनि बताए। ‘कुलामा पानी सधैँभरी एकनासले आउँदैन,‘ उनले भने, ‘सुक्खा समयमा खोलाबाट मोटर लगाएर पानी तान्नुपर्ने बाध्यता रहेको छ। बोरिङ नहुँदा पानीको निकै समस्या छ।’
बजार मूल्यको समस्या
यसैगरी उनले बजारमा मूल्य नपाउँदा आफूजस्ता माछापालन कृषकलाई समस्या हुने गरेको बताए। उनले स्थानीय बजारमा ब्यापारीलाई दिँदा अलि सस्तो मूल्यमा दिनुपर्ने अवस्था रहेको पनि बताए।
उनले भने, ‘सिल्भरलाई २३० सम्म दिनुपर्ने हुन्छ भने रहु, नैनी, कमन पनि प्रतिकिलो ३०० सम्ममा विक्री हुन्छ। त्योभन्दा बढी मूल्यमा बिक्री हुँदैन। गाउँमा आफूसहित अन्य २३ जनाले पनि व्यावसायिक माछापालन गरेका छन्।’
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट सहयोग
चौधरी र अधिकारीलाई केन्द्रले माछापालनको लागि सहयोग गरेको छ। चौधरीलाई पोखरी निर्माणका लागि र अधिकारीलाई माछालाई अक्सिजन दिने मेसिन र दाना खुवाउने आधुनिक मेसिन सहयोग गरेको हो।
सोलार जडान भएको मेसिनमा दाना दिने अटोमेटिक मेसिन र जाडो समयमा माछालाई अक्सिजन कमी हुने भएकाले अक्सिजन प्रदान गर्ने मेसिन भेटरिनरीले दिएको अधिकारीले बताए। उनले भने, ‘अहिले मलाई धेरै सहज भएको छ। पहिला हातले पोखरीमा माछालाई दिने गर्थेँ। अहिले मेसिनमा दाना राखिदिन्छु। त्यही मेसिनले अटोमेटिक दाना दिन्छ। धेरै राम्रो हुन्छ।’
दाङमा माछापालन फस्टाउँदै
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र दाङका अनुसार जिल्लामा माछापालनप्रति आकर्षण बढ्दै गएको छ। आर्थिक वर्ष ०७८/७९ मा मात्र १० हेक्टर जमिनमा पोखरी निर्माण भएको केन्द्रका मत्स्य विकास शाखाका अधिकृत प्रेमकुमार चौधरीले बताए।
उनका अनुसार प्रति हेक्टर पोखरी निर्माण गरेबापत किसानहरूले ५ लाख अनुदान पाउने गरेका छन्। आफूहरूले पोखरी निर्माण गर्दा र माछापालन गर्दा आफूहरूले सल्लाह सुझाव पनि दिने गरेको उनको भनाइ छ।
विगत १० वर्षदेखि जिल्लामा माछापालन तीव्र गतिमा अगाडि बढिरहेको भन्दै उनले करिब अढाइ सय किसानले ५ सयभन्दा धेरै पोखरीमा माछा पाल्दै आएको पनि बताए। यस आर्थिक वर्षमा मात्र २२ जना किसान माछापालनमा लागेको उनको भनाइ थियो।
उनले भने, ‘अन्य पेशाभन्दा यस पेशामा लगानी धेरै लाग्ने गर्छ तर लगानीअनुसार फाइदा पनि छ। अन्य पेशामा भन्दा यसमा त्यस्तो जोखिम पनि हुँदैन। त्यसैले जिल्लामा पछिल्लो समय किसानहरू माछापालनतिर बढेको पाइन्छ।’ जिल्लामा सबैभन्दा बढी देउखुरी क्षेत्रमा र त्यसपछि घोराही, तुलसीपुरमा पनि माछापालन भइरहेको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।