|

काठमाडौँ : नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बजेटमार्फत सरकारले जग्गा तथा आवास विकास प्राधिकरण बनाउनुपर्ने बताएका छन्।

अध्यक्ष लोहनीले आगामी आर्थिक वर्षको बजेटमा घर जग्गामा पछिल्लो समय देखिएका समस्या समाधान र कारोबार व्यवस्थित बनाउनका लागि प्राधिकरण बनाउने घोषणा गर्नुपर्ने बताए। 

उनले आज पत्रकारसँग कुरा गर्दै कुरा गर्दै मालपोत ऐन, २०३४ संशोधन भए पनि नियमावली तत्काल बनाएर कार्यान्वयन गर्नुपर्ने पनि बताए। उनले घरजग्गा कारोबार हेर्न छुट्टै नियमनकारी निकायको रुपमा जग्गा विकास आवास प्राधिकरण बन्ने गरी बजेटमा घोषणा गर्नुपर्ने माग राखे।

लोहनीले प्राधिकरणले घरजग्गाको कारोबारलाई पनि शेयर मार्केट जस्तो व्यवस्थित गर्ने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले शहरी ऐनमा ल्याण्ड पुलिङ निजी क्षेत्रलाई ल्याउने व्यवस्था गरी रियल स्टेटलाई जग्गा हदबन्दी छुट दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याउन जरुरी रहेको उल्लेख गरे।

उनले घरजग्गा कारोबार शिथिल भएको परिस्थितिलाई सहज बनाउने बजेट आउनुपर्ने बताए। उनले विदेशीहरुले अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए।

अध्यक्ष लोहनीले सरकारले बजेटमा लोकप्रिय खालका कार्यक्रम ल्याउने तर कार्यान्वयन नहुने समस्या रहेको भन्दै कार्यान्वयन गर्नेगरी ल्याउन सुझाव दिए। घरजग्गा कारोबार क्षेत्रमा पनि यस्ता धेरै कार्यक्रमहरु घोषणा हुने गरेको तर कार्यान्वयन नहुने गरेको भन्दै उनले कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.