|

काठमाडाैं : अनुप बरालको निर्देशनमा बनेको फिल्म दोख नेपाली फिल्म उद्योगकै लागि प्रतीक्षित फिल्म थियो। लामो समयदेखि नेपाली रंगमञ्च तथा फिल्ममा अभिनेता, निर्देशक तथा अभिनय प्रशिक्षकको रूपमा सक्रिय अनुपका धेरै विद्यार्थी अहिले रंगमञ्च तथा फिल्ममा जमेका छन्। 

भूकम्प जानुअघि नै छायांकनमा गएको फिल्म विभिन्न कारणले गर्दा प्रदर्शनमा आउन सात वर्ष लाग्यो। शुरुमा भूकम्प, त्यसपछि मधेश आन्दोलन, नाकाबन्दी हुँदै कोरोना काल समेत देखेको फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा आयो। प्रिमियरमा फिल्मले सबैबाट उत्साहजनक प्रतिक्रिया पायो। समीक्षकले पनि फिल्मलाई हेर्नैपर्ने फिल्म बताए। केहीले दोखलाई एउटा फिल्म स्कुल नै मान्न सकिने पनि बताए। 

फिल्म प्रदर्शनमा आएको चौथो दिन राजधानीको एउटा फिल्महलमा पुग्दा ६ जना दर्शक नपुगेका कारण शो क्यान्सिल हुने अवस्थामा थियो। शो टाइमको १० मिनेट अघिसम्म दोखका लागि आएका दर्शक ४ जना पुगे। पाँचजना मात्रै भए पनि शो हुने कुरा भयो। अन्तिममा फिल्म चल्नका लागि पुग्नुपर्ने दर्शक पुगे। एकदुईजना अरू थपिए। टिकट कट्यो, शो शुरु भयो। 

फिल्ममा माओवादी जनयुद्धको समय परिवेशमा पूर्वको पहाडी जिल्ला भोजपुरका दुई गाउँ भकुन्डे र सल्लेको कथा रहेको छ। दुवै गाउँको बीचमा रहेको चुथ्रे वनलाई दुवै गाउँले आफ्नो भनेर दावी गर्छन्। कथाको आधार भूमि यही हो। यसमा सशस्त्र द्वन्द्व, प्रेम, खेल, झेल, दोख मिसिएर फिल्म बनेको छ। 

राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेको तत्कालीन नेपाली समाजको चित्रण फिल्ममा गरिएको छ। एउटा गाउँको झुकाव राज्य पक्षतर्फ छ, अर्को गाउँको झुकाव विद्रोही पक्षतर्फ। युद्धमा होमिएका दुई पक्षको छायाँजस्तो देखिने दुई गाउँमा अर्को युद्ध चलेको छ। जुन जसले जिते पनि, जसले हारे पनि हार नै हो भन्ने उनीहरूलाई हेक्का छैन।

स्कुल पढ्दै गरेको १०,११ वर्षे बालक रेवन चस्मा र सिको फाइभ घडी देखेर माओवादी कमान्डर बन्ने सपना देख्दै छ। कमान्डर आफूलाई गरिब दुःखीहरूको मसिहा भनिराखेकै छ। बाउ मरेर कपाल मुण्डन गरेको अर्को बालक कलम छोडेर बन्दुक बोकी जंगल पसेको छ। माओवादीका गोलीले पनि मान्छे मरेका छन्, सेनाका गोलीले पनि मान्छे मरेका छन्। सबैको उस्तै रगत बगेको छ। 

युद्धका कारण बालबालिका अचेत जस्ता छन्, युवा अन्योलमै छन्, वृद्धवृद्धा पट्टी बाँधिए जस्ता छन्, के भइरहेको छ? यसको नतिजा के आउने हो? कसैलाई थाहा छैन। समाज लाचार छ। कहिले कठपुतली जस्तो, कहिले चावी घुमाएर छोडेपछि नाच्ने खेलौना जस्तो। 

त्यस्तो परिवेशमा दुई पात्र रुनित र रुक्कीका आँखा जुधेका छन्, मन मिले जस्तो, माया लागे जस्तो भएको छ। जो दुवैजना अप्ठ्यारो बाटो हुँदै त्यहाँ आएका छन्। प्रेमको फूल फक्रेला जस्तो गरेको छ तर त्यही वेला बम गोली पनि चलेको छ। 

फिल्मका केही दृश्य छन् जसले फिल्मलाई अझै खँदिलो र बलियो बनाएका छन्। जस्तो रुनित र पात्रे बूढा बाघचाल खेलिरहेको दृश्य, रुक्की ऐना हेरेर  सिंगारिन खोजिरहेको दृश्य, स्कुले बालकहरूले माओवादी झण्डा फहराउँदै दगुरेको र बन्दुक बोकेको दृश्य, पल्लो गाउँमा गोलाबारी भएको वल्लो गाउँलेले हेरिहेको दृश्य आदि।

अधिकांश अनुपकै विद्यार्थीको अभिनय रहेको फिल्ममा कलाकार र निर्देशकको काम तारिफयोग्य छ। दियाको फिल्मोग्राफीमा एउटा अर्को राम्रो फिल्म थपिएको छ, लोकमणि सापकोटा धेरै कलाकारका लागि प्रेरणा बनेका छन्, माओत्से गुरुङको  स्वाभाविक अभिनय लोभलाग्दो छ।  मनीष निरौला, सुरज मल्ल, रोए दिव, साजन थापा मगर, कमल देवकोटा, अनोज पाण्डे लगायत सबै कलाकारलाई दर्शकले छिटै फेरि हेर्ने इच्छा गर्छन्। निर्देशक र छायांकार, सम्पादकको सन्तुलित तालमेलले फिल्मलाई प्राविधिक रूपमा पनि अब्बल बनाएको छ। पार्श्वसंगीतले फिल्मलाई अझै शक्तिशाली बनाएको छ। 

एक हप्ता पूरा नहुँदै दोख केही फिल्म हलबाट उत्रिसकेको छ। बाँकी रहेका केही शो न्यूनतम दर्शकका साथ चलिरहेको छ, केही शो दर्शक नै नपुगेर रद्द पनि भएका छन्। नेपाली फिल्ममा हाम्रा मौलिक कथा कलात्मक रूपमा पनि उत्कृष्ट बनेर आउनु कलाक्षेत्रमा मात्रै नभएर सबै नेपालीको लागि खुसीको कुरा हो। फिल्म अभिलेख पनि भएकाले यो उपलब्धि पनि हो तर हलमा दर्शकको उपस्थितिले भने मौलिक कथामा फिल्म बनाउने निर्माताहरूलाई निरुत्साहित गर्ने हो कि भन्ने डर रहने गर्छ। यद्यपि समय क्रमसँगै बिस्तारै यस्ता फिल्मले पनि व्यावसायिक रूपमा राम्रो प्रदर्शन गर्न सक्लान् भन्नेमा आशावादी हुने ठाउँ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.