|

जनताले सबैभन्दा बढी आशा गर्ने राजनीति र राजनीतिक दलसँग हो। त्यसैले अपेक्षाकृत काम नभएका कारण नेपालको राजनीतिक दल, तिनका नेता कार्यकर्ता अत्यन्तै आलोचित छन्।

दल र त्यसका नेताका त्रुटि कमजोरी औंल्याएर  सही बाटोमा हिँडाउने काम पत्रकारिताको हो भन्ने बुझेर आममानिस अहिले नेतासँगै पत्रकारितासँग पनि असन्तुष्ट छन्।  

एउटा साक्षर पढे लेखेको वा कसैसँग आफू पत्रकार भएको परिचयसहित कुरा गर्न थाल्नु भयो भने प्राय असन्तुष्टि र आक्रोसको भुमरीमा  पर्ने सम्भावना हुने गर्छ। मानौँ दलका नेताहरू काम गर्नु अघि पत्रकारसँग परामर्श लिएर गर्छन् वा त्यसो नगरे पहिले पहिले प्राथमिक विद्यालयको शिक्षकले गल्ती गर्ने विद्यार्थीलाई गरे जस्तो पत्रकारले नेतालाई कान समाएर उठबस गराउन सक्छ वा कुखुरो बनाएर सबैसामु लडाउन सक्छ।

दलका नेता उनका कार्यकर्ताका मालिक सरह हुदै गएका छन्। स्वतन्त्रताका लागि दलमा लागेका कार्यकर्ता उनकै नेतासँग खुलेर बहस गर्न सक्दैनन।  सर्वभौम भनिएका जनताको पाँचबर्षमा एकपटक नेतालाई ठिङ्याउने पालो आउँछ त्यसमा पनि ढाँटढुँट पारेर मत आफ्नो पोल्टोमा पार्छन् र भोलिपल्टैदेखि ठालु बन्ने गरेको तीतो यथार्थ सबैसामु छर्लङ्ग छ।

स्वास्थ्य शिक्षा खानेपानी खाद्यान्न निर्माण सामग्री  जस्ता साधारण देखिने तर मानव जीवनका अपरिहार्य कुरामा भइरहेको खेलवाडबारे पत्रकारले केही लेखिदिउन बोलिदिउन वा केही देखाइदिउन् भन्ने सबैको स्वाभाविक चाहना हुन्छ।

राष्ट्रको कोष, प्रहरी प्रशासन, अवसर सबै पालोफेरो मूल नेताहरूका हातमा हुने गर्छ। त्यसको उपयोग दुरुपयोग सबै उनिहरूमै निर्भर रहन्छ।

जनताले तिरेको करको दुरुपयोग मात्र होइन उद्योगी व्यापारी साहु महाजनबाट अनुचित र अपारदर्शी लाभ लिएर नेता र तिनका कार्यकर्ताले त्यसबापत उनीहरूलाई दिने सहुलियतको मार बजार मूल्यवृद्धि विकास निर्माणमा ढिलाइ राजश्वमा हानी जस्ता कुराले राष्ट्रघात नै भइरहेको हुन्छ।

यी र यस्ता सबै कामको अनुगमन मूल्याङ्कन गरेर राजहाँसले गरे जस्तो दूधको दूध पानीको पानी जनसमक्ष पस्किने काम पत्रकारिताको हो भन्ने अपेक्षा गरिन्छ।

यथार्थमा त्यस्तो नपाएपछि सञ्चारका आम उपभोक्ताको स्वाभाविक आलोचना गुनासो र आक्रोश पत्रकारितातर्फ सोझिनु एकदम जायज छ।

यति मात्र होइन बजार अर्थतन्त्र र उपभोक्तावादले समाजलाई गजबसँग प्रभावित गरिरहेको छ। यस बेला हामीले उपभोग गर्ने हरेक सामान र लिने सेवाको गुणस्तरप्रति सञ्चारजगतको चासो र अग्रसरता कम मात्र गएको देखिन्छ।

स्वास्थ्य शिक्षा खानेपानी खाद्यान्न निर्माण सामग्री  जस्ता साधारण देखिने तर मानव जीवनका अपरिहार्य कुरामा भइरहेको खेलबाडबारे पत्रकारले केही लेखिदिउन् बोलिदिउन् वा केही देखाइदिउन् भन्ने सबैको स्वाभाविक चाहना हुन्छ।

अपवादबाहेक नेपालका सरकारी कार्यालयले दिनुपर्ने सेवा असहज छ। सामान्य नागरिक त के आफूलाई पढेलेखेको भन्ने मानिस पनि सरकारी कार्यालय गएर सजिलै काम हुन्छ भन्ने कुरामा विश्वस्त हुनसक्ने अवस्था छैन। भनसुन बिचौलिया घुस वा अन्य प्रलोभन नभए सरकारी र अर्धसरकारी कार्यालयमा काम हुँदैन।

पछिल्लो समय टेलिकममा जस्ता निजी क्षेत्रको प्रतिस्पर्धामा गएका संस्था र निकायमा केही सुधार भए पनि विद्युत् प्राधिकरण खानेपानी जस्ता कार्यालयमा काम लिन गाह्रो छ। मालपोत नापी यातायात व्यवस्था कार्यालय मात्र होइन प्रहरीका निकायको जालझेल,  जिल्ला प्रशासनको रवाफ र उनीहरूको कानुनी उल्झन जोसुकैले बुझ्नै सक्दैन। 

अहिलेको समाजमा सञ्चार प्रविधिले जति सम्पन्न छ, सुचनाको भोक पनि त्यति नै छ। आफ्नो परिवेश नजिकको समाज र देशसँगै मानिस विश्व, विश्व ब्रह्माण्डसम्मको जानकारी चाहन्छ।

आफ्नो पहुँचभन्दा बाहिरका कुरा आमसञ्चार जगतले पस्किदियोस भन्ने उसको चाहनामा त्यसबेला पानी खन्याए जस्तो महसुस गर्छ; जब आफ्नै वरिपरिका समस्यामा पत्रकारिता चुप लाग्छ पत्रकार चुप लाग्छ। पत्रकारले लेखे बोले वा देखाए पनि यथार्थसँग मेल नखाएको बुझेपछि पत्रकार र पत्रकारिता प्रतिको असन्तोष झनै आक्रोस चुलिन्छ।

पत्रकारिताले बन्दुक त बोक्दैन दुनियाँमा। तर, पत्रकारिताका बलले विश्वमा धेरै क्रान्ति र परिवर्तन सम्भव भएका छन्। पत्रकारिताले संयुक्त राष्ट्र संघको जस्तो मध्यस्थता पनि गर्दैन। तर पत्रकारिताका कारण द्वन्द्वरत पक्षहरू बीच मध्यस्थता भएका छन्। पत्रकारिताले अदालतको जस्तो इजलास राख्दैन तर पत्रकारिताका कारण न्यायका काम भएका छन्।

पत्रकारिताले पूजापाठ भागवत बाचन वा देवताका नाउँमा कीर्तन गर्दैन तर पत्रकारिताका कारण धेरै धर्मका काम भएका छन्। पत्रकारिताले कृषि उद्योग व्यापार गर्दैन तर पत्रकारिताका कारण आर्थिक उन्नतिका काम भएका छन्। तर अहिले नेपाली पत्रकारिताले यो बुझेको देखिदैन आफैं नबुझेपछि अरुलाई बुझाउन सक्ने त कुरै भएन।

भोकाहरूले खान, नाङ्गाहरूले लाउन र उपचारका लागि छटपटाइ रहेकाले पत्रकारिता कै कारण उपचार पाएका छन्। पत्रकार कुलो खन्न नगए पनि पत्रकार ले लेखिदिएका कारण किसानले सिंचाइ पाए। सडक पुल बनाउन जाँदैन पत्रकार तर उसले लेखेका कारण सडक पुल बनिएका छन्। जनताले सुविधा पाएका छन्।

दुनियाँमा पत्रकार पत्रकारिताको महत्वका बारेमा जतिधेरै बखान व्‍याख्या प्रशंसा गरिएका छन् उति नै आलोचना र गाली पनि गरिएको छ। पत्रकार कुनै पक्षको हुनसक्छ, तर पत्रकारिता सधैँ निष्पक्ष हुनुपर्छ भन्ने मान्यताबाट पनि हेर्ने गरिन्छ।

तर, स्वयं कर्ता नै पक्ष विपक्षमा भइसकेपछि उसबाट संप्रेषित समाचार निष्पक्ष शुद्ध सन्तुलित र नैतिक हुन सक्दैन भन्ने कोणबाट व्याख्या गर्नेहरू पनि उति नै छन्।

वर्तमान अवस्थामा मुलत पश्चिमा देशका तुलनामा नेपाल जस्ता विकासशिल राष्ट्रहरूमा पत्रकारिता  शुद्ध, सन्तुलित, विश्वसनीय, शिष्ट, नैतिक र स्वच्छ, निष्पक्ष, यथार्थ,  सन्तुलित, स्वतन्त्र छैन भन्ने प्रचार पनि कम छैन। तर स्वयं पश्चिमा देशका प्रमुख अखबार टेलिभिजनले बेलबखत कसको पक्षमा काम गर्छन् भन्ने पनि छर्लङ्ग छ।

हाम्रो पत्रकारितामा पक्षधरता मात्रै पनि समस्या होइन। समस्या त शैली र सीपको हो। पत्रकारले पस्किने तरिकाको हो र पत्रकारलाई हेर्ने अनि समाचारलाई हेर्ने दृष्टिकोणको पनि हो।

अमेरिकी निर्वाचनमा रिपब्लिकन र डेमोक्रेट पार्टीको पक्ष विपक्षमा अमेरिकी सञ्चार माध्यम कसरी विभाजित हुन्छन् भन्ने कतै छिपेको छैन। यसै गरी बेलायती निर्वाचनमा लेवर र कन्जरभेटिभ पार्टी बीचको पक्ष पोषण त्यहाँका मुलधारका माध्यमले कसरी गर्छन् भन्ने पनि प्रष्ट छ।

हो हामी सबैलाई थाहा छ पश्चिमा सञ्चार माध्यम जसलाई हामी अन्तराष्ट्रिय सञ्चारमाध्यम भन्छौं उनिहरूका समाचारका प्राथमिकता के हुन् भन्ने सबैले बुझेका छौँ।

इस्लाम र इसाईका बीचमा भएका द्वन्द्वमा उनिहरू कसरी प्रस्तुत हुन्छन्। हिन्दू र बौद्धका बारेमा उनको मत कसरी प्रभावित हुन्छ। मत नमिलेको चीन उत्तर कोरियाका बारेमा के भन्छन् या मत नमिलेका गरिब राष्ट्रका समस्या मत मिलेकाहरूका समस्या र स्वयं उनकै क्षेत्रमा देखिने समस्यामा के भन्छन् सबै स्पष्ट छ।

तर पनि यता जस्तो नग्न ढंगले पक्षपोषण गरिँदैन। पेशागत आवरण र मर्यादा भित्र रहेर सबै काम सम्पन्न हुन्छन्। यसको पक्षधरता पछाडि व्यक्तिगत स्वतन्त्रताले काम गर्छ। जुनसुकै पेशामा आबद्ध भए पनि व्यक्ति, समाज, धर्म, राजनीति जस्ता विषयमा सामान्यतया कुनै पनि मानिस निरपेक्ष हुदैन। पत्रकारितामा त्यही सापेक्षताको छाया देखिने हो कतै बढी कतै घटी।

नेपालका सन्दर्भमा पत्रकारको व्यक्तिगत स्वतन्त्रता पनि पार्टी मातहत राख्ने धृष्टता गरिएकाले समस्या देखिएको हो भन्ने मेरो मत छ। मतदाताबाट मत लिने काम दलको हो र गोप्य मतदान गर्ने अधिकार नागरिकको हो । तर  उसलाई आफ्नो पक्षमा भएको देखाउन सडकमै झण्डा बोकेर निस्किन बाध्य पारिन्छ।

पत्रकार मात्र होइन प्राध्यापक, कानुन व्यवशायी, शिक्षक, चिकित्सक, कर्मचारी प्राय सबैलाई सर्वाङ्ग नग्न बनाएको छ हाम्रो राजनीतिले। अथवा भनौँ सबै पेशाका मानिस गएर राजनीतिक दल सामु आत्मसमर्पण गरेको अवस्था छ।

यसरी कोही खुलेन भने उसले पाउने अतिरिक्त सुविधा त पाउँदैन नै सामान्य नागरिक सुविधाबाट समेत बञ्चित हुने वा झमेला व्यहोर्नु पर्ने भय सिर्जना गरिन्छ। जसका कारण हरेक नागरिक स्वयं पनि पक्ष विपक्षमा खुल्नुपर्ने बाध्यता दिनदिनै घट्ने होइन बढ्ने अवस्थामा रहनु मुलुक र पेशाको विकासका लागि दुर्भाग्य हो।

हरेक पेशाले दलहरूलाई बलियो बनाउनु पर्ने हो तर यसैकारण दल त बदनाम छन् नै पेशागत जगत समेत कमजोर र मर्यादाहिन बन्न पुगेको छ।

अहिले नेपालमा पत्रकारिताका बारेमा यसका उपभोक्ताको असन्तुष्टिलाई यसै परिवेशमा हेरिनुपर्छ। हरेक दलले पत्रकारका भातृ संगठन बनाएका छन्। के ती संगठनको उद्देश्य समाचार निष्पक्ष सन्तुलित वा पत्रकारिताको सिद्धान्त अनुरुप बनाउने हो? कि माउ पार्टी वा तिनका नेताका पक्षमा लेख्नु हो?  

यति मात्र होइन यहाँ अधिकांश लगानीकर्ता मौकाअनुसार आफ्नो सञ्चार माध्यम दलका नेताहरूको सेवामा लगाउन चाहन्छन्। यसरी नै हरेक पाठक आफ्नो पक्षको समाचार पढ्न चाहन्छ। हरेक दलको हरेक नेता कार्यकर्ता आफ्नो पक्षमा लेखेको मात्र रुचाउँछ। त्यो रुचि भित्रको छिद्रबाट हरेकले पत्रकारको पक्षधरता औंल्याउन खोज्छ।

पत्रकार र पत्रकारिता सरकारको सधैँ पक्षधर रहिरहने कुरा हुन सक्दैन। राम्रा कामको पक्ष लिनु र नराम्रा कामको आलोचना गर्नु पत्रकारिताको धर्म हो। तर, सरकार र दलहरू सधैँ पत्रकारलाई स्वतन्त्रताको सीमा तोकेर बस्ने गरेका छन्।

मुलुकको राजनीति मात्र होइन संविधानको समेत अनुकूलको व्याख्या गर्ने र आफ्नै दल व्यवस्थापनमा  चुकेका नेताहरूबाट पत्रकारिता प्रतिको आशा अपेक्षा होइन उल्टै उनीहरूको अर्ति पत्रकारिताले सुनिरहनु परेको छ।

कतिपय सञ्चारगृहका लगानीकर्ता नेता र सरकारका वरिपरि घुम्ने गरिरहेका छन्। अनि उनीहरू नै सम्पादकीय क्षेत्रमा अनाधिकृत प्रवेश गर्छन्। यस्तो लेख्नुपर्छ उस्तो लेख्नुपर्छ भन्न पनि चुक्दैनन। तर उनीहरूले नै कानुनले तोकेको सुविधा त परै जावस् बेलामा तलबसम्म नदिएको अवस्था छ। पत्रकारिताका सबै कुरा जान्ने सञ्चालक वा लगानीकर्ता बेलामा तलब दिन जान्दैन आफ्नै सञ्चारगृहमा कार्यरत  पत्रकार वा कर्मचारिलाई  सुविधा दिन जानिरहेको हुदैन।

पत्रकारिताको दार्शनिक पक्ष पनि छ, जसको हामी कहिल्यै चर्चा गर्दैनौँ।  राजनीतिक, आर्थिक, भौतिक लगायतका पक्षमा आमूल परिवर्तन अहिलेको खाँचो हो। यसलाई बुझ्नैपर्छ।

अर्कातिर बुद्धिजीवीबाट क्रमश: श्रमजिविको झर्दै गएको  पत्रकार आफ्नो पेशागत मर्यादा सामाजिक र राष्ट्रिय दायित्व नबुझेर अलिकति आर्जनका लागि यता र उता दौडिरहेको देखिन्छ।

यस परिवेशमा हामी पत्रकारितामा पेशागत धर्म र आचार संहिता पालनाको कुरा गरिरहेका छौँ। यसरी समग्रमा हेर्दा अहिले हाम्रो पत्रकारिता सर्वपक्षीय कुपोषणले ग्रस्त छ।

कुपोषण सबैका बिचारमा छ। कुपोषण हरेक महिना पाउने वा हरेक दोस्रो वा तेस्रो महिनामा पाउने वा पाउँदै नपाउने पारिश्रमिकमा छ। कुपोषण सञ्चारसंस्थाको आन्तरिक वा बाह्य तालिमको र तालिम स्वयंमा छ। कुपोषण पत्रकार स्वयंको यसप्रति हुनुपर्ने लगाव र पत्रकारिताको दायित्व बुझ्नमा पनि छ। कुपोषण हरेक न्युजरुमका कम्प्युटर र मेचमा छ। यसरी हेर्दा पत्रकारिता लहड, रहर, बाध्यता र अन्तिममा लगावका कारण मात्र हुँदै गएको छ।

अहिले कतिपय पत्रकार काम खोजेर हिंडिरहेका छन्। कतिपय सञ्चारगृह काम गर्ने पत्रकार नपाएर छटपटाइ रहेका छन्। यस बिचमा मेल छैन? नत काम दिने विश्वस्त भएर काम दिन सक्छ नत पत्रकार सञ्चारगृह प्रति आश्वस्त हुनसकेको छ। नत हाम्रो पत्रकारिताप्रति यसका आम उपभोक्ता विश्वस्त छन्।

 होऊन् पनि कसरी, पाँचजना पत्रकार डेस्कमा र पाँचजना पत्रकार समाचार संकलनमा राख्ने सञ्चार गृहले देशभरका समाचार प्रकाशन प्रसारण गरिरहेको हुन्छ। टाँक छिनेको सर्ट र फस्नर फुस्केको पाइण्टसँगै टाई लगाएर समाचार स्क्रिनमा पत्रकार फुस्रो अनुहार देखाइरहेको हुन्छ।

कम्तीमा तीनवटा पत्रिका पढेपछि वा दुईचारवटा अनलाईन र एक दुई वटा टेलिभिजन हेरपछि मात्र समाचार वास्तविकता थाहा पाउने र पत्याउने अवस्था छ। यो अवस्था सिर्जना हुनमा पहिलो पत्रकार स्वयं जिम्मेवार छौँ। किनभने हामी पत्रकार नगर्नु पर्ने बिषयमा संझौता गर्छौं। लोभ नगर्दा हुने कुराको पनि लोभ गर्छौ अनि त नहेपिनु पर्ने ठाउँमा पनि हेपिइरहेका हुन्छौं।

दोस्रो यसका लगानीकर्ता र तेस्रो राजनीतिक दलका नेता हुन्। पत्रकारिताभित्र देखिएका विकृति विसंगति अन्त्यका लागि तालिम, शिक्षा मात्र भनेर पनि हुँदैन तालिम र स्कुल कलेजका पाठ्यक्रम पुनरावलोकन गर्नु आवश्यक छ। तालिम, शिक्षाबाहेक मूलत यस भित्रको स्वतन्त्रता र आत्मअनुशासनको जुइनु नकसेसम्म यसमा सुधार हुन सक्दैन।

 पत्रकारिताको दार्शनिक पक्ष पनि छ, जसको हामी कहिल्यै चर्चा गर्दैनौँ।  राजनीतिक, आर्थिक, भौतिक लगायतका पक्षमा आमूल परिवर्तन अहिलेको खाँचो हो। यसलाई बुझ्नै पर्छ।

त्यसैले यो पेशागत दृष्टिले संकटपूर्ण अवस्थाको अन्त्यका गर्न  राजनीतिक दलको नेतृत्व र पेशागत संघ संगठनको नेतृत्वले व्यक्तिलाई दलीय दासताबाट मुक्त गरेर अभिव्यक्ती स्वतन्त्रताको बाटो खोल्नुपर्छ।

अन्यथा हाम्रो पत्रकारिताका कदमहरू सामन्ती युग मात्र होइन दास युगतर्फ लम्किई रहनेछन्। हामी अविश्वसनीय बनेर गाली खाइरहने छौँ। छिटो सुध्रौँ।

(संहिता असार २०७९ बाट सम्पादनसहित साभार)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.