|

धनकुटा : नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नागरिकता विधेयकमा एमालेको फरक मत रहँदा रहँदै सरकारी पक्षले पास गरेको बताएका छन्।

मंसिर ४ गते हुने निर्वाचन लक्ष्यित कार्यक्रमको लागि धनकुटा आएका ढकालले प्रेस चौतारी धनकुटाले आयोजना गरेको कार्यक्रममा बोल्दै नागरिकता विद्येयकमा परेको ४३ वटा संशोधनको प्रस्तावमा ३८ वटा एमालेका संसदले हालेको बताएका हुन्।

उनले नेपालमा बुहारी भएर आउनेलाई ७ वर्षपछि नागरिकता दिनुपर्ने एमालेको मत रहेको बताए।

फरक प्रसंगमा पूर्वमन्त्रीसमेत रहेका ढकालले सरकारले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग पास गर्न नभई उनलाई काम गर्न नदिन र अन्य न्यायाधीशलाई तर्साउन ल्याएको आरोप लगाएका छन्।

उनले सरकारले यस्तै यस्तै काममा जनतालाई अल्मल्याउने काम गरेको बताएका छन्। उनले जनताको निर्विकल्प रोजाइ एमाले भएको दाबी गर्दै अरू सबै मिलेकोमा एमालेलाई कुनै चिन्ता नभएको बताएका छन्।

एमालेसँग एक्लै लड्ने सामर्थ्य नभएका कारण अरू सबै मिलेको उनको भनाइ छ। उनले गठबन्धन तोडेर सहकार्यका लागि आए एमाले तयार रहेको बताए।

त्यसका लागि विगतका गल्ती सच्याउनुपर्ने उनको भनाइ छ। एमाले अध्यक्ष केपी ओलीले संसद विगठनदेखि गरेका सबै काम गलत नभएको तर, माओवादी, एकीकृत समाजवादीले कांग्रेसको नेतृत्व सरकार बनाउन सहयोग गर्नु गलत भएको ढकालको भनाइ छ।

सरकारले एम अधिकारी भनेर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई देखाए पनि महाप्रसाद अधिकारी एमाले नभएको ढकालले दाबी गरे। सरकारले कालो धन सेतो बनाउन प्रयोग गर्न खोज्दा नमानेका कारणले महाप्रसादलाई एमाले कार्यकर्ताको ट्याग लगाइएको उनको भनाइ छ।

यस्तै, प्रदेश १ का पूर्व-मुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यकालमा सबै पार्टी तयार नभएकाले प्रदेशको नामाकरण गर्न नसकेको बताएका छन्। एमालेको स्थायी कमिटी सदस्यसमेत रहेका राईले अहिले नामकरण गर्ने ढोका वर्तमान मुख्यमन्त्रीले बन्द गरेको बताए।

उनले नामकरणको विषयमा अन्योल रहेपनि एमालेले प्रयास जारी राखेको बताउँदै एमाले अहिले चर्चामा आएका सबै नाममा छलफल गर्न तयार रहेको बताएका छन्।

साढे ३ वर्ष प्रदेश सरकारको नेतृत्व गरेका राईले वर्तमान मुख्यमन्त्रीले नामकरणका विषयमा संविधानविपरीत अभिव्यक्ति दिएको आरोप लगाएका छन्। उनले नामाकरणको विषयमा वर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले देश विखण्डन गर्नेसम्मको अभिव्यक्ति दिएको आरोप लगाए। एमाले धनकुटाले बुधबार आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन स्थायी कमिटी सदस्य ढकाल, राईसहित स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की लगायतका नेताहरु धनकुटा आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.