|

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका ५, गेरवानीमा जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका राम बहादुर चन्द र कवि वलीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो।

उनीहरुको शव घरदेखि करिव ५ सय मिटरको दुरीमा फेला परेको प्रहरीले जनाएको छ। विहान करिब ८ बजे घाँस काट्न निस्किएका दुवैजना अबेरसम्म नफर्केपछि आफन्तले अस्थाई प्रहरी चौकी बबईमा खबर गरेका थिए।

आफन्तको खबरपछि नेपाल प्रहरी, बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बबईमा खटिएको देवदत्त गण र स्थानीयवासीको संयुक्त टोलीले दुवै जनालाई जङ्गली जनावरले आक्रमण गरी मृत्यु भएको अवस्थामा फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

मृतक रामबहादुर चन्दको पेट र कवि वलीको घाँटीको भागको मासु खाएको अवस्थामा शव फेला परेको प्रहरीको भनाई छ। घटनाको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय छिन्चु प्रहरी टोली घटनास्थलमा खटिएको छ।

उनीहरुलाई कुन जनावरले आक्रमण गरेको हो भन्ने विषय अनुसन्धानपछि मात्रै थाहा हुने प्रहरीको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.