|

काठमाडौं : डेंगु ज्वरो र कोरोना संक्रमण बढिरहेको बेला हाल स्क्रब टाइफसका बिरामी पनि देखिन थालेका छन्। वर्षात्‌को समयमा देखिने स्क्रब टाइफसका बिरामी हाल देखिन थालेका हुन्।

टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार हाल अस्पतालमा स्क्रब टाइफसका बिरामीहरु उपचारमा आउन थालेको बताए।

‘हुन त अहिले उपचारमा दैनिक आउने डेंगुका बिरामी बढ्दै गएको अवस्था छ यसका साथै स्क्रब टाइफसका बिरामी पनि आउन थालेका छन’, उनले भने।

डेंगुका बिरामी जस्तै दैनिक धेरै संख्यामा उपचारमा नआउने भए पनि हाल स्क्रब टाइफसका बिरामी आउन थालेको उनले बताए। ‘कम आएको त म भन्दिन तर डेंगु जस्तै एकै दिन धेरै संख्यामा नभएर फाट्टफुट्ट स्क्रब टाइफसका बिरामी पनि दिनमा एक/दुई जना उपचारमा आउन थालेका छन्’, डा पुनले भने।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०१९ स्क्रब टाइफसका कारण तीन जनाको मृत्यु हुन पुगेको थियो। २०१८ मा चार जनाको मृत्यु भएको थियो।​

के हो स्क्रब टाइफस ?

सङ्क्रमित सूक्ष्म कीरा माइटको टोकाइबाट एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले लाग्ने रोगलाई स्क्रब टाइफस भन्ने गरिन्छ।

बारी, खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा सो प्रजातिका जीवाणु पाइन्छ । सो रोग उत्पन्न गर्ने ब्याक्टेरिया सङ्क्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्ने डा. पुनले बताए। यो रोग मानिसबाट मानिसमा भने सर्दैन।

डा. पुनका अनुसार किराले टोकिसकेपछि घाँटी वरिपरिका ग्रन्थीहरू सुन्निएर गिर्खा आउँछन्। यस्ता लक्षण देखा परेको पाँचौँ दिनदेखि सातौँ दिनमा घाँटी वरिपरि रातो बिमिरा देखिने गर्छ, जुन क्रमशः पेट, हात, खुट्टा तथा अनुहारमा फैलन्छ।

समयमा नै यसको पहिचान गरेर उपचार गरिएन भने विशेषगरी सास फेर्न गाह्रो हुने, मिर्गौलाले काम गर्न छाड्ने र अन्त्यमा दिमागमा समेत असर गरेर बिरामीको मृत्यु हुन सक्छ।

यसको संक्रमण देखिए चिकित्सकको सल्लाहअनुसार पूरा मात्रा औषधि सेवन गरी निको हुनेसमेत उनले बताए।

कसरी बच्न सकिन्छ?

मुसाको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो। खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ। खुला चौरमा सुत्नु हुँदैन । रोगको पहिचान बिरामीमा देखिएको लक्षण, सूक्ष्म कीराले टोकेको चिनोबाट हुने गर्दछ।

यसैगरी रगत परीक्षण, फोक्सोको परीक्षणबाट हुने गर्दछ। रोगको ‘एन्टिबडी’ पत्ता लगाउन एलाइजा टेस्ट गरेपछि यसको पहिचान हुने उनले बताए।

खेतबारीमा काम गर्दा, वनजंगल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा शरीर पूरा ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म जुत्ता लगाउनु पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.