धनगढी : मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै छ। चुनाव नजिकिएसँगै सुदूरपश्चिममा पनि उम्मेदवारको चर्चा शुरु हुन थालेको छ। पाँचवटा संघीय निर्वाचन क्षेत्र रहेको कैलालीमा उम्मेदवारीको विषयमा बहस शुरु भएको हो।
वरिष्ठ नेताको गृहक्षेत्र मानिएको कैलाली–४ मा विभिन्न नेताले आफ्नो दाबी प्रस्तुत गरेका छन्। विशेषगरी सत्ता गठबन्धनमा रहेका दलहरूले उम्मेदवार छनोटका लागि गृहकार्य शुरु गरेका हुन्।
नेपाली काँग्रेस
सरकार र गठबन्धनको नेतृत्व गरिरहेको नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ४ मा दुईजना नेताको चर्चा छ। २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा पराजित काँग्रेस नेता सुनिल भण्डारीले चुनाव लड्ने चर्चा छ। काँग्रेसकै डा. लक्ष्मीराज पाठक पनि चुनावी मैदानमा उत्रिने तयारीमा छन्। काँग्रेस कैलालीका सचिव केशव मिश्रले भने अहिल्यै उम्मेदवार टुङ्गो नलागेको स्पष्ट पार्दै भने, ‘अहिले नै टुङ्गो लागेको छैन।’ यो क्षेत्रमा अहिले काँग्रेसको पकड बलियो रहेको नेता तथा कार्यकर्ताको दाबी छ।
एकीकृत समाजवादी
सत्ता गठबन्धनमै रहेको अर्को दल नेकपा (एकीकृत समाजवादी)ले पनि कैलाली क्षेत्र नम्बर ४ नछाड्ने अडान राखेको छ। उक्त पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका दीर्घबहादुर सोडारीको चर्चा छ।
समाजवादीका प्रदेश प्रभावशाली नेताका मानिएका सोडारीले संघीय चुनाव लड्ने आन्तरिक तयारी थालेको बुझिएको छ। उनका लागि पार्टीभित्रै लबिङ शुरु भएको छ। आधिकारिक रूपमा निर्णय नभए पनि पार्टी पंक्ति सोही तयारीमा जुटेको एकीकृत समाजवादी कैलालीका वरिष्ठ उपाध्यक्ष विमल जोशीले बताए।
‘दीर्घ सोडारी पार्टीका प्रभावशाली नेता हुन्। अहिले मन्त्री पनि छन्। उनको दाबी हुन्छ नै’, उनले भने। यहाँ एकीकृत समाजवादी कांग्रेसलाई मनाएर आफू टिकट लिने दाउमा छ। गठबन्धन नभएको अवस्थामा भने एकीकृत समाजवादी एक्लैको पकड कमजोर देखिन्छ।
माओवादी केन्द्र
कैलाली क्षेत्र नम्बर ४ मा नै चुनाव लड्न माओवादी केन्द्र पनि कस्सिएको छ। पार्टीका प्रदेश अध्यक्षसमेत रहेका हरि चौधरी ‘उत्सव’ले उक्त क्षेत्रमा चुनाव लड्ने गरी माओवादी केन्द्रले तयारी गरेको हो। सत्ता गठबन्धले गरेको निर्णय स्वीकार गर्ने बताएको माओवादीले आफ्नो दाबी स्वभाविक रहने बताउँदै आएको छ।
एकै निर्वाचन क्षेत्रका लागि गठबन्धनकै ४ जना नेताको दाबी देखिएपछि तालमेल मिलाउन निकै सकस हुने देखिएको छ। माओवादीका सुदूरपश्चिम अध्यक्ष चौधरीले प्रतिनिधि र प्रदेश सभामध्ये एक आफूहरूले पाउने बताए। ‘प्रतिनिधिसभामा जाने मेरो पनि तयारी छ। गठबन्धनले के निर्णय गर्छ हेरौं’, उनले भने। यहाँ माओवादीका तत्कालीन प्रभावशाली नेता लेखराज भट्ट एमालेमा गएपछि माओवादीको जनाधार हल्लिएको बताइन्छ।
एमालेबाट लेखराज
क्षेत्र नम्बर ४ नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको गृहनगरमा पर्छ। भट्टले २०७४ को निर्वाचन पनि सोही क्षेत्रबाट जितेका थिए। त्यतिवेला माओवादी केन्द्रमा रहेका भट्टले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा काँग्रेसका सुनिल भण्डारीलाई हराएका थिए।
अहिले पार्टी फेरेर सांसद पद नै गुमाएपछि एमालेका सचिव बनेका उनी कैलाली–४ बाटै चुनाव लड्ने चर्चा छ। मंसिरमा हुने चुनावमा गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन छ।
एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा जोशीले लेखराज भट्टको चर्चा हुनु स्वाभाविक भएको बताए। ‘०७४ निर्वाचन भट्टले जितेका कारण पनि चर्चा हुनु ठिकै हो’, उनले भने, ‘पार्टी उम्मेदवारीको सवालमा छलफल गर्न जुटेको छ।’
कैलालीका गोदावरी, गौरीगंगा र चुरे गाउँपालिका क्षेत्र नम्बर ४ मा पर्छन्। हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई आधार मान्दा उक्त क्षेत्रमा गठबन्धनको एउटै उम्मेदवार भए गठबन्धन नै बलियो हुने देखिएको छ।
स्थानीय निर्वाचनमा गोदावरीमा काँग्रेस, गौरीगंगामा माओवादी र चुरे गाउँपालिकाको अध्यक्षमा एमालेले जितेको छ। वडाबाट प्राप्त भएको मत हेर्ने हो भने पनि एमालेभन्दा गठबन्धन ११ हजारले अगाडि छ। तर आमनिर्वाचनमा क–कसको प्रतिस्पर्धा हुन्छ‚ त्यो भने हेर्न बाँकी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।