|

काठमाडौं : यो वर्षका लागि बहुप्रतीक्षित मानिएको नेपाली फिल्म ‘प्रेम गीत ३’ ले आगामी शुक्रबारदेखि विश्वभर एकसाथ प्रदर्शन थाल्दै छ। नेपाली र हिन्दी गरी दुई भाषामा आउन लागेको फिल्मलाई लिएर प्रदर्शनको मुखमा विवाद छेडिएको छ। फिल्मको हिन्दी डब नेपालमा प्रदर्शन गर्दा त्यसलाई स्वदेशी उत्पादनको मान्यता दिने या विदेशी फिल्मको भन्नेमा विवाद छेडिएको हो। 

‘प्रेम गीत ३’ को हिन्दी डबलाई विदेशी फिल्म सरह व्यवहार गर्ने विकास बोर्डको निर्णयप्रति ‘प्रेम गीत ३’ को निर्माण टोलीले आपत्ति जनाएको छ। शनिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्माण टोलीले आपत्ति जनाएको हो। उक्त कार्यक्रममा फिल्मका अभिनेता प्रदीप खड्का निकै आक्रोशित देखिए। 

केही दिनअघि विकास बोर्डले ‘प्रेम गीत ३’ लाई सम्मान कार्यक्रम राखेको थियो। फिल्म प्रदर्शन नहुँदै सम्मान गर्न लागेको देखेर आफूलाई त्यतिवेला अचम्म लागेकोमा अहिले आएर स्पष्ट भएको खड्काले बताएका छन्। उनले भनेका छन्, ‘चेसमा आफ्नो चाल चाल्नका लागि म एउटा प्यादा दिन्छु। त्यसपछि आफ्नो स्ट्राटिजी चाल्छु भने जसरी पछि चेकमेट दिने गरी पहिले सम्मान गरिएको रहेछ।’

त्यस्तै फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले पनि बोर्डको निर्णय र निर्माता संघका अध्यक्षको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले भनेका छन्, ‘हामी दुई वर्षदेखि विश्वभरी नेपाली फिल्म चल्नुपर्छ भनेर लागिरहेका छौँ। विश्वमा जाँदा सन्तोष सेनको ‘प्रेम गीत ३’ भन्दैन, नेपालको ‘प्रेम गीत ३’ भन्छ। धेरै माथि गए, यति माथि जान नदिऊँ भनेर हामीलाई अंकुश लगाउने कार्यक्रम भइराखेको छ।’ सेनले बोर्डको संस्थागत जिम्मेवारी बिर्सेर आफू निकटस्थ व्यक्तिलाई समेटी यस्तो निर्णय गरेको आरोप पनि लगाएका थिए। 

‘अर्को भाषामा पनि फिल्म चलाउने भए यो यो पत्र चाहिन्छ भनेर मलाई खबर गर्नुपर्ने थियो तर त्यसो भएन। एउटा निर्माता केही हुँदा निर्माता संघबाट जानुपर्ने हो।यहाँ त उल्टै संघले नै देशद्रोही भन्दै नोटिस निकालिरा’छ। १५ प्रतिशत कर लगाउनुपर्छ भनिरहेको छ।’ आफ्नै उद्योगमा हेपाइ खेप्नुपरेको जिकिर गर्दै उनले थपे, ‘हामी एकातिर बाँकी उद्योग एकातिर छ जस्तो लाग्छ। इन्डियामा आसुसेन फिल्म काठमाडौंले बनाएको, इण्डियामा आएर डब भएको भनेर सेन्सर पास भएको छ। हाम्रोमा चाहिँ यो नेपाली फिल्म होइन भनेको छ। यो विदेशी फिल्म हो भनेर १५ प्रतिशत थप कर मागेको छ।’

अभिनेता खड्काले बोर्डका अध्यक्ष भुवन केसीलाई व्यक्तिगत रूपमा पनि प्रहार गरेका छन्। बोर्डका पछिल्ला निर्णय देख्दा केसीले आफैँ राजीनामा दिए इज्जत बढ्ने देखिएको उनले जनाएका छन्। आक्रोशित हुँदै भनेका छन्, ‘गलत नीति नियम लगाउने, स्वविवेक प्रयोग नगर्ने, अरूबाट निर्देशित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक छैन भनेको हो। राजालाई त हटाए भनेपछि विकास बोर्डको पद आजीवन हो र? 

भारतका विभिन्न शहरमा बलिउड स्टारहरूलाई बोलाएर प्रिमियर गर्ने तयारीमा रहेका वेला यता आउनुपरेकोमा दुःख व्यक्त गर्दै उनले भनेका छन्, ‘प्रमाेशनको पिक आवरमा आएर पोलिटिक्समा लाग्नुपरेको छ। यसले गर्दा घाटा त हामीलाई नै हुने हो।’ साथै फिल्ममा ५० प्रतिशत कर लगाए पनि  ११ बजेभित्र सबै फिल्म हल बन्द भइसक्नुपर्ने समयसीमा चाहिँ हटाउन आग्रह पनि गरेका छन्। 

नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मको प्रचार पनि दुई टोली बनाएर गरिएको थियो। निर्देशक सेन तथा मुख्य अभिनेता अभिनेत्री खड्का र क्रिस्टिना गुरुङ प्रचार प्रसारको क्रममा गत हप्ता भारत गएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.