|
फाइल तस्वीर

काठमाडौं : २० औँ अनशन धनगढीमा थालेका प्राडा गोविन्द केसीको स्वास्थ्यमा समस्या आउन थालेकाे छ। ८ दिनदेखि अनशनरत डा. केसीमा अल्सरलगायत अन्य समस्यासमेत देखिन थालेको हाे।

डा. केसी र सरकारी प्रतिनिधिबीच आइतबार भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वार्ता जारी रहेको छ।

हाल सेती प्रादेशिक अस्पतालमा रहेका केसीको मुटुको धडकनमा गडबडी‚ दिसा कालो हुने, धेरै कमजोरी, टाउको दुख्ने, रिङ्गटा लाग्ने, थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाति दुख्ने, शरीरका मांशपेशी दुख्ने, रक्तचाप घट्दै जाने, श्वासप्रश्वास दर बढ्दै जाने, शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने लगायतका समस्या देखिएको अस्पतालले जनाएको छ। 

डा. केसीले बोल्न नसक्ने कुराहरू बिर्सने जस्ता समस्या पनि देखिएको सेती अस्पतालमा रहेका केसीका सहयोगी डा अमृत जैसीले जनाए। ‘आज ८ दिनसम्म आइपुग्दा उहाँलाई अल्सर पनि देखिएको छ भने बोल्न नसक्ने, कुराहरू बिर्सने जस्ता समस्या पनि देखिन थालेका छन्‚' डा जैसीले भने। 

सेती अस्पतालले हाल केसीको स्वास्थ्यमा दिनानुदिन जटिलता थपिँदै जाँदा जोखिम बढ्दै जाने हुनाले थप उपचारका लागि धेरै जना विशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा रेफरका लागि चिकित्सकहरूले सल्लाह दिएको जनाएको छ। 

डा. केसी र सरकारी प्रतिनिधिबीच आइतबार भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि आज पुन: वार्ता हुने केसीका तर्फबाट वार्तामा रहेका प्रितम सुवेदीले बताए। अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वार्ता जारी रहेको छ।

केसीको तर्फबाट वार्ता गर्न डा जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा लिजन महर्जन र प्रितम सुवेदी सदस्य रहेको टोली छ भने सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव रोशन पोखरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य रहेको वार्ता टोली छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.