|

काठमाडौं : पछिल्लो समय वैदेशिक रोजगारी नेपाली युवाहरुको पहिलो रोजाइमा पर्ने गरेको छ। वैदेशिक रोजगारीले खाना, नाना र छानाको जोहो गर्ने सपना बोकेर आकाशमा उडेका कतिपय नेपालीको जीवन फेरिएको छ भने कतिपयको जीवन नै उजाडिएको छ।

बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बाक्लो चहलपहल थियो। चहलपहलका बीचमा सर्लाही घर भएका देवराज पौडेल भेटिए। विमानस्थलको आगमन कक्ष अगाडि कसैको पर्खाइमा रहे झैँ देखिन्थ्याे। ह्वीलचियरको सहायतामा रहेका पौडेल विमानस्थलका सुरक्षाकर्मीका साथमा थिए।

बुधबार बिहान हिमालयन एयरलायन्सबाट उनलाई काठमाडौं ल्याइएको थियो। परिवारको आर्थिक अवस्था सुधार्ने खाना, नाना र छानाको जोहो गर्ने उदेश्यले २०७७ माघमा रोजगारीको खोजीमा कतार उडेका थिए।

ड्राइभिङ गर्नका लागि साउदी अरब पुगेका पौडेलले नसोचेको क्षति व्यहोर्नु पर्याे। पैसा कमाएर परिवारको आर्थिक अवस्था उकास्न उडेका पौडेल आधा शरीर नचल्ने भएर फर्किएका छन्।

परिवारको आर्थिक अवस्था कमजोर थियो। परिवार पाल्नकै लागि आर्थिक उपार्जनको कुनै बाटो थिएन। गर्दै आएको सानो रोजगारी पनि विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले खोस्यो। स्वदेशमा बस्ने सबै बाटो बन्द भएसँगै ऋण गरेर उनी साउदी उडेका थिए।

उनले सुनाए, ‘सम्पत्ति कमाउने ठूलो सपना बोकेर विदेश उडेको मान्छे अहिले ह्वीलचियरको सहारामा बस्नुपर्ने भएको छ।’ परिवारको अवस्था उकास्छु भन्दाभन्दै आफैँ अशक्त भएँ। हात भन्दा तलको भाग पुरै चल्दैन। उनले भने, ‘हात भन्दा तलको भाग छाम्दा थाहा हुन्छ तर चिमोट्दा दुख्ने केही हुँदैन।’

साउदीमा ड्राइभिङ गर्नका लागि गएका थिए। काम राम्रो नै चल्दै थियो। एक्कासी गाडी दुर्घटनामा परी अपांग भए। कम्पनीले करिब ८ महिना औषधि उपचार गर्याे। कति खर्च भयो, कसरी गर्‍यो आफूलाई जानकारी नभएको पौडेलले सुनाए।

राजदूतावास र कम्पनीको सहायतामा स्वदेश फर्कन पाएकोमा खुशी रहेको पौडेलले बताए। उनको परिवारमा एक छोरी र श्रीमती रहेका छन्। घर त आएँ अब विदेश जाँदा लिएको ऋणले सताउन थालेको छ। उनले भने, ‘धन कमाउने सपना बोकेर ऋण गरेर विदेशिएको थिएँ। आधा शरीर लिएर (अपांग भएर) फर्किएको छु। परिवारमा खान नै धौ धौ छ। विदेश गएको ऋण कसरी तिर्ने?’

रोजगारीको खोजीमा घर, परिवार, देश छोडेर विदेशिएका नेपाली युवाहरुको अवस्था उस्तै छ। आकाशमा उडेका नेपाली बाकसमा फर्कनेदेखि अंगभंग हुने सम्मको अवस्था छ। उनी त एक प्रतिनिधि पात्र मात्र हुन्। रोजगारीको खोजीमा विदेशिने नेपाली मृत्यु तथा अपांगता हुनेको संख्या बढ्दो छ। चालु आर्थिक वर्षको दुई महिनामा २४ जना अपांगता भएर नेपाल फर्किएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ।

बोर्डको तथ्यांक अनुसार दुई महिनामा २४ जना बिरामीलाई आर्थिक सहायता प्रदान गरेको छ। जसमा ७ करोड ६३ लाख खर्च भएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले जानकारी दिए।

गत आर्थिक वर्षमा २ सय ४५ जना बिरामी तथा अंगभंग भएका श्रमिकलाई स्वास्थ्य उपचार खर्चबापत कुल नौ करोड १७ लाख ७५ हजार प्रदान गरिएको बोर्डले जनाएको छ।

वैदेशिक रोजगारमा रहेका नौ जना श्रमिकलाई स्वास्थ्य उपचारका लागि चार लाख ३० हजार प्रदान गरिएको बोर्डको तथ्यांक छ।

त्यस्तै चालु आर्थिक वर्षमा रोजगारीको क्रममा मृत्यु भएका २ सय ४१ जनाको परिवारलाई आर्थिक सहायता प्रदान गरिएको बोर्डले जनाएको छ।

बोर्डले गत आर्थिक वर्षदेखि रोजगारीको क्रममा मृत्यु तथा अंगभंग भएकालाई आर्थिक सहायता अनलाइन प्रणालीबाट भुक्तानी गर्दै आएको छ। स्थानीय तहसँगको समन्वयमा अनलाइन प्रणालीबाट सीधै पीडित वा मृतक कामदारको नजिकको हकदारको बैंक खातामा भुक्तानी गर्दै आएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.