|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय व्यावसायिक केरा खेतीको लहर चलेको छ।

म्याग्दीको बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण र मालिका गाउँपालिकामा किसानले अन्नबाली छोडेर व्यावसायिक रुपमा केरा खेती गरेका छन्। यहाँका कृषकले केरा बिक्री गरेर वार्षिक १२ देखि १५ लाख रूपैयाँसम्म प्रतिकिसान आम्दानी गर्दै आएका छन्।

व्यावसायिक तवरबाट गरिएको केरा खेतीबाट कृषकले अन्नबालीको तुलनमा ५ गुणा बढी आम्दानी गर्दै आएका छन्। केरा बेचेर भएको आम्दानीबाट पोखरा र बेनीमा घरघडेरी, गाउँमै आरसिसी घर ठडिएका छन् भने छोराछोरी काठमाडौं,पोखरा जस्ता शहरमा बसेर शिक्षा आर्जन गरिरहेका छन्।

बेनी नगरपालिका-२ खबराका कृषक शोभित शर्मा केरा खेती आफ्नो लागि आम्दानीको गतिलो माध्यम बनेको बताउँछन्। उनले केरा बिक्री गरेर वार्षिक ८ देखि १० लाख रूपैयाँसम्म कमाइ हुँदै आएको बताए।

करिब १४ रोपनी जग्गामा उनले केरा खेती गरेका छन्। विसं २०६५ सालदेखि व्यावसायिक कृषिमा होमिएका शर्माले १३ वर्षमा तरकारी र फलफूलबाट नै युरोप अमेरिकामा हुने कमाइ गाउँमा नै गर्दै आएका छन्।

केरा बेचेर भएको कमाइले उनले खबरामा भव्य आरसिसी घर बनाएका छन् भने छोराछोरीलाई इन्जिनियरिङ र नर्सिङ पढाइरहेका छन्।

त्यसैगरी रघुगंगा गाउँपालिका–२ रिसिन चौतारीका युवा रमेशबहादुर कटुवालले १२ रोपनी जग्गामा केरा खेती गरेका छन्। आरम्भ कृषि तथा पशु फार्मबाट शुरु भएको केरा खेतीलाई मुख्य पेशासँगै केराका एक हजार बिरुवा लगाएको कटुवालले बताए।

उनले फर्ममा व्यावसायिक रुपमा बाइस नङ्ग्रे, मालढुंगे, ध्रुसे, चिनीलगायतका प्रजातिका केरा खेती गरेका हुन्। उत्पादन गरेको केरा बिक्रीका लागि सदरमुकाम बेनी, पर्यटकीयस्थल घोरेपानी, मल्लाजलगायतको क्षेत्रबाट व्यापारी आउने गरेकाले बिक्रिका लागि कुनै समस्या नरहेको कृषक कटुवालले बताए।

४ वर्षअघि थालेको केरा खेतीबाट उनले वर्षमा ३ देखि ४ लाख रूपैयाँ आम्दानी गर्दै आएका छन्। ‘अन्न बालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि छिटो हुने भएकाले अनुकूल हावापानी र सडकसँगै बजार सुविधाले ४ वर्षदेखि केरा खेती विस्तारमा लागेको छु‚’ कटुवालले भने।

शर्मा र कटुवाल जस्तै यहाँका १० वटा गाउँका २ सयभन्दा बढी कृषकले अन्य बालीभन्दा केरा खेतीबाट ३ गुणा बढी आम्दानी गर्दै आएका छन्।

बेनी नगरपालिका-२ खबराको नाम नै परिवर्तन गरेर ‘केरा गाउँ’ भन्न थालिएको छ भने बगरफाँटमा पनि लहलह धान फल्ने खेतका गह्रामा रहरलाग्दो तरिकाले केरा खेती गरिएको स्थानीय कृषक दुर्गाबहादुर थापाले बताए।

खबरामा केरा बिक्री गरेर मात्रै वर्षमा डेढ करोड रूपैयाँभन्दा बढी आम्दानी हुने त्यहाँका अगुवा कृषक चन्द्रबहादुर कार्कीको भनाइ रहेको छ।

खबरा, बगरफाँट र रिसिन चौतारीका प्रत्येक कृषकले केरा खेती गरेका छन्। यहाँका कृषकले १ सयदेखि ३ हजारसम्म केराका बिरुवा लगाएका छन्।

 वडाले खबरा, बगरफाँट र रिसिन चौतारीलाई केराको पकेट क्षेत्र घोषणा गरेको छ।

कृषकको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि रिसिन चौतारीलाई केरा खेतीको पकेट क्षेत्रको रुपमा विकास गरिएको रघुगंगा गाउँपालिका–२ भगवतिका पूर्ववडाध्यक्ष रिम कटुवालले बताए।

‘सबै गाउँमा पछिल्लो सडक सञ्जाल जोडिएको छ‚’ उनले भने‚ ‘मेहनत गरेर उत्पादन गरेको केरा बिक्रीको लागि बजारको समस्या छैन।’

खबरा र बगरफाँटलाई पनि केरा खेतीको पकेट क्षेत्र घोषणा गरिएको बेनी नगरपालिका-२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.