|
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले संघीयता कार्यान्वयनपछि मुलुकमा नयाँनयाँ आर्थिक केन्द्र बन्ने प्रक्रियाले तीव्रता लिएको बताएका छन्। 

शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयताले काठमाडौं केन्द्रित आर्थिक गतिविधि र पूर्वाधार विकासलाई प्रदेश र स्थानीय पालिकासम्म विस्तार गरेको दाबी गरेका हुन्। 

संघीयताका कारण अन्तरप्रदेश बीचमा प्रतिस्पर्धाको वातावरण बनेको समेत बताए। संघीयताको पहिलो पाँच वर्षको अभ्यास विकास पूर्वाधारलाई क्षेत्रीय स्तरमा पुर्‍याउन प्रभावकारी देखिएको बताए। 

यद्यपि, केन्द्रको विकृति प्रदेश र स्थानीय तहमा समेत देखिएकामा भने उनले चिन्ता जनाए। भारतमा गुजरातका मुख्यमन्त्रीबाट नरेन्द्र मोदी एकैपटक प्रधानमन्त्री बनेको दृष्टान्त प्रस्तुत गर्दै संघीयताले नयाँ नेतृत्व दिन सक्ने विश्वास व्यक्त गरे। 

‘माथिको विकृति तल लाने होइन। प्रदेशले आफ्नो सामर्थ्य चिन्नुपर्छ’, उनले भने, ‘संघीयताले राजनीतिक, आर्थिक प्रतिस्पर्धाको वातावरण बनेको छ। ७ सय ५३ पालिका आर्थिक केन्द्र पनि हो। मुख्यमन्त्री प्रधानमन्त्रीको उम्मेदवार हो।’ 

उनले संघको राजनीतिमा रहेका नेता प्रदेशमा र प्रदेशका नेता स्थानीय तहमा गएर निर्वाचन लड्ने विकृति भने रोकिनुपर्ने विचार व्यक्त गरे। संघीयताकै कारण कर्णालीको आर्थिक वृद्धिदर माथि गएको तथ्याङ्क उनले प्रस्तुत गरे। संघीयता अघि साढे दुई प्रतिशत हाराहारीमा रहेको कर्णाली प्रदेशको आर्थिक विकास साढे ५ देखि ६ प्रतिशत पुगेको उल्लेख गरे।

प्रारम्भिक चरणमा पूर्व क्षेत्रको विराटनगर औद्योगीकरणको हब रहेकामा पछिल्लो समय त्यो वीरगञ्ज हुँदै भैरहवा–बुटवल पुगेको र भविष्यमा नेपालगञ्ज हुँदै धनगढीसम्म विस्तार हुने सम्भावना देखिएको बताए। 

उनले भने, ‘विराटनगरबाट सुरू भएको औद्योगीकरणको प्रक्रिया सरेर भैरहवा– बुटवल पुगेको छ। अब औद्योगीकरणको प्रक्रिया नेपालगञ्ज हुँदै धनगढीतर्फ सर्न सक्छ। संघीयताका कारण प्रतिस्पर्धाको वातावरण बनेको छ।’ 

नेपालको सीमावर्ती क्षेत्र भारतीय बजारका लागि निकै उपयुक्त रहेको चर्चा गरे। भारततिरको विशाल बजार शिक्षा, स्वास्थ्य, पर्यटन र जलविद्युतको बजार भएकाले त्यसबाट पर्याप्त फाइदा लिनुपर्ने उनको भनाइ छ।

पछिल्लो समय झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म धरै तारे होटल बन्नुले सीमावर्ती क्षेत्र नयाँ आर्थिक हब बन्ने सम्भावना देखिएको उल्लेख गरे। भारतको बिहार र उत्तरप्रदेशको धेरै बिरामी अहिले पनि नेपालका अस्पतालमा उपचार गर्न आउने गरेको भन्दै उनले भारतीय बजारलाई हेरेर स्वास्थ्यका संरचना बनाउनुपर्ने बताए। 

यस्तै उनले भारतीय विद्यार्थीहरू सीमावर्ती नेपालको शिक्षालयहरूमा उच्च शिक्षाका लागि आकर्षित गर्न सकिने सम्भावना औंल्याए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.