|

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता 
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

भनिन्छ असहजता, दु:ख, कष्ट र असुरहरूको पीडाबाट मुक्त गरी देवता र मानव जातिलाई कल्याण गर्ने शक्ति हुन् दुर्गा माता। अर्थात् दुर्गा शक्ति त्यो हो जसले अज्ञानता र अन्धकारमा गुज्रिरहेको जीवनलाई सत्यता र प्रेमको मार्गमा लग्न मद्दत गर्छिन्। अज्ञानता तब नाश हुन्छ जब आफूमा भएको ज्ञानरूपी सत्य प्रकट हुन्छ अनि अन्धकार तब नाश हुन्छ जब सत्कर्मको दियो जीवनमा बालेर प्रकाश जगाउन सकिन्छ। जीवनमा भौतिक सफलताले सहजता प्रदान गर्छ भने प्रज्ञाको विकासले आत्मसम्मान र आत्मविकासमा निखार ल्याउँछ।

ज्ञान त्यो हो जसले भित्रको अन्धकार र अज्ञानताबाट मुक्ति दिलाउँछ। जसरी संसारको युद्ध जित्न हतियार र अस्त्र आवश्यक पर्छ त्यसैगरी व्यक्तिको स्वभावमा जिवित काम, क्रोध, लोभ, मोह, ईर्ष्या र द्वेषलाई परित्याग गरी सत्य, शान्ति, प्रेम र आनन्द स्थापित गर्न केही अस्त्रको प्रयोग जरूरी हुन्छ। हामीले देखेका छौँ, दुर्गा माताले अस्त्र हातमा लिएर आफ्नो क्षमता र साहसलाई प्रस्तुत गरेकी हुन्छिन्। तर ती अस्त्र कुनै व्यक्ति विशेषलाई प्रयोग गरेर कष्ट पुर्‍याउने अस्त्र नभई प्रतीकको रूपमा मानिसका अहंकार र वासनामाथि प्रयोग गर्ने अस्त्र हुन्। 

दुर्गा माताको शंख चक्रले प्रणव स्वरूप अस्तित्वमा रहेको सर्वव्यापी ध्वनि ओमकारलाई जनाउँछ भने धनुषबाणले आन्तरिक रूपमा सञ्चित शक्तिलाई जनाउँछ। एउटै हातका धुनुष बाणलाई समातेर दुर्गा भवानीले चलायमान र स्थिर दुवै प्रकारको शक्तिमाथि आफ्नो नियन्त्रण रहनसक्ने प्रतिकात्मक संकेत दिएकी छिन्। संसार परिवर्तित अर्थात् चलायमान छ र आन्तरिक आत्मबोध सधैँ स्थिर केवल छ, कुनै हलचल छैन।

हामीले देखेका छौँ, दुर्गा माताले अस्त्र हातमा लिएर आफ्नो क्षमता र साहसलाई प्रस्तुत गरेकी हुन्छिन्। तर ती अस्त्र कुनै व्यक्ति विशेषलाई प्रयोग गरेर कष्ट पुर्‍याउने अस्त्र नभई प्रतीकको रूपमा मानिसका अहंकार र वासनामाथि प्रयोग गर्ने अस्त्र हुन्। 

बाहिरको कम्पमा सधैँ भयरहित र चिन्तित रहने कि आन्तरिक शक्तिलाई पहिचान गरी ‘म आन्तरिक शक्ति हुँ’ भन्ने बोध गर्ने प्रत्येक व्यक्तिको आफ्नो रोजाइ हुन्छ। दुर्गा माताको हातको औँलामा घुमिरहेको सुदर्शन चक्रले संसारको सृष्टि चलिरहने छ, विकासशील छ र शुरू भएपछि अन्त्य त्यसमै हुनेछ जहाँ सत्यको प्रामाणिकता मिल्दछ। देवीको हातमा रहेको तरवारले जस्तासुकै रिपुहरूलाई परास्त गर्न सकिने, मनमा रहेका विकारलाई नाश गर्न सकिने र  अन्धकार र असमानताको अज्ञानतालाई चिर्न सक्नुपर्ने प्रेरणा दिन्छ। अर्को हातमा रहेको त्रिशुलले यो ब्रह्माण्डमा भएको सत्त्व, रज र तमोगुणको व्याख्या गर्छ। 

मानिसको आचरण, खानपान, व्यवहार र जीवनशैली सत्त्व, रज र तमोगुणको आधारमा हुने भएकोले सही रोजाईतर्फ स्मरण गराएको छ। अभय मुद्रामा रहेकी दुर्गा भवानीको तस्विरबाट थाहा हुन्छ– अध्यात्म, प्रेम, शान्ति र सत्य भयमा हुँदैन। जसमा प्रामाणिकता छ ऊ सत्यसँग डराउँदैन। असत्यमा लाग्नेहरू मात्र भय र त्रासमा बाँचिरहेका हुन्छन् भन्ने मर्म बुझाउन खोजिएको हो। जसमा शुद्धता, पवित्रता, आत्मस्मरण र स्व–सत्ताको बोध रहन्छ उसका बाहिरी क्रम पनि सत्य र शालीन नै हुन्छन् अनि भित्रबाट प्रेमिल र आनन्दित पनि। यो गुण महिलामा मात्र होइन पुरूषमा पनि हुनुपर्छ। पुरूषहरूले दुर्गा भवानीको आराधना गर्नुको अर्थ पनि सहनशीलता, धीरता र निर्भय आफूमा प्राप्त होस् भन्ने भाव नै हो। 

खानपान र दशैँ

अनुसन्धानले बताएको छ विश्वमै खान नपाएर भन्दा बढी खान नजानेर मर्नेको संख्या बढी छ। जीवनमा पर्व, खुसी, प्रेम र शान्ति जति आवश्यक छ त्यति नै स्वास्थ्य पनि आवश्यक छ। ‘स्व’ मा स्थित हुनु स्वास्थ्य हो। स्व अर्थात् आफू, आफ्नो शरीरको वजन, रुचि, योगाभ्यास सबै कुरालाई ख्याल गरेर खान जाने मात्र स्वास्थ्य ठिक रहन्छ। दशैँ भन्नासाथ सामान्य भन्दा बढी खानपान, भोजभतेर, मासु र चिल्ला, मिठा परिकारहरूसहित पारिवारिक जमघट भन्ने बुझिन्छ।

वर्षदिनको सबैभन्दा महत्त्वपूर्ण पर्व दशैँखानपानमा खर्च गर्नै पर् यो भन्ने मान्यता एकातिर छ त अर्कोतिर अरूको भन्दा कम त हुनुभएन भन्ने नजानिदो प्रतिस्पर्धाले पनि सामान्य भन्दा धेरै परिकार पकाउने र खाने प्रचलन छ। त्यसमाथि दशैँको छुट्टी घरमै बस्नु, हिँडडुल र योगाभ्यास गर्न अल्छी मान्नु, सामान्यभन्दा धेरै पटक र धेरै चिज खानुजस्ता व्यवहारले हाम्रो पाचनशक्तिले कसरी काम गर्ला ? शरीर उही, स्वभाव उही, एकैपटक धेरै खानाको चाप शरीरको पाचनशक्तिका लागि अवश्य सही हुँदैन।  हाम्रो खाना सही, सन्तुलित र स्वस्थ्यकर भए मात्र निरोगी र प्रसन्न रहन सकिन्छ। असन्तुलित खानपान शैली नै हाम्रो रोगको कारण, अल्छी र मोटोपनको कारण हुन सक्छ। 

सुन्दा अप्रिय लाग्छ र सल्लाह दिन पनि अप्रिय, तर धेरैलाई खानपान शैलीको ज्ञान छैन, जसका कारण शारीरिक, मानसिक, सामाजिक  र आर्थिक तनाव नै भोग्नु परेको अवस्था पनि समाजमा देख्न सकिन्छ। बाहिरको खाना, होटेल, रेस्टुरेन्टको खाना मात्र होइन घरमै बनाएर खाने खानामा पनि सन्तुलन मिल्दैन। खाना खाने जिब्रो र पेट दुवैका लागि हो। खाना पस्किँदा नै हेक्का राख्नुपर्छ कि, त्यो आमाशयमा पुग्छ। मुखबाट चपाएदेखि नै त्यसले पाचन प्रक्रियाको विभिन्न चरणबाट गुज्रिनुपर्छ।

अन्त्यमा खानेकुराको पोषक तत्त्व शरीरको विभिन्न अवयवयमा पुग्छ। बाँकी कुरा मलको रूपमा निष्कासन हुन्छ। यो प्रज्ञा जागृत भयो भने हामी स्वस्थ्यकर खानामा जोड दिन्छौँ। पोसिलो खानेकुरा रोज्छौँ। साथसाथै, शरीरलाई जति आवश्यक छ, त्यतिमात्र खान्छौँ। खानु भनेको पेट भर्नु मात्र होइन। खानु संस्कृति र शील पनि हो। परिवार भेला भएर खानु उत्सव पनि हो। 

हाम्रो पौराणिक ग्रन्थ र आयुर्वेदले समेत सन्तुलित र शुद्ध खानामा जोड दिएको छ। उमारेका गेडागुडी, फलफूल, सागपात, रेशादार खाना धेरै र चामल कम प्रयोग गर्न जोड दिइएको हुन्छ। शरीरलाई आवशयक पोषण ख्याल गरेर मात्र भोजन तयार गर्नु र मात्रा अड्कलेर खानु पनि अनुशासन भित्र पर्छ।

शरीर,  मन र मस्तिष्कका अवयवयहरुलाई चुस्त, दुरुस्त राख्नका लागि स्वस्थ्य र सन्तुलित खानपान जरुरी रहन्छ। हाम्रो बस्ने आशन, खाना खाँदाको समय र सोच, खाना बनाउने मानिसको भावदशा समेत पोषणयुक्त खानाको कारण बन्ने हुँदा खानपान र पाकशैली अनि खानाको महत्त्व एकसाथ ध्यान दिनुपर्छ। हाम्रो पौराणिक ग्रन्थ र आयुर्वेदले समेत सन्तुलित र शुद्ध खानामा जोड दिएको छ। उमारेका गेडागुडी, फलफूल, सागपात, रेशादार खाना धेरै र चामल कम प्रयोग गर्न जोड दिइएको हुन्छ। शरीरलाई आवशयक पोषण ख्याल गरेर मात्र भोजन तयार गर्नु र मात्रा अड्कलेर खानु पनि अनुशासन भित्र पर्छ। उमेर अनुसार पनि खानाको मात्रा र खाएपछिको पाचन प्रक्रियामा भर पर्ने भएकोले सचेतना जरुरी छ। 

दशैँ र आशीष 

आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने।।

शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।

​द्रोणपुत्र अस्वत्थामाको जस्तो आयु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ। मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ। यो अभ्यासले सबैको मन, मस्तिष्क र विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ।

देवी दुर्गाले असुरहरूलाई नाश गरेर विजय प्राप्त गरेको खुसियालीमा विजयादशमी हुँदै त्यो खुसियालीलाई परिवारका मान्यजनबाट टिका, जमरा र आशिष ग्रहण गरी मनाउने परम्परा हो दशैँ। यसले एकातिर संस्कार र संस्कृति जोगाएको छ भने अर्कोतिर पारिवारिक मिलन र भाइचारालाई बढाएको छ। विदेश गएकाहरूलाई पनि घर फर्केर आउने र शहरमा रहेकालाई गाउँ फर्केर जाने वातावरण सृजना गर्दछ दशैँले।

मान्यजनकहाँ जानु, भेट्नु र आशिष लिनु आफैँमा महत्त्वपूर्ण संस्कार र प्रचलन हो। यही महत्त्वलाई केन्द्रमा राख्ने हो भने दशैँ एक उल्लासमय, प्रेमपूर्ण, स्वस्थ र उमंगको पर्वको रूपमा परिचित भई नै रहनेछ। यसको मौलिकता कायम नै रहिरहनेछ। अनेक देखासिकी र परिवर्तित चलन थोपरेर दसैंको मर्म र मौलिकता नै बिग्रन नदिने गरी दशैँ मनाउनु पनि ज्ञान र प्रज्ञालाई व्यवहारमा उतार्नु हो। 

आयो दशैँ ढोल बजाई, गयो दशैँऋण बोकाई गरी मनाउनु जरूरी छैन। हरेक पर्वले आफ्नो स्वभाव र परिस्थिति अनि जे छ त्यसमा प्रफुल्लित हुने सन्देश दिएको हुन्छ त्यसलाई मनन गर्न सक्नुपर्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.