|

काठमाडाैँ : आइतबार ललितपुरको पुल्चोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्गणमा मान्छेको भीड थियो। सुरक्षा व्यवस्था पनि कडा बनाइएको थियो। नगर प्रहरी, प्रहरी, सशस्त्र प्रहरीले सुरक्षाको आफ्नो आफ्नो घेरो बनाएका थिए। सुरक्षा घेराभित्र अर्को घेरो पत्रकारको थियो।

केन्द्रमा फूल, माला र खादाले पुरिएर एउटा निर्जीव शरीर लडिरहेको थियो। जुन शरीर आइतबार बिहान मात्रै संस्कृतिविद् सत्यमोहन जोशीले छोडेर गएका थिए। 

तीनपटकका मदन पुरस्कार विजेता, लेखक तथा संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीको आइतबार बिहान उपचारको क्रममा निधन भएको छ। १०३ वर्षीय जोशीलाई डेंगु भएपछि ललितपुरको किस्ट अस्पतालमा लगातार उपचार हुँदै आएको थियो। 

परिवारले परम्पराअनुसारको अन्तिम संस्कार गरेपछि जोशीको पार्थिव शरीर ललितपुर महानगरको प्राङ्गणमा राखिएको थियो। जहाँ सर्वसाधारणदेखि साहित्यकार, नेता, चर्चित कलाकारहरूले अन्तिम श्रद्धाञ्जलि दिएका थिए। श्रद्धाञ्जलि कार्यक्रममा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवाले उनको शरीरमा राष्ट्रिय झण्डा ओढाइदिएका थिए।

त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्नि सापकोटा, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, ललितपुरका मेयर चिरिबाबु महर्जन, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, प्रशान्त ताम्राकार लगायतका विभिन्न क्षेत्रका हस्तीहरूले जोशीको पार्थिव शरीरमा फूलमाला चढाएका थिए।

बाल्यकालमै बिफर, औलो, हैजा जस्ता रोगसँग लडेका जोशीले त्यसपछि भने लामो समय अस्पताल जानु परेको थिएन। पछिल्लो पटक कोरोना महामारी शुरु भएपछि भने उनी समय समयमा विरामी हुँदै आएका थिए। 

ललितपुरको बखुम्बहालमा वि.सं. १९७६ वैशाख ३० गते जन्मिएका जोशी सानैदेखि जिज्ञासु स्वभावका थिए। जुन स्वभाव उनी जीवित हुन्जेल रहिरह्यो। ३६ वर्षको उमेरमा हाम्रो लोक संस्कृति नामक खोजमूलक पुस्तकबाट वि.सं. २०१३ मा पहिलोपटक मदन पुरस्कार पाएका जोशीले त्यसपछिका १५ वर्षमा अरू दुईपटक मदन पुरस्कार जिते। वि.सं. २०१७ मा नेपाली राष्ट्रिय मुद्रा र २०२८ मा कर्णाली लोक संस्कृतिबाट उनले मदन पुरस्कार जितेका हुन्। 

यी बाहेक सिपाही र रैती, सुनकेशरी, कलाकार अरनिको, माजिपा लाखे जस्ता थुप्रै आख्यान, गैरआख्यान, खोजमूलक किताब लेखेका छन्। जसमा मानव सभ्यता र लोक संस्कृतिमा केन्द्रित रहेका छन्।

तीनपटक मदन पुरस्कार बाहेक उनले दक्षिणबाहु, त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमान राष्ट्रदीप जस्ता प्रतिष्ठित राष्ट्रिय पुरस्कार पनि पाएका छन्। 

गत वर्ष चैतमा उनको आत्मकथा सत्यमोहन सार्वजनिक भएको थियो। जसको लोकार्पण जोशी आफैँले गरेका थिए। झण्डै १ सय साढे ३ वर्ष बाँचेका जोशीले आफ्नो लामो आयुको कारण खानपान र जीवनशैलीसँगै संस्कृतिप्रतिको लगाव र जिज्ञासु स्वभावलाई पनि मान्ने गर्थे। सामान्य जीवनशैली बिताउन मन पराउने जोशीले आफ्नो जिन्दगीको अधिकांश समय खोज र अनुसन्धान मै बिताए।

आफूले देखेका धेरै सपना, बनाएका योजना सफल भए पनि उनका केही सपना पूरा भएको देख्न नपाउँदै उनी अस्ताए। सय वर्ष पुग्दा उनले आफ्नो आत्मकथाको एउटा पुस्तक आओस् भन्ने अन्तिम इच्छा रहेको बताएका थिए। जुन उनी जीवितै छँदा साकार भयो तर उनकी श्रीमतीको आत्मकथा र चक्र सम्भरको पौवा चित्र भने उनले देख्न पाएनन्। जसमा अहिले काम भइरहेको छ। 

जोशीको पार्थिव शरीर पूर्व सम्झौताअनुसार किस्ट अस्पतालले अनुसन्धानका लागि लगेको छ। २०७७ माघमा नै आफ्नो शरीरका अंगले यतिका वर्षसम्म कसरी काम गरिरहेका थिए, यो सबै कसरी सम्भव भयो भन्ने कुरा चिकित्सा शास्त्रका विद्यार्थी र सिंगो चिकित्सा क्षेत्रकै लागि लाभदायक हुन सक्ने भन्दै जोशीले आफ्नो शरीर किष्ट अस्पताललाई दान गरेका थिए। 

जोशीको निधनले सिंगो साहित्य तथा कला क्षेत्र यतिवेला शोकमग्न छ। नेपाल सरकारले जोशीको निधनमा राष्ट्रिय शोकको घोषणा गर्दै एकदिन बिदा दिने निर्णय गरेको छ। 

एउटा लामो आयु बाँचेर जोशीले भौतिक रूपमा संसारबाट बिदा लिएका छन् तर उनी उनका खोज, अनुसन्धान, साहित्य, संस्कृति र समाजका लागि उनको योगदान, उनको जीवनशैली, जीवन दर्शन र उनको युग सधैँ सम्झिइनेछ। सत्यमाेहन जाेशी सम्झनामा सधैँ अमर रहनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.