|

पर्वत : जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट ‘स्टिपल चेज’ विधामा सहभागी हुन आएका एथ्लेटिक्सका दुर्गा बहादुर बुढा भारतबाट खेल्दै आएको भन्दै आइतबार त्यसको विरुद्धमा उजुरी पर्‍यो। 

पुरुष ‘स्टिपल चेज’ मा सहभागी हुन पोखरा आएका बुढा देशका लागि नखेलेर मित्र राष्ट्र भारतका लागि खेलेकाले उनलाई तीन सय मिटरको ‘पुरुष स्टिपल चेज’ मा सहभागी हुन दिन नहुने भन्दै ‘प्रोटेस्ट’ उजुरी दर्ता भएको थियो। 

तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब सहित गण्डकी प्रदेश गरी चार समूहले उनको सहभागिता खारेजी हुनुपर्ने माग सहित उजुरी गरेका थिए।

तर, सोमबार बिहान भएको तीन हजार मिटरको पुरुष ‘स्टिपल चेज’ मा उनै बुढाले कर्णाली प्रदेशलाई स्वर्ण पदक दिलाएका छन्। पोखरा रङ्गशालामा भएको खेलमा निर्धारित दुरी आठ मिनेट ५५ दशमलव १९ सेकेन्डमा पूरा गर्दै बुढाले स्वर्ण पदक हात पारेका हुन्। 

उक्त खेलमा एपीएफ क्लबका अजित यादवले नौ मिनेट २१ दशमलव १० सेकेन्डमा दौड पूरा गरेर रजत तथा आर्मीका सुवास कार्कीले नौ मिनेट २२ दशमलव १५ सेकेण्डमा दौड पूरा गरेर कास्य पदक हात पारेका छन्।

उजुरी पत्रमा बुढाले भारतको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै आएको तथा उनले राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने तर राष्ट्रिय प्रतियोगितामा भने सहभागिता जनाएको उल्लेख गरिएको थियो। 

‘स्टेबल चेस्ट इभेन्टमा कर्णाली प्रदेशबाट सहभागी खेलाडी दुर्गा बहादुर बुढा मित्र राष्ट्र भारतबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व जनाउँदै आउनुभएको र गत आठौँ राष्ट्रिय प्रतियोगितामा नेपालगन्जमा राष्ट्रिय टिमको तयारीको सिलसिलामा भारतबाट प्रतिनिधित्व गर्दै खेल्ने हुँदा नेपालबाट सहभागी हुन नसक्ने जनाई राष्ट्रको प्रतिनिधित्व गर्न सक्नु भएन,’ प्रोटेस्टमा लेखिएको थियो, ‘राष्ट्रको प्रतिनिधित्व गर्ने बेला उपस्थित हुन नसक्ने तर राष्ट्रिय प्रतियोगितामा उहाँको सहभागिता रहेको छ। तेस्रो दिनको तीन हजार मिटरको स्टिवल चेस्ट इभेन्टमा सहभागी हुन लाग्नु भएकोले न्यूनतम सुविधाको बाबजुद आफ्नो क्षमता प्रदर्शन गर्ने खेलाडी हतोत्साहित भएकोले निज माथि प्रोटेस्ट निवेदन दिँदै निजको सहभागिता खारेजको माग गर्दछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.