|

म्याग्दी : देशैभरी चुनावको रौनकले तिहारको चटारोलाई बिर्साएको छ। उम्मेदवार र राजनीतिक दलका नेताहरू समूह समूह बनाएर घरदैलो अभियानमा व्यस्त छन्। तर,मुस्ताङको अवस्था भने नितान्त भिन्न छ।

छर्लङ्गै खुलेको छ मौसम। चारैतिर सेता हिमालहरू मुसुक्क मुस्कुराइरहेका छन्। सेता हिमाल हेर्दै प्राकृतिक सुन्दरता,भौगोलिक विचित्रता र मुस्ताङी होटल व्यवसायीहरूको न्यानो आतिथ्यतामा रमाइरहेका आन्तरिक तथा वाह्य पर्यटकहरूको रौनक बढेको मुस्ताङमा अवको २६ दिन पछि हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको रौनक भने अझै सुरु भएको छैन।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कुनै पनि राजनीतिक दलले चुनावी गतिविधिहरू संचालन गरेका छैनन्। ‘चुनाव आइसक्यो,तर कुनै पनि दलका उम्मेदवार भोट माग्न आएका छैनन्, न त आफ्ना एजेण्डाहरू नै हामीलाई बताएका छन’, मुस्ताङको सदरमुकाम जोमसोमस्थित होटल मुस्ताङ ताजका संचालक योगेश शेरचनले बताए।

मुस्ताङमा २ स्वतन्त्र उम्मेदवारसहित १३ जनाले मनोनयपत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जानकारी दिएको छ।

प्रतिनिधिसभातर्फ ५ राजनितिक पार्टीका ५ जना र दुई जना स्वतन्त्र उम्मेदवार गरी ७ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। यसैगरी प्रदेशतर्फ चार राजनितिक पार्टीका ६ जनाले मनोनयन पत्र दर्ता गरेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले जानकारी दिए। मुख्य निर्वाचन अधिकृत पराजुलीका अनुसार प्रतिनिधि सभातर्फ एमालेबाट पूर्व सांसद प्रेमप्रसाद तुलाचन ,कांग्रेससहितको गठबन्धनबाट योगेश गौचन थकाली, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुदेश गुरुङ, राप्रपाबाट मानबहादुर विक  र राप्रपा नेपालबाट प्रबिन शेरचनले उम्मेदवार छन्।

प्रदेशतर्फ एमालेबाट क्षेत्र ईन्द्रधारा बिष्ट र चन्द्रमोहन गौचन, कांग्रेससहितको गठबन्धनबाट विकल शेरचन र नाम्डु गुरुङ , राप्रपाबाट जेम्स हिराचन र राप्रपा नेपालबाट कर्मा डोल्कर गुरुङ उम्मेदवार बनेका छन्।

प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट डा. सुरेन्द्र शेरचन र सुरज लालचनले उम्मेदवारी दिएका छन्। प्रदेशतर्फ कुनै पनि स्वतन्त्र उम्मेदवारी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। देशका अरु जिल्लामा उम्मेदवारहरू मतदाता भेटघाटका लागि घरदैलो र खेतबारीमा पुगेका छन्। मतदातालाई रिझाउन उनीहरूले ढोग,नमस्कारदेखि खेतबारीमा पुगेर काम सघाउने गरेका तस्वीर तथा समाचारहरू सार्वजनिक भइरहेका छन्। तर,मुस्ताङमा भने यस्ता कुनै पनि किसिमका चुनाव लक्षित गतिविधिहरू संचालन नभएका मार्फाका स्थानीयवासी देवेन्द्र शेरचनले बताए।

‘अहिलेसम्म मुस्ताङलाई चुनावी गतिविधिले छोएको छैन,हाम्रो पार्टी सभापति र प्रतिनिधि सभाका उम्मेदवार जिल्लामा हुनुहुन्न,उहाँहरू काठमाडौंबाट आएपछि मात्र कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गरेर मात्र चुनाव लक्षित कार्यक्रमहरू संचालन गर्छौं’, गठवन्धनको तर्फबाट प्रदेश सभा क्षेत्र २ का नेपाली कांग्रेसका उम्मेदवार विकल शेरचनले भने।

त्यसैगरी नेकपा एमालेले पनि अहिलेसम्म निर्वाचन लक्षित कुनै गतिविधि संचालन गरेको छैन। ‘हामी अहिले आन्तरिक तयारीमा लागेका छौं,स्थानीय तहका साथीहरूसँग छलफल भइरहेको छ,अव छिटै घरदैलो,भेटघाट लगाएतका कार्यक्रमहरू गर्छौँ’, नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार तथा पूर्व सांसद प्रेमप्रसाद तुलाचनले भने।

मुस्ताङका जनता आसन्न निर्वाचनप्रति त्यति उत्साहित देखिदैंनन्। उनीहरू विगत दुई वर्षको कोरोना कालमा खस्केको आफ्नो व्यापार व्यवसायलाई पुनः पुरानै लयमा फर्काउन लागिपरेका छन्। जोमसोम स्थित होटल मुस्ताङ मोनालिसाका संचालक विजय हिराचन चुनावप्रति स्थानीय त्यति उत्साहित नभएका बताए। ‘मुस्ताङ होटल र पर्यटनले धानिएको जिल्ला हो,यहाँ अन्तिम समयमा मात्र चुनाव आएजस्तो हुन्छ,अघिपछि सबै आआफ्नै काम धन्दामा व्यस्त हुन्छन्,आफ्नो काम धन्दा नै छोडेर न त उम्मेदवारहरू एक डेढ महिनाअघिदेखि चुनाव प्रचारमा लाग्छन्,न त मतदातालाई उम्मेदवारसँग छलफल गर्ने,उनीहरूका कुरा सुन्ने फुर्सद हुन्छ’, हिराचनले भने।

विगत १४ वर्षदेखि जोमसोममा सुनसरी किराना पसल संचालन गर्दै आएकी राधिका क्षेत्रीले चुनाव आउँदै छ भन्ने आफूले सुनेको तर भोट माग्न अहिलेसम्म कोही पनि नआएको बताइन्।

‘हामीलाई आफ्नै व्यवसायको ध्याउन्न छ, फलानो पार्टीको फलानोलाई भोट दिनु है भनेर कोही पनि आएको छैन,आए पनि हुन्छ हजुर भनेर छिटै आफ्नो काममा लाग्नुपर्ने वाध्यता छ’, क्षेत्रीले भनिन्।

मुस्ताङको स्थिती

५ वटा गाउँपालिका रहेको मुस्ताङमा ३८ मतदान केन्द्र निर्धारण गरिएको छ। मुस्ताङमा १० हजार ४ सय १४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ। मुस्ताङमा यसअघिको ३७ मतदान केन्द्र कायम रहेकोमा त्यसमा थासाङ गापा—४ झिप्रा देउरालीमा थप एक केन्द्र थपिएसंगै मुस्ताङमा ३८ वटा मतदान केन्द्र कायम भएको हो। जसअन्तर्गत घरपझोङमा ५,थासाङमा ८,वारागुङ मुक्तिक्षेत्रमा ९,लोघेकर दामोदरकुण्डमा ९,. र लोमान्थाङ गाउपालिकामा ७ मतदाता कायम गरिएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ।

संघीयता पछिको २०७४ को निर्वाचनमा मुस्ताङमा ९ हजार ४ सय २७ मतदाता थिए। मुस्ताङको यसअघिको मतदाता संख्यामा ९ सय ९८ मतदाता थप भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.