|

दाङ :  प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि चुनावको मिति नजिकिँदै गर्दा अहिले जिल्लामा उम्मेदवार भोट माग्न मतदाताको घरखेत दौडिइरहेका छन्।

जिल्लामा मुख्यगरी संयुक्त गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने आँकलन गरिएका वेला पछिल्लो समय पार्टीका नेताहरूले जितेपछि फर्केर नहेर्ने भन्दै युवादेखि ज्येष्ठ नागरिक भने पार्टीभन्दा पनि राम्रा र सक्षम उम्मेदवार छान्ने बताउँछन्।

जिल्लामा प्रतिनिधि सभाको तीन सिटका लागि ४३ र प्रदेश सभाको लागि ६ वटा निर्वाचन  ४६ जना गरी ८९ जना उम्मेदवार छन्।  जिल्लाका चार लाखभन्दा बढी मतदाताले ९ जनालाई मात्र चुनेर पठाउने छन्। तर, तीमध्ये वर्तमान मन्त्रीदेखि पूर्वमन्त्रीसम्म छन्। केही नयाँ अनुहारहरू रहेका छन्।  तर, उनीहरु अहिले मतदाताको घरखेत पुगेर आश्वासन बाँड्दै भोट माग्न व्यस्त छन्।

मतदाता भने यो पटक पार्टी भन्दा पनि सक्षम उम्मेदवारलाई भोट दिने बताउँछन्। शान्तिनगर गाउँपालिका ३ का गंगाधर पाण्डेले यस पटक आफूले पार्टीका उम्मेदवार भन्दा राम्रो र सक्षम उम्मेदवारलाई भोट दिने बताए। ‘राम्रो काम गर्ने कुनै पनि उम्मेदवारलाई हामीले अहिले भोट दिने हो। पार्टी भन्ने कुरा यस्तै रहेछ भन्ने अहिले थाहा भएको छ’, उनले भने, ‘हामीले धेरै पटक यो क्षेत्रबाट धेरै नेतालाई जिताएर पठायौँ। तर, उनीहरूले आफ्नो लागि मात्र गर्ने, जनताको समस्यालाई चासो नदिने रहेछन्।’

शान्तिनगरवासीले वर्षौँदेखि भोगिरहेको मुख्य समसया हो, पानी। गाउँमा एउटा ताल निर्माण गर्न लागे पनि अहिले विवादका कारण रोकिएको छ। पाण्डे जसले पानीको सस्मयासमाधान गर्छ, त्यसैलाई गाउँका सबैले भोट दिने बताउँछन्। उनले विकास क्रमिक रूपमा हुने भए पनि जितेर गएका नेताहरू एक पटक पनि गाउँमा नआएको गुनासो गरे।

पञ्चायतकालदेखि हालसम्म भोट दिँदै आएका शान्तिनगर ३ कै ९१ वर्षीय चन्द्रबहादुर खत्री जिताएर पठाएका नेता गाउँमा भोट माग्ने समयमा मात्र आउने र अरु बेला नआउने गुनासो गर्छन्। उनले गाउँमा अझै राम्रोसँग विकास नभएको पनि बताए। 

उनले भने,‘पञ्चायतकालदेखि भोट हाल्दै आएको छु। जसलाई जिताएर पठाए पनि  हाम्रो थालमा भात कसैले ल्याउने होइन्। तर, हामी जनताले विकास चाहन्छौँ। बाटाघाटा, कुला नाला, बत्ती जस्ता सेवा सुविधा हुनु पर्ने हो। अझै भनेको जस्तो भएको छैन।’  यस्तै उनले अहिलेसम्म एउटै पार्टीलाई भोट दिँदै आएको अहिले पार्टीको उम्मेदवार राम्रो भएपछि मात्र भोट दिने  पनि बताए। उनले २०७४ सालमा जिताएर पठाएका नेता अहिलेसम्म गाउँमा एक पटक नआएको गुनासो गरे।

यस्तै प्रत्येक निर्वाचनमा राप्रपामा भोट हाल्दै आएका शान्तिनगर ४ का जीवलाल देवकोटाले भने यस पटक स्वतन्त्रलाई भोट दिने बताए। उनले  लामो समयदेखि एउटै पार्टीमा भोट दिएर कुनै प्रगति नभएको भन्दै अहिले स्वतन्त्रलाई दिने बताए। ‘अहिलेसम्म कति पटक भोट दिए, त्यो भोट खेर गएको छ’, उनले भने, ‘अब पार्टीलाई भन्दा स्वतन्त्रलाई नै भोट दिने हो।’

ज्येष्ठ नागरिक मात्र नभई यो पटकको निर्वाचनमा पार्टीलाई भन्दा  राम्रो र  सक्षम  उम्मेदवारलाई भोट दिने युवा पनि बताउँछन्। तुलसीपुर उपमहानगरपालिका १६ का  विवेक देवकोटाले पनि यस पटकको भोट पार्टीलाई भन्दा व्यक्तिलाई दिने बताए। उनले पार्टीले अहिलेसम्म देश  बनाउने भन्दा पनि बिगार्ने काम गरेको भन्दै देशको लागि कुनै पनि काम नगरेको आरोप समेत लगाए।

‘अब देशको नेतृत्व युवाले मात्र गर्न सक्छन्’, उनी भन्छन्, ‘मेरो भोट उनै सक्षम  आफ्नो लागि भन्दा पनि देश र जनताको लागि काम गर्ने युवालाई हो। तर, कुनै पार्टीमा राम्रो युवा भएमा त्यसले पनि भोट पाउन सक्छ।’ 

यस्तै घोराही उपमहानगरपालिका १२ का कृष्णदेव थापाले यो पटकको भोट विशेष रहेको भन्दै पार्टी भन्दा पनि उम्मेदवार हेरेर भोट दिने बताए। उनले लामो समयदेखि पार्टी भन्दै आएको भएयता पनि पार्टीबाट आफूहरूले  सोचे जस्तो काम नभएका कारण यस पटकको भोट उम्मेदवार हेरेर दिने बताए। ‘हामीले पार्टीका नेताहरूलाई धेरै पटक भोट दिएर जिताएर पठायौँ,‘ उनले  भने,‘ तर, उनीहरूबाट हामीलाई निराश बनाउने मात्र काम भयो। अब पार्टीबाट हामीलाई आश मरिसकेको छ।’ 

घोराही उपमहानगरपालिका १५ का अनन्त रावतले मंसिर ४ गते हुन लागेको निर्वाचन ५ वर्षसम्म देश निर्माण गर्नको लागि भएका कारण महत्त्वपूर्ण रहेको बताए। उनले पनि यस पटक आफूले  पार्टीलाई भन्दा पनि व्यक्ति र एजेण्डा अनुसार भोट दिने बताए। 

‘यसअघि हामीले ५ वर्षसम्मको लागि पार्टीका नेताहरूलाई जिताएर पठाएका थियौँ। तर, उनीहरूबाट भने जस्तो कुनै काम भएन’,  उनले भने, ‘अहिले म जस्तै मेरा साथीहरूले पार्टी भन्दा पनि व्यक्ति र उसको एजेण्डा, उसको देश प्रतिको लगाव हेरेर भोट दिने कुरा भएको छ।’

अहिले नेताहरू दिन रात नभनी मतदाताहरूको घर घरमा गएर भोट माग्दै विभिन्न आश्वासन दिइरहेका छन्। उनीहरूले विगतका निर्वाचनमा जस्तै अहिले  चार लेन सडक, टरिगाउँ विमानको स्तरवृद्धि मात्र नभइ गाउँ–गाउँमा सडक, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत विषयमा मतदातालाई आश्वासन दिएर भोट मागिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.