|

डडेल्धुरा : वाम-लोकतान्त्रिक गठबन्धन डडेल्धुराले चुनावी अभियानलाई तीव्रता दिएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि वाम-लोकतान्त्रिक गठबन्धन डडेल्धुराले चुनावी तयारीलाई व्यापक पारेको हो।

गठबन्धनबाट प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रदेशसभा १ मा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्ट र प्रदेशसभा २ मा सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा उम्मेदवार छन्। भट्ट र बोहरा मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेका छन्।

गठबन्धनले नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति भीमबहादुर साउँदको नेतृत्वमा जिल्ला ९ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरी अभियानलाई तीव्रता दिइएको माओवादी केन्द्रका डडेल्धुरा संयोजक उमेशप्रसाद भट्ट ‘विकास’ले जानकारी दिए।

गठबन्धनले प्रत्येक निर्वाचन क्षेत्र, पालिका र वडाहरूमा निर्वाचन परिचालन समिति गठनलाई पनि व्यापक बनाएको उनले बताए।

उनका अनुसार नेपालीहरूका महान चाड दसैँ,तिहार तथा छठ सकिएसँगै चुनावी अभियानलाई थप तीव्रता दिइएको हो। गठबन्धनले जिल्लाका विभिन्न ठाउँमा निर्वाचन लक्षित भेला, बैठक तथा आमसभाहरू गरिरहेको छ।

प्रदेशसभाको क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भरतबहादुर धानुक ‘पुकार’को नेतृत्वमा निर्वाचन परिचालन समिति भएको छ भने प्रदेशसभा क्षेत्र नम्ब २ मा नेपाली कांग्रेसका नेता तारक बुढाऐरको नेतृत्वमा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय परिचालन समिति गठन भएको छ।

गठित समितिले चुनावी अभियानलाई तीव्रता दिएको लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जनाएको छ। त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा सबैभन्दा बढी मतदाता भएको परशुराम नगरपालिका पनि पालिका स्तरीय निर्वाचन परिचालन समिति बनाइएको छ। नेपाली कांग्रेसका महासमिति सदस्य नरभान कामीको नेतृत्वमा समिति गठन गरिएको छ।

आलिताल गाउँपालिकामा माओवादी केन्द्रका नेता हरिलाल थापा मगरको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ। प्रत्येक पालिकामा निर्वाचन परिचालनलाई व्यवस्थापन गर्न समपर्क कार्यालय पनि स्थापना गरिएको छ।

केही दिन अगाडि गठबन्धनले परशुराम नगरपालिका–१२ लालढुङ्गा जोगबुढामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको थियो। निर्वाचनका कार्यक्रम सञ्चालन गर्न सहज होस् भन्नका लागि सम्पर्क कार्यालय स्थापना गरिएको बताइएको छ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि चुनाव प्रचारप्रसारसम्बन्धी गतिविधिहरू सञ्चालन गर्न सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो।

कात्तिक १७ गते डडेल्धुरा आउँदै प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा १७ कात्तिकमा गृहजिल्ला डडेल्धुरा आउने भएका छन्। १७ गतेदेखि चार दिने कार्यक्रमका लागि देउवा जिल्ला आउने कार्यक्रम रहेको वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जनाएको छ।

उनले एउटामात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका थिए।

१७ गतेदेखि चार दिने कार्यक्रमका लागि देउवा डडेल्धुरा आउने कार्यक्रम रहेको कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले जानकारी दिए।

उनकाअनुसार यहाँको चारदिने कार्यक्रक सकेर देउवा फेरि काठमाडौं फर्किने र निर्वाचनको केही दिन अगाडि पुनः जिल्ला आउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.