|

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र ५ का उम्मेदवार प्रदीप पौडेलले संसदमा आफूले जनताको आवाज निर्भीक भएर राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

काठमाडौं क्षेत्र ५ अन्तर्गत वडा नं ५ कमिटीले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। ‘संसदमा निर्भीक भएर बोल्ने मान्छेको खाँचो छ, हामी संसदमा तपाईंका समस्याहरू निर्भीक भएर बोल्नेछौँ‚’ नेता पौडेलले भने। 

निर्वाचन क्षेत्र काठमाडौं-५ को समग्र विकासको आफ्नो खाकाबारे बताउँदै उनले सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व गर्ने समेत बताए।  

‘काठमाडौं क्षेत्र ५ हेरेपछि सबै देश देखिन्छ‚’ उनले भने, ‘यहाँ भएका मुख्य प्रशासनिक भवनदेखि कला कौशलका कारण पनि सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व गर्छ।’ 

त्यसैगरी काठमाडौं-५ को मात्र नभई काठमाडौंमा रहेका विद्यालयलाई बूढानिलकण्ठ स्तरको बनाउने प्रतिबद्धता व्यक्त गरे। राज्यबाट स्रोत नपाए आन्तरिक स्रोत साधनको परिचालन गरेर भए पनि सबै शिक्षालयको गुणस्तर उकास्नेमा जोड दिए। 

‘यहाँका सबै शिक्षालयहरूलाई बूढानिलकण्ठस्तरको बनाउन सकिन्छ‚’ उनले भने, ‘राज्यले स्रोत नदिएमा आन्तरिक स्रोत साधनबाट भए पनि काठमाडौं क्षेत्र नं ५ मा रहेका सबै शिक्षालयहरुलाई बूढानिलकण्ठ स्तरको बनाउन पहल गर्नुपर्छ।’ 

देशमा भएका बौद्धिक जनशक्ति पलायनका कारण मुलुक निर्माण हुन नसक्ने पनि उनले बताए।

बौद्धिक वर्ग पलायन गरी अन्य सामग्री आयात भइरहेकोबारे टिप्पणी गर्दै उनले भने, ‘ब्रेन ड्रेनको समस्या छ। एउटा देश जो बौद्धिक नागरिकलाई जोगाएर राख्न सक्दैन भने त्यो देशको विकास कताबाट हुन्छ? सबै कुरा आयात गरेर मात्र देश समृद्ध हुन सक्दैन।’ 

यसअघिका निर्वाचनमा कांग्रेसबाट जित हासिल गरेका कांग्रेस नेता नरहरि आचार्यको प्रशंसा गर्दै आफूले उनकै मार्गबाट विकासका काम अघि बढाउने पौडेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.