|

हेटौंडा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बास्कोटा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे–२ बाट एमालेको उम्मेदवार छन्।

२०७४ सालको चुनावमा कांग्रेसका मधु आचार्यलाई पराजित गरेर सांसद बनेका बास्कोटासामु अहिले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईं प्रतिस्पर्धी छन्। खरो स्वभावका मानिने बास्कोटालाई २०७४ सालको निर्वाचनमा चुनाव जित्दा माओवादीको मात्रै हैन एमालेका हस्तीद्वय कृष्णप्रसाद सापकोटा र विदुर सापकोटाको पनि साथ थियो। दुई सापकोटाको सहयोगमा कांग्रेसका मधु आचार्यमाथि जीत निकाल्न उनी सफल भएका थिए। 

यो पटक भने बास्कोटालाई आफ्नो विरासत जोगाउन हम्मेहम्मे पर्ने देखिएको छ। यसअघिको चुनावमा सारथि बनेका पूर्व सांसदद्वय सापकोटा यसपालि बास्कोटाको साथमा छैनन्। यो चुनावमा उनीहरू बास्कोटाकै विरोधी भएर उभिएका छन्। अघिल्लो निर्वाचनमा जित्न बास्कोटाको खम्बा बनेका उनीहरू अहिले उनैलाई हराउन लागिपरेका छन्। नेकपा माओवादी केन्द्रसँगै भोट बैंक मानिएका पूर्व दुई सापकोटाको साथले कांग्रेस उम्मेदवार हुमागाईँको जित सहज बन्ने आँकलन गरिएको छ। 

०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा बाँस्कोटा निर्वाचित हुँदा दुवै प्रदेश सभामा जितेका सांसद उनको साथमा नभएकै कारण पनि उनीमाथि अर्काे समस्या थपिएको छ। काभ्रे–२ को प्रदेश ‘क’ बाट लक्ष्मण लम्साल र ‘ख’ बाट बसुन्धरा हुँमागाई सांसद बनेका थिए। पार्टी विभाजनपछि यी दुवै सांसद एकीकृत समाजवादीमा छन्। 

यसले पनि उनलाई ठूलो धक्का लागेको छ। अघिल्लो चुनावमा चारैतिरबाट सारथी बनेकाहरू यो निर्वाचनमा उनको विपक्षमा उभिएका छन्। यो पटक उनको प्यानलबाट प्रदेश सभामा कुमार खकुरेल उम्मेदवार छन्। मण्डन देउपुरको डेडीथुम्का मावि महादेवस्थानमा खकुरेलले बास्कोटालाई भूगोल विषय पढाएका थिए। खकुरेल एमाले काभ्रेका पुराना नेता हुन्।

खरो स्वभाव भएका व्यक्तिका रूपमा चिनिने बास्कोटा चुनाव प्रचारमा पनि खरो नै देखिँदै आएका छन्। बिहीबार औपचारिक रूपमा चुनावी प्रचार सुरु गरेका उनी कुनै पनि कार्यक्रममा लामो भाषण गरेको देखिएका छैनन्। अधिकांश मतदातालाई उनी ‘धेरै भन्नु छैन, घर अगाडिको बाटो हेर्ने, ड्याम ड्याम सूर्यमा भोट हाल्ने’ भन्दै हिँडिरहेका छन्। अघिल्लो निर्वाचनमा निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै बाटो आफूले बनाएको उनको दाबी छ। त्यसैले बास्कोटा सोही बाटोलाई देखाउँदै भोट माग्दै गरिरहेका छन्।

बास्कोटा एमालेको सरकार हुँदा सञ्चारमन्त्री बनेका थिए। त्यति बेला ७० करोड ‘बार्गेनिङ’ गरेको अडियो बाहिरिएपछि उनी सरकारबाट हटेका थिए। यो विषयलाई गठबन्धनले चुनावी प्रचारमा जोडतोडका साथ उठाइरहेको छ। 

२०७४ को निर्वाचनमा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका बास्कोटाले कांग्रेसका आचार्यलाई १७ हजार ४४८ मतान्तरले पछाडि पारेका थिए। बास्कोटाले ५४ हजार ४२७ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आचार्य ३६ हजार ५७९ मतमै खुम्चिन बाध्य भएका थिए। 

काभ्रेको यो क्षेत्र एमालेको पकड मानिन्छ। देशभर माओवादीको दबदबा रहेको २०६४ को पहिलो संविधानसभा निर्वाचनमा समेत हाल यो क्षेत्र पर्ने स्थानबाट एमाले नै विजयी बनेको थियो। ०६४ मा माओवादीलाई पन्छाएर विजयी भएका एमालेका उम्मेदवार कृष्णप्रसाद सापकोटा अघिल्लो निर्वाचनमा बास्कोटालाई जिताउन लागिपरेका थिए, जो अहिले उनको विपक्षमा उभिदै कांग्रेस उम्मेदवार जिताउने अभियानमा छन्। 

यस्तो छ मतको अंकगणित

काभ्रे क्षेत्र नम्बर २ मा पाँच वटा स्थानीय तह पर्छ, जसमध्ये ३ वटाको भूगोल सिंगो छ भने २ वटाले आधा भूगोल मात्रै यो क्षेत्रमा परेको छ। पाँचखाल नगरपालिका, मण्डन देउपुर नगरपालिका, बेथानचोक गाउँपालिकाको पूर्ण क्षेत्र छ भने पनौती नगरपालिकाको १, २, ३, ११ र १२ नम्बर वडा र धुलिखेल नगरपालिकाको १, २, ३, ४, ५, ६ र ७ वटा वडा छन्। स्थानीय तहको निर्वाचनमा यहाँ एमालेबाट जितेका वडाध्यक्षको कुल मत ४५ हजार ५१४ छ। 

कांग्रेसले ४५ हजार ४५६ मत प्राप्त गरेको छ। तथ्यांक अनुसार एकीकृत समाजवादीले ८ हजार ६ सय ७६ मत ल्याउँदा माओवादी केन्द्रबाट उम्मेदवार बनेका वडाध्यक्षहरूको कुल मत ६ हजार ३७० रहेको छ। गठबन्धनको हिसाब गर्ने हो भने ६० हजार ५०२ मत छ। उता एमालेको ४५ हजार ५१४ छ। करिब १५ हजार मतले गठबन्धन अगाडि देखिएकाले यो चुनावमा जित हात पार्न बास्कोटाले धेरै मेहेनत गर्नुपर्ने देखिन्छ।

स्थानीय तहको प्रमुखले पाएको मतको आँकलन गर्दा पनि बास्कोटा भन्दा गठबन्धन नै अगाडि देखिन्छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ५८ हजार ७४९ मतदाता रहेका छन्, जसमा पुरुष ७९ हजार ७०७ र महिला ७९ हजार ४२ हजार छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.