|

धनगढी : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला धनगढीमा छन्। प्रधानमन्त्री देउवा आइतबार बेलुकी सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढी पुगेका हुन्।

देउवा अस्ति कार्तिक १७ गते गृहजिल्ला डडेल्धुरा गएकोमा हिजो बेलुकी धनगढी फर्किएका हुन्। गृहजिल्ला गएका देउवाले त्यहाँ आफूलाई मत माग्दै चुनावी सभाहरूलाई सम्बोधन गरेका थिए।

गृहजिल्लामा चुनावी सभा सकेर धनगढी पुगेका देउवा आज कार्यकर्ता भेटघाटमा व्यस्त रहेको बताइएको छ। देउवाले धनगढीस्थित आफ्नै निजी निवासमा कैलाली र धनगढीका नेता तथा कार्यकर्तालाई बोलाएर चुनाव केन्द्रित भेटघाट तथा छलफल गरिरहेको कांग्रेस कैलालीले जनाएको छ।

देउवाले उम्मेदवार चयनको विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूलाई पनि बोलाएर छलफल गरिरहेको कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए। कैलालीका नेता, कार्यकर्तासँग देउवाले यहाँको चुनावी अवस्था र सम्भावित परिणामबारे जानकारी लिइरहेको उनले बताए।

उनका अनुसार कैलाली क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा बागी उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीलाई पनि देउवाले निवासमा बोलाएर भेटेका छन्।

यस्तै, देउवाले नेता तथा कार्यकर्तालाई चुनावमा जित हासिल गर्न सशक्त रूपमा खट्न निर्देशन दिइरहेका छन्।

धनगढी उपमहानगरपालिकामा पर्ने क्षेत्र नम्बर ५ मा कांग्रेसबाट डिल्लीराज पन्त र ५ को प्रदेशसभा २ बाट प्रधानमन्त्री देउवाका भतिजा प्रकाश देउवा उम्मेदवार छन्।

क्षेत्र नम्बर ५ मा कांग्रेसका पुराना नेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। ०७० सालमा भएको उपनिर्वाचनमा यहाँ कांग्रेसबाट ओझा विजयी भएका थिए। ०७४ को चुनावमा यही क्षेत्रबाट उम्मेदवार बनेकी प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई असहयोग गरेको अभियोगमा उनलाई कांग्रेसले साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो।

कांग्रेसकै कतिपय नेता, कार्यकर्ता ओझाको पक्षमा लागेकाले यहाँ गठबन्धनको जितमा चुनौती रहेको आकलन गर्न थालिएपछि प्रधानमन्त्री देउवाले असन्तुष्टहरुलाई मनाउने कोसिस गरिरहेका छन्। नेकपा एमालेबाट यहाँ प्रतिनिधिसभा सदस्यमा नारदमुनि राना उम्मेदवार छन्। २०७४ को निर्वाचनमा रानाले देउवा पत्नी आरजू राणा देउवालाई पराजित गरेका थिए। अहिले पनि यहाँ एमाले, सत्ता गठबन्धन र स्वतन्त्रबीच नै टक्कर पर्ने देखिएको छ।

आज र भोलि धनगढीमा, पर्सि पहाडतिर उड्ने

प्रधानमन्त्री देउवा अबको दुई दिन धनगढीमै बस्ने काँग्रेस कैलालीले जनाएको छ। देउवाले धनगढीमा २ दिन यहाँका नेता तथा कार्यकर्तासँग छलफल गर्ने बताइएको हो। यहाँ कार्यकर्तासँग छलफलबाहेक अरू औपचारिक कार्यक्रम भने तय नभएको बताइएको छ।

आज र भोलिको धनगढी बसाईपछि देउवा पर्सि बुधबार सुदूर पहाडतर्फ जाने भएका छन्। देउवा गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न दार्चुला र बैतडी जाने भएका हुन्।

दार्चुला र बैतडीमा देउवासहित गठबन्धनका नेता माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.