|

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल निर्माण हरेक निर्वाचनमा सबै राजनीतिक दलको चुनावी एजेण्डा बन्ने गरेको छ।

यो निर्वाचनमा मात्रै नभएर विगतका निर्वाचनमा पनि यो चुनावी एजेण्डा बनेको थियो तर अहिलेसम्म बन्नेबारे कुनै टुंगो छैन। 

स्थानीयको मागअनुसार सबै राजनीतिक दलले मोटरेबल निर्माण गर्ने भनेर चुनावका वेला प्रतिबद्धता जनाउने गरेका छन्। यो नाकामा करिब डेढ सय वर्ष पुरानो झोलुंगे पुल रहेको छ।

सुदूरपहाडको भारतसँगको यो पुरानो र मुख्य नाका पनि हो। यहाँ मोटरेबल पुल नहुँदा यो क्षेत्रको व्यापार व्यवसायमा असर पर्दै आएको छ। साथै महाकाली नदीमा तत्कालीन इष्ट इण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुल जीर्ण बन्दा जोखिमपूर्ण रूपमा यात्रा गर्नुपरेको छ।

झुलाघाटमा पक्की पुल निर्माणका लागि झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडी उद्योग वाणिज्य संघले १० हजार बैतडीवासीको हस्ताक्षर संकलन गरेर नेपाल सरकार र भारतीय दूतावासलाई बुझाएको थियो। साथै उद्योग वाणिज्य संघको अगुवाइमा विसं. २०७६ सालमा यहाँका स्थानीय बासिन्दा सदरमुकाममा ३६ दिन रिले अनशन समेत बसेका थिए।

जिल्लामा उठ्ने उम्मेदवारदेखि केन्द्रीयस्तरका नेता र प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले समेत यो पुल निर्माण गर्ने भन्दै आश्वासन बाँडिरहेका छन्। शीर्ष नेताहरूले यहाँ भइरहेका चुनावी सभालाई सम्बोधन गर्दै झुलाघाटमा पक्की पुल बनाउने दाबी गरिरहेका छन्।

बुधबार पाटनमा आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले झुलाघाट पुल बनाएरै छाड्ने बताएका थिए। उनले भने, ‘झुलाघाटमा मोटरेबल पुल आवश्यक छ। त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, मोटरेबल पुल बनाएरै छोड्छु।’

सोही सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झुलाघाटमा पक्की पुल निर्माणका लागि पहल गर्ने बताए। उनले भने, ‘झुलाघाटमा पक्की पुल निर्माणबारे गठबन्धनका उम्मेदवारले माग गर्नुभएको छ। यो यहाँ आवश्यक छ, गठबन्धनका उम्मेदवारहरूलाई जिताउनुहोस् झुलाघाटमा पक्की पुल निर्माणको काम अघि बढाइनेछ।’

त्यसअघि कात्तिक १८ गते पाटनमै आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि झुलाघाटमा पक्की पुल निर्माण हुने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘झुलाघाटमा पक्की पुल निर्माण गर्न एमालेको सरकार चाहिन्छ, त्यो मैले पूरा गर्छु।’

यसका साथै एक महिनाअघि मात्रै बैतडी पुगेका काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पनि झुलाघाटमा पक्की पुल निर्माणको आश्वासन दिएका थिए। नेपाली काँग्रेसको नेतृत्वमा सरकार बने झुलाघाटमा मोटरेबल पुल बन्नेमा ढुक्क हुन उनको आग्रह थियो।

देशका प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीहरूले झुलाघाटमा पक्की पुल निर्माणको आश्वासन दिए पनि स्थानीय बासिन्दा भने अझै विश्वासमा रहेका छैनन्।

निर्वाचनका वेला नेताहरूले भोट माग्नका लागि मात्रै पुल निर्माणको आश्वासन दिने गरेकाले विश्वास लाग्न छाडेको बैतडीको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए। उनले भने, ‘निर्वाचनका वेला मात्रै झुलाघाट मोटरेबल पुल एजेण्डा बन्ने गरेको छ, निर्वाचनपछि भने यो कुरा सबैले बिर्सिन्छन्, कसैले पहल गर्दैनन्।’

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्द पुल निर्माणको आवाज उठेको वर्षौं भए पनि कसैले पहल नगरेको बताए। उनले भने, ‘हामीले हस्ताक्षर संकलन गरेर सरकारलाई बुझायौं, अनशन बस्यौ, नेताहरूले खाली बन्छ भनेर आश्वासन मात्रै दिएर ढाँट्ने काम गरेका छन्। पुल बनाउन केही पहल नहुँदा राज्यले सधैँ हेपेको महसुस हुन्छ।’

सीमा नदी भएकाले पुल निर्माणका लागि भारत सरकारको सहमति आवश्यक रहेको र दुवै देश तयार भए काम अघि बढ्न सक्छ तर भारतले पञ्चेश्वर परियोजना निर्माण भए झुलाघाट क्षेत्र डुबानमा पर्ने भन्दै पुल निर्माणमा अनिच्छा देखाउँदै आएको भनिदै आएको छ।

यता तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्ट भने योपटक प्रधानमन्त्री शेरबहादुर देउवाले पनि जिल्लामै आएर पुल निर्माणको काम अघि बढाउने भनेको र लोकतान्त्रिक वाम गठबन्धनले निर्वाचन जिते पुल बन्नेमा ढुक्क रहेको बताए। उनले भने, ‘देशको सम्माननीय प्रधानमन्त्रीले बन्छ, बन्छ बन्छ भन्नुभएको छ। उहाँले बोलेको काम गर्नु हुन्छ। पूर्ण विश्वास छ, अब झुलाघाटमा मोटरेबल पुल निर्माण हुन्छ।’

सुदूरपश्चिमकै पुरानो नाका झुलाघाटमा भएर सुदूरपश्चिमका मात्रै नभए कर्णाली प्रदेशका नागरिक समेत आवतजावत गर्ने गरेका छन्। झुलाघाट नाकामा पक्की पुल निर्माणको माग सीमावर्ती भारतीय नागरिकले समेत राख्ने गरेका छन् तर अहिलेसम्म पुल निर्माणको काम हुन सकेको छैन। सीमा नाकामा मोटरेबल पक्की पुल नभएका कारण भरियाले बोकेरै पुल तार्नुपर्ने भएपछि सामान आयात निर्यात पनि महँगो गरेको छ। 

झुलाघाटमा पक्की पुल निर्माण भए बैतडीको स्थानीय उत्पादनको बजार विस्तार र धार्मिक पर्यटनको विकासका लागि महत्त्वपूर्ण नाका बन्ने देहिमाडौंका व्यापारी दीपक बोहराले बताए। उनले भने, ‘झुलाघाटमा पक्की पुल सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक विकाससँग जोडिएको छ। मध्य पहाडी लोकमार्गअन्तर्गतको अन्तिम विन्दु झुलाघाटमा पक्की पुल बनाउन सके भारतीय बजारमा थुप्रै नेपाली उत्पादन निर्यात गर्न सकिनेछ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.