|

अक्षयकुमार बलिउडका सबैभन्दा व्यस्त अभिनेताको रूपमा चिनिन्छन्। यो वर्ष मात्रै उनका पाँच फिल्म प्रदर्शनमा आइसकेका छन्। भने अर्को वर्षका लागि चार वटा फिल्म लाइनमा छन्। 

यो वर्ष अक्षयका लागि बिर्सनलायक रहे पनि उनले फरक–फरक जनराका दर्जनौँ हिट फिल्म दिएका छन्। बलिउडमा खेलाडीको उपनाम पाएका अक्षयलाई कमेडी फिल्ममा पनि दर्शकले उत्तिकै रुचाएका छन्। 

हेराफेरी, हाउसफुल, सिंग इज किङ, दे दनादन, भुल भुलैया, भागम् भाग, गरम मसला जस्ता फिल्ममा अक्षयको कमिक टाइमिङ र अभिनयलाई दर्शकले निकै रुचाएका थिए। तर, पछिल्लो समय दर्शकले अक्षयलाई त्यस्ता फिल्महरूमा देख्न पाएका छैनन्। बरू अर्का अभिनेता कार्तिक आर्यनले त्यस्ता पात्रहरूमा आफूलाई योग्य साबित गर्दै आएका छन्। 

सन २०११ मा प्यारका पन्चनामा नामक रोमान्टिक कमेडी फिल्मबाट बलिउडमा डेब्यू गरेका आर्यन पछिल्लो समयका सफल बलिउड अभिनेता मध्येमा गनिन्छन्। लुकाछुपी, पति पत्नी और वो, प्यारका पन्चनामा उनका कमेडी ड्रामा जनरामा बनेका सफल फिल्म हुन्। यो वर्ष ठूला बजेटमा बनेका बलिउड सुपरस्टारका फिल्म फ्लप हुँदा आर्यनको भुल भुलैया २ ले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो। 

आर्यनले फेरि एकपटक अक्षयको ठाउँ लिने देखिएको छ। अक्षयको सफल हरर कमेडी भुल भुलैयाको सिक्वेलमा अभिनय गरेर दर्शकको मन जितेका आर्यन अक्षयको अभिनय रहेको हेराफेरी फ्रेन्चाइजको तेस्रो फिल्ममा देखिने भएका हुन्। फिल्ममा अक्षय नरहने भएपछि निर्माण टोलीले आर्यनलाई प्रस्ताव गरेको हो। याे बाहेक अक्षयकाे दाेस्तानाकाे सिक्वेलमा पनि आर्यनलाई नै प्रस्ताव गरिएकाे थियाे।

हेराफेरी फिल्म खेल्दा अक्षय  ३२ वर्षका थिए। अहिले आर्यन ३२ औँ वर्षमा छन्। अहिले  अक्षयसँग जोडिएका फिल्महरू लगातार कार्तिक आर्यनलाई अफर हुँदै जानुले बलिउडले आर्यनलाई अक्षयको विकल्पको रूपमा खोज्ज थालेको संकेत गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.