|

काठमाडौं : निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ। निर्वाचनको माहोल तातिँदै जाँदा राजधानी काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको संख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। 

दैनिक १४ हजारभन्दा बढीले काठमाडौँस्थित आन्तरिक विमानस्थल प्रयोग गरिरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। ‘निर्वाचन नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ, यात्रुको चापले विमानस्थल भरिभराउ छ’, उनले भने। 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि मतदाता गन्तव्यमा पुग्नुपर्ने भएकाले अहिले यात्रुको भीडभाड बढेको हो। यात्रुको संख्या बढेपछि दशैँ तिहारमा जस्तै एयरलाइन्सको ब्यापार पनि बढेको छ।

वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले निर्वाचनको सन्दर्भमा आन्तरिक उडानमा केही चाप बढेको बताए। उनका अनुसार निर्वाचनअघि मंसिर १, २ र ३ गते तथा मतदानपछि मंसिर ५ र ६ गते उडानको चाप बढी हुने अनुमान गरिएको छ।

‘निर्वाचनअघिका ३ दिन र निर्वाचन पछिका २ दिन हवाई उडानमा अत्यधिक चाप हुनेछ, अहिले निर्वाचनको संघारमा पनि हवाई यात्रु बढेका छन्’, प्रवक्ता शर्माले भने।

निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सलगायत कम्पनीमा उडान चाप छ।

बुद्ध एयरका वरिष्ठ कार्यकारी प्रबन्धक पराशरजङ्ग पाण्डेले पछिल्ला दिन उडान चाप बढेको बताए। उनका अनुसार अहिले बुद्ध एयरका उडानमा औसत अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ। 

‘अहिले सामान्य अवस्थामाभन्दा केही यात्रुको संख्या बढेको छ, आगामी शुक्रबार र शनिबार संख्या अझ बढ्ने देखिएको छ’, उनले भने, ‘यी दुई दिनका लागि बुकिङ पनि बढेको छ।’

बुद्ध एयरले हाल दैनिक १ सय ५० उडानमार्फत् ७ हजार ५ सयभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ। कम्पनीसँग ७२ सिट क्षमताका ११ र ४५ सिट क्षमताका ३ गरी १४ वटा एटिआर र २ बिचक्राफ्ट गरी कूल १६ वटा जहाज छन्।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले निर्वाचनको संघारमा आन्तरिक उडानमा चहलपहल बढेको बताए। कम्पनीको अहिले उडान अकुपेन्सी ८५ देखि ९० प्रतिशत हाराहारीमा रहेको उनको भनाइ छ। 

तर पछिल्लो समय हवाई इन्धनका कारण टिकट मूल्य बढेकाले यसको विकल्प खोज्नेहरू पनि बढेको उनको भनाइ छ।

उनका अनुसार काठमाडौँदेखि नजिकको गन्तव्य मानिने सिमराका लागि न्यूनतम ३ हजार ६ सय र बढीमा ४ हजार १५ रूपैयाँ भाडा कायम छ। साथै काठमाडौँ–धनगढीका लागि अधिकतम १६ हजार रूपैयाँ भाडा तोकिएको छ। यती एयरलाइन्सले ६ वटा एटिआरमार्फत् सेवा दिइरहेको छ।  

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार अहिले आन्तरिक उडानमा सामान्य चाप छ। ‘निर्वाचनले उडानमा चाप बढेको छ तर धेरै चाप भने छैन’, उनले भने।

मंसिर ४ गते उडान नहुने

मतदानका दिन मंसिर ४ गते आन्तरिक उडानतर्फ नियमित उडान भने हुने छैन। उक्त दिन अत्यावश्यक र चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयको भनाइ छ। 

‘चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमतिमा हुनसक्छ तर नियमित उडान भने हुँदैन’, विमानस्थलका प्रवक्ता सिटौलाले भने। निर्वाचनका दिन अन्तरराष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन हुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.