काठमाडौं : मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वृद्धभत्ता खाने उमेरका ६८ जना उम्मेदवारहरू राजनीतिक लडाइँमा होमिएका छन्। प्रत्यक्षतर्फ ३१ र समानुपातिकतर्फ ३७ जना उम्मेदवारहरू ७० वर्ष माथिका छन्।
युवा नेतृत्वको माग पार्टीभित्र र बाहिरसमेत तीव्र भइरहेको बेला पहिलो हुने निर्वाचित हुने अर्थात् प्रत्यक्ष निर्वाचनमा वृद्धभत्ता खाइसेकाहरु पनि प्रतिस्पर्धामा रहेका हुन्।
प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारमा ७० वर्ष कटेका ३१ जना उम्मेदवार छन्। जसमा वर्तमान प्रधानमन्त्रीसम्म रहेका छन्। ७० वर्षमाथिका ९९ सय वर्षका पनि उम्मेदवार प्रतिस्पर्धामा छन्। ७० वर्ष नाघेका १० जना अर्थात् सबैभन्दा बढी ज्येष्ठ नागरिक उम्मेदवार स्वतन्त्र छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दीपक बोहोरासहित ७ जना ७० कटेकालाई उम्मेदवार बनाएको छ। यस्तै, नेपाली कांग्रेसका प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, डा. नारायण खड्का, डा. शेखर कोइरालासहित ४ जना वृद्धभत्ता खाइसकेकाहरु उम्मेदवार छन्।
डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउवा अझै प्रधानमन्त्री बन्ने चर्चामा छन्। योपटक प्रधानमन्त्री बने देउवा छैटौंपटक सरकारको नेतृत्वमा पुग्नेछन्। ज्योतिषले सातपटकसम्म प्रधानमन्त्री बन्ने देउवाको भविष्यवाणी गरेको चर्चा केही समयअघि चलेको थियो।
उदयपुरबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. नारायण खड्का हाल परराष्ट्रमन्त्रीसमेत छन्। मोरङ क्षेत्र नम्बर ६ बाट कांग्रेसकै ७२ वर्षीय डा. शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन्।
यस्तै, कांग्रेस विपीका पनि २ जना ७० वर्ष माथिका उम्मेदवार छन्। जनता समाजवादी १, मंगोल अर्गनाइजेन १, नेपाल क्युनिष्ट पार्टि माक्सवादी (पुष्पलाल ) को १, नेकपा एमाले १ र राष्ट्रिय जनमुक्तिका १ जना भत्ता खाइरहेका वृद्ध उम्मेदवार बनेका छन्।
प्रत्यक्षतर्फ सबैभन्दा ज्येष्ठ नागरिक गण्डकी प्रदेशअन्तर्गत गोर्खा जिल्ला क्षेत्र नम्बर दुईका उम्मेदवार छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा ९९ वर्षका टीकादत्त पोख्रेल उठेका हुन्। उनी नेपाली कांग्रेस बिपीको तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्।
अझ समानुपातिकको बन्दसुचीमा परेकाहरूमा ७० वर्ष नाघेका प्रत्यक्षमा भन्दा बढी छन्। दलहरुले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार ३७ जना ७० वर्ष माथिका छन्।
समानुपातिकको सूचीअनुसार सबैभन्दा ज्येष्ठ नागरिकमा कालिकोटका मानबहादुर बम र पाँचथरका मानबहादुर जवेगु छन्। उनीहरू दुवैजना ८४-८४ वर्षको उमेरमा चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
युवालाई स्थान दिएर आफूहरुले विश्राम लिनुपर्नेमा सेतै कपाल फुलेर पाके पनि र दाँतसमेत फुक्लेर कुरा नबुझ्ने भए पनि कुर्सी नछाड्ने प्रवृतिले डेरा जमाइरहेको देखिन्छ। यसलाई सकरात्मक रुपमा लिने हो भने ९९ सय वर्षसम्म पनि इच्छाशक्ति नमर्नुलाई राम्रै मान्न सकिन्छ। तर, द्रुत गतिमा विकास भइरहेको ज्ञान, विज्ञान र प्रविधिलाई बुढापाकाले भन्दा युवा पुस्ताले छिटो छरितो र प्रभावकारी योजनाकासाथ लागि अघि बढ्न सक्छन् भन्नेमा दुईमत छैन।
‘नो नट अगेन’ अभियनलाई पनि यसको अभिब्यक्तिको रुपमा लिने सकिने विश्लेषण छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।