|

रौतहट : वृन्दावन नगरपालिकामा मेयर र उपमेयरबीच विवाद चुलिएको छ। उनीहरू पत्रकार सम्मेलन गर्दै एकले अर्कोलाई दोषारोपण गर्दै आएका छन्।

केही दिन पहिला सो नगरपालिकाका मेयर विनोदप्रसाद कुर्मीले आफूसँग उपमेयरले मोटो रकम माग गरेको र नदिएपछि विभिन्न आरोप लगाएको बताएका थिए। त्यसलगत्तै शनिबार चन्द्रनिगाहपुरस्थित निजी निवासमा पत्रकार सम्मेलन गर्दै वृन्दावन नगरपालिकाकी उपमेयर संगीताकुमारी रामले मेयरले आफूमाथि लगाएको आर्थिक लाभको आरोप गलत रहेको बताइन्। 

'मेरो लडाइँ बजेटका लागि होइन, अधिकारका लागि हो’‚ मेयर विनोदप्रसाद कुर्मीले आफूमाथि गलत र निराधार आरोप लगाएको बताइन्। उपमेयर रामले भनिन् बजेट मेयरको घरको होइन, विकास निर्माणका लागि हो। बजेट मैले मेयरसँग माग गर्नुपर्दैन नियम प्रक्रियाअनुसार बजेट खर्च हुने हो', उपमेयर रामले भनिन्। नगरपालिकाको बैठकलगायत कुनै पनि कार्य सम्बन्धी जानकारी नै नदिई मेयरले मनपरी काम गरेको उनको भनाइ थियो।

मेयर कुर्मीले शुक्रबार पत्रकार सम्मेलनमार्फत दिएको वक्तव्यप्रति उनले खेद प्रकटसमेत गरेकी छन्। उनले भनिन्, 'मेयरले बोल्नु भएको कुरा सरासर निन्दनीय र अमर्यादित छ।'

मेयर र उपमेयरले संघ र प्रदेशले व्यवस्था गरेअनुसार सुविधा पाउनुपर्ने हो। सुविधा लिनुपरेमा कार्यपालिका बैठकबाट पारित गराउनुपर्ने हुन्छ। सेवा सुविधाको बारेमा मेयरले दिएको वक्तव्यप्रति उपमेयर रामले आपत्ति जनाएकी छन्।

उप मेयरका अनुसार उनले चुनावी दौडानमा मतदातालाई दिएको केही वाचा र आश्वासन पूरा गर्न केही योजना राखिदिन आग्रह गरेको बताइन्। मेयर कुर्मीले हाकिमलाई मिलाएर नगरपालिका सम्बन्धी हरेक कार्यमा आफूलाई छोडेर हिँड्न थालेको उनको गुनासो थियो।

बैंक स्टेटमेन्ट प्रशासकीय अधिकृतसँग माग गर्दा नदिएपछि आफूले लिखित रूपमा पनि माग गरेको बताएकी छन्।

न्यायिक समिति सचिवालयमा चाहिने कर्मचारीमध्ये कम्प्युटर अपरेटर र आवश्यक फर्निचरको साथै स्टेशनरी,कानुनका पुस्तकहरू आफूले लिखित रूपमा माग गरे पनि नगरप्रमुख कुर्मीले अटेरी गर्दै आएको उपमेयर रामको भनाइ छ। मेयरको रवैयाले नगरपालिका भ्रष्टाचारमा लिप्त हुने संकेत पनि झल्किन थालेको उपमेयर रामको भनाइ छ।

यता शुक्रबार वृन्दावन नगरपालिकाको कार्यालय विश्रामपुरमा पत्रकार सम्मेलन आयोजना गरी मेयर कुर्मीले उपमेयर नियमित रूपमा नगरपालिकाको कार्यमा सहभागी नहुँदा विकास निर्माण प्रभावित हुन पुगेको आरोप लगाएका थिए।

चालू आर्थिक वर्षको लागि छुट्याएको २९ करोड रकममध्ये ३ करोड निजी रूपमा सञ्चालन गर्न माग गर्दा विकासको योजना सञ्चालनबाहेक रकम भागबण्डा गर्न नसकिने जवाफ दिएपछि उपमेयर रामले आफ्ना समर्थकमार्फत सामाजिक सञ्जाल आरोप लगाउने कार्य गरेको टिप्पणी गरेका थिए।

मेयर र उपमेयरबीचको विवादका कारण उक्त नगरपालिकाको काम काज प्रभावित बन्दै जान थालेको स्थानीय बासिन्दाको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.