|

पर्वत : प्रत्यक्ष निर्वाचनमा प्रणालीमा महिला उम्मेदवारलाई प्राथमिकतामा नराख्दा समानुपातिकतर्फका अधिकांश पदमा महिला उम्मेदवारहरू परेका छन्।

कानुनमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत भएको हुनुपर्ने भनिएको छ। सोहीअनुसार ६० सदस्यीय गण्डकी प्रदेशसभामा ४० प्रतिशत सांसद समानुपातिक तर्फको मतका आधारमा चुनिन्छन्।

४० प्रतिशतअन्तर्गत २४ जना सांसदहरूले समानुपातिकतर्फबाट विभिन्न समूहको प्रतिनिधित्व गर्दै संसदमा प्रवेश गर्छन्।

प्रत्यक्षतर्फको निर्वाचनको बेलामा राजनीतिक दलहरू पुरुष उम्मेदवारमा केन्द्रित हुँदा समानुपातिकतर्फका अधिकांश सिटहरू भने महिला पक्षमा परेका छन्। प्रत्यक्षतर्फको निर्वाचन हाँक्न महिलालाई सकस पर्न सक्ने, क्षेत्रगत दौडाहामा समस्या आउन सक्ने तथा अन्य दलबाट उठेका पुरुष उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्न कठिनाइ अनुमानका आधारमा दलहरूले पुरुष उम्मेदवारहरूलाई रोजाई मा राख्दै आएका छन्।

तर, महिला सहभागिता ३३ प्रतिशत हुनुपर्ने नियमानुसार समानुपातिकतर्फका २४ सिटमध्ये १९ सिटमा महिला परेका छन्।

गण्डकी प्रदेश सभामा प्रत्यक्षतर्फका ३६ सिटमध्ये नेपाली काँग्रेसले १८, नेकपा (एमाले) ले १२, माओवादी केन्द्रले चार, नेपाल समाजवादी पार्टीले एक ठाउँमा जितेका छन्। एकजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। उनी मनाङ प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएपछि निर्विरोध निर्वाचित भएका दीपक मनाङे हुन्। तर उनी चुनावलगत्तै नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरिसकेका छन्।

प्रत्यक्षतर्फ नेपाली कांग्रेस सबैभन्दा ठूलो शक्ति बनेको भए पनि समानुपातिक प्रणालीअनुसार भने गण्डकीमा एमाले पहिलो बनेको छ। एमालेले १० जना सांसद पाउँदा कांग्रेसले ९ जना, माओवादीले ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ जना सांसद पाएको छ।

समानुपातिक प्रणालीबाट प्रदेश संसदमा छिर्नेहरूमा नेकपा (एमाले) बाट सांसद बन्नेहरू ६ जना रहेका छन्। उनीहरू बागलुङकी बिनाकुमारी थापा, कास्कीकी राजकुमारी भुजेल, देवका पहारी र नन्दकला दमाई, स्याङ्जाकी निर्मला थापा र लमजुङकी यशोदा रिमाल रहेका छन्। बाँकी रहेका ४ सिटमा भने पुरुष नै परेका छन्। उनीहरू बागलुङका लीलबहादुर थापा, गोविन्दबहादुर नेपाली, कृष्णप्रसाद पाठक र कास्कीका प्रकाशबहादुर के.सी रहेका छन्।

यस्तै, नेपाली कांग्रेसले समानुपातिकतर्फ पाएका ९ वटै सिटमा महिला राख्नुपर्ने बाध्यात्मक अवस्था रह्यो। प्रत्यक्ष निर्वाचनमा महिलालाई रोजाई मा नराखेको कांग्रेसले बागलुङबाट दिलमाया पौडेल विक र चम्पादेवी खड्का, म्याग्दीबाट  विमला गौचन, पर्वतबाट रेखा गुरुङ, कास्कीबाट सरस्वती गुरुङ, लमजुङबाट पार्वती तामाङ र टीकाकुमारी बस्याल र  स्याङ्जाबाट सरस्वती अर्याल तथा कल्पना तिवारी संसद् छिर्ने भएका छन्। नेकपा माओवादी केन्द्रले पाएका ३ वटै सिटमा पनि महिला नै राख्नुपरेको छ।

उनीहरू बागलुङबाट कुसुम बुढा, गोरखाबाट सुशीला सिंखडा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट दमयन्ती रुचाल रहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएका २ मध्ये एउटामा पुरुष र अर्कोमा महिला रहेका छन्। स्याङ्जाबाट पञ्चराम गुरुङ र लमजुङबाट विन्दु अधिकारी (पहाडी) संसद् छिर्ने भएका हुन्।

समानुपातिकतर्फ छानिएकामध्ये सबैभन्दा बढी बागलुङबाट रहेका छन्। प्रदेशका ११ जिल्लामध्ये बागलुङबाट राप्रपाबाहेकका तीनै दलले समानुपातिक सांसद चुनेका छन्। बागलुङपछि कास्कीबाट ५ जना सांसद बनेका छन्।

०७४ को निर्वाचनको तुलनामा एमाले, कांग्रेस र माओवादीले समानरुपमा समानुपातिक सांसद पाउँदा अघिल्लो पटक १÷१ सांसद पाएका राष्ट्रिय जनमोर्चा र तत्कालीन नयाँ शक्ति पार्टी नेपाल भने संसद् छिर्न नपाउने भएका छन्। थ्रेसहोल्ड कटे पनि हाम्रो नेपाली पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले भने आफ्नो भागमा सांसद पाउन सकेनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.