|

विराटनगर : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणाम आएसँगै यतिवेला प्रदेश १ मा सरकार बनाउन दलहरू दौडधुपमा व्यस्त भएका छन्।

प्रदेश १ मा कुनै पनि दलले बहुमत पाएको छैन। त्यसो हुँदा सरकार बनाउन अहिले सत्तारुढ गठबन्धन र प्रतिपक्षी दल नेकपा एमाले सांसदको जोडघटाउमा लागि परेका छन्।

प्रदेश १ मा ठूलो दल नेकपा एमाले बनेको छ भने दोस्रो ठूलो दल नेपाली काँग्रेस छ। माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो, पाँचौंमा एकीकृत समाजवादी र छैटौंमा जसपा रहेको छ। 

प्रदेश सरकारको साँचो जसपासँग

​प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङसँग सोमबार मुख्यमन्त्री राजेन्द्रकुमार राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले भेट गरेका छन्। प्रदेश १ सरकार गठनको मुख्य प्रवेशद्वारको साँचो जसपासँग भएकाले पनि यो भेट अर्थपूर्ण रहेको स्रोतले दाबी गरेको छ।

प्रत्यक्ष निर्वाचनतर्फ शून्य रहेको जसपाले समानुपातिकबाट एकजना सांसद पाएको छ। प्रदेश १ मा सत्तापक्ष र विपक्ष दुवैसँग बहुमत नभएकाले सरकार गठन गर्न मुख्य साँचो जसपाका तिनै एकजना सांसदको हातमा छ।

संघमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग चुनावी गठबन्धन गरेसँगै मन्त्रीबाट पदमुक्त गरे पनि प्रदेश १ मा भने हालसम्म पनि जसपालाई पदमुक्त गरिएको छैन।

जसपाबाट स्वास्थ्यमन्त्री रहेका जयराम यादवलाई प्रदेश सरकारले कुनै कारवाही नगरेको वा नचिढ्याएका कारण पनि जसपाले प्रदेश १ सरकारलाई समर्थन गर्न सक्ने आँकलन छ।

मन्त्री यादव नेपाली काँग्रेसका नेता अमृत अर्यालसँग पराजित भए। यादव अहिले पनि बहालवाला मन्त्री नै छन्। यतिवेला सरकार गठनका लागि सत्ता पक्षीय र विपक्षी दलका नेता राप्रपा र जसपाका नेता फकाउने दौडमा छन्।

अहिले दुवै गठबन्धनका नेताले राप्रपा र जसपाका नेता फकाइरहेका छन्। संघमा कस्तो समीकरण बन्छ त्यही समीकरण प्रदेशमा बन्ने भएकाले प्रदेश सरकार कसको बन्ने भन्ने अन्योल कायम छ । 

अशोकले गर्दा फेरियो उपेन्द्रको बोली 

केही दिनअगाडि जसपा अध्यक्ष उपेन्द्र यादवले पत्रकारसँगको कुराकानीमा एमालेसँग सहकार्य सकिएको बताएका थिए।

उनले त्यसो भनिरहँदा सत्ता गठबन्धनले केही राहत महशुश गरेको भए पनि उनको बोली जसपाका संघीय परिषद अध्यक्ष तथा सुनसरी क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अशोक राईले फेर्न लगाएसँगै सत्ता गठबन्धनलाई झट्का लागेको छ।

उपेन्द्रको बोली फेरिएपछि एमालेले केही राहत अनुभूत गरेको छ। राईले केही दिनअगाडि पत्रकारसँगको कुराकानीमा नै यादवको भनाई व्यक्तिगत भएको बताएका थिए।

यसो भन्छन् मुख्य दलका नेता

नेपाली काँग्रेसका नेता एवम् प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की प्रदेश सरकार गठबन्धनकै बन्ने दाबी गर्छन्।

सरकार गठनको प्रक्रिया थाल्ने‚ सरकार बनाउने भनेर नै गठबन्धन गरिएको बताएका उनले गठबन्धनभन्दा दायाँबायाँको सरकार नबन्ने दाबी उनले गरे। उनले भने, ‘तर गठबन्धनभित्र कुन दलको सरकार बन्ने भन्ने राजनीतिक निर्णय हुन बाँकी रहेको छ।’

माओवादी केन्द्रका नेता एवम् आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले ​प्रदेश १ मा गठबन्धनको सरकार बन्ने र यसमा केन्द्रीय भागबन्डाले अर्थ राख्ने भएकाले राप्रपा र जसपासँग सरकार गठनबारे छलफल भइरहेको बताए। 

जसपा नेता एवम् स्वास्थ्यमन्त्री यादवले प्रदेश १ सरकार निर्माणको बाटो खोल्ने मुख्य साँचो जसपासँग रहेको र कताको ताल्चा खोल्ने भन्ने निर्णय भइनसकेको बताए।

‘प्रदेश १ मा सरकार गठन गर्न दुवै गठबन्धनको भोटे ताल्चा खोल्ने मास्टर चाबी हामीसँग छ,’ उनले भने, ‘अब हेरौँ  कतापट्टिको खोल्ने निर्णय हुन बाँकी छ।’

उनले ठूला दलले आफ्नो दलको गतिविधि टुंगो लागेपछि सरकार गठनको प्रक्रिया शुरु हुने उनले बताए। उनले दुवै गठबन्धनबाट औपचारिक र अनौपचारिक कुरा आए पनि ठूला दलले संसदीय दलको नेता टुंगो नलगाउन्जेल जसपाले निर्णय गर्न नलिने बताए।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वकानुनमन्त्री समेत रहेका हिक्मतकुमार कार्की प्रदेश १ मा एमाले ठूलो दल भएकाले एमालेकै सरकार बन्ने दाबी गर्छन्। उनले कुनै पनि दलसँग बहुमत नभएकाले आफूहरूले बहुमत जुटाएर भए पनि एमाले सरकार गठन गर्न सक्ने बताए।

‘सत्ता गठबन्धनको बहुमत आएको छैन‚ ३० प्रतिशत काँग्रेसले जितेको छ। अझै २ सिट पुगेको छैन त्यही पनि उहाँहरूको नेतृत्वमा सरकार बन्छ भन्ने हल्ला भएको छ‚’ उनले दाबी गरे, ‘सत्ता गठबन्धनसँग बहुमत छैन त्यही कुरालाई आधार मान्ने हो भने राप्रपा, जसपा र एमालेले सँगै चुनाव लडेका छौँ‚ हाम्रो स्पष्ट बहुमत छ। त्यसैले हाम्रो नेतृत्वमा सरकार बन्छ। ’

यस्तो छ दलहरूको सांसद संख्या

प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ वटामा उम्मेदवारी दिएको एमालेले २५ सिट जितेको छ। समानुपातिकमा पनि १५ सिट पाएपछि प्रदेश १ मा एमालेको ४० सिट हुनेछ।

नेपाली काँग्रेसले प्रत्यक्षमा १७ सिट जित्दा समानुपातिकमा १२ सिट पायो। प्रदेश १ मा प्रत्यक्ष र समानुपातिक गरी २९ सिटसहित काँग्रेस दोस्रो ठूलो दल बनेको छ। 

नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ९ सिट जित्दा समानुपातिकमा ४ सिट मात्र पाएको छ। प्रत्यक्ष र समानुपातिक गरी माओवादीले प्रदेश १ मा १३ सिटसहित तेस्रो पार्टी बनेको छ।

राप्रपाले प्रत्यक्षमा २ सिट जित्दा समानुपातिकमा ४ सिट जितेको छ। अघिल्लो निर्वाचनमा १ जनामात्र सांसदले प्रतिनिधित्व गरेको राप्रपाबाट यो पटक भने ६ जनाले प्रदेशसभामा प्रतिनिधित्व गर्नेछन्।

अघिल्लो निर्वाचनमा प्रत्यक्षबाट १ जना र समानुपातिकबाट २ जनाले प्रतिनिधित्व गरेको जनता समाजवादी पार्टी (जसपा) भने यो निर्वाचनमा खुम्चिएको छ।

जसपाले प्रत्यक्षतर्फ एउटा सिट पनि जित्न सकेन तर समानुपातिकतर्फ भने १ सिट पाएको छ।

एमालेबाट छुट्टिएर गठित एकीकृत समाजवादीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ भने समानुपातिकतर्फ १ सिट पाएको छ। 

योसँगै ९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सिट हुने भएको छ। प्रदेश सरकार बनाउन आवश्यक बहुमत ४७ सिट कुनै पनि दलसँग छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.