|

काठमाडौं : हाल नेपालमा रहेका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमध्ये सबैभन्दा उत्कृष्ट सेवा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रहेको पाइएको छ।

हाल नेपालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी देशभरि ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन्।

हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको सबै सघीय सरकारी अस्पताल तथा देशभित्रका सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठकमा आव ०७८/७९ को प्रगति विवरण पेश गरिएको थियो।

त्यसमा ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि आफ्नो वार्षिक विवरण पेश गरेका थिए। यसरी ६ वटा प्रतिष्ठानले पेश गरेको विवरणका आधारमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा उत्कृष्ट देखिएको हो।

विपी प्रतिष्ठान तथा शिक्षण अस्पताल धरानमा एक वर्षमा ४ लाख ८१ हजार ५१५ बिरामीले ओपिडी सेवा लिएका छन्।

त्यसैगरी ६९ हजार ६८१ जनाले आकस्मिक सेवा र ४२ हजार ९४८ बिरामी भर्ना भएर उपचार सेवा लिएका छन्। प्रतिष्ठानहरूमध्ये सबैभन्दा बढी बिरामी उपचार गर्नका लागि पनि वीपी प्रतिष्ठानमा नै आएको देखिएको छ।

प्रतिष्ठानहरूतर्फको प्रस्तुतकर्ता डा रमेश कँडेलका अनुसार दोस्रोमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), तेस्रोमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौथोमा पोखरा, पाँचौंमा राप्ती र छैटौंमा कर्णाली रहेका छन्।

न्याम्समा गत आवमा ३ लाख ७९ हजार ८५३ जनाले ओपिडी सेवा लिएका छन्। आकस्मिक सेवा लिनेको संख्या ३७ हजार ४९४ रहेको छ। १५ हजार ६२३ जनाको भर्ना गरेर उपचार गरिएको छ।

तेस्रो बढी बिरामीको उपचार गर्ने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ। पाटनमा पछिल्लो एक वर्षमा ३ लाख १७ हजार १४ जनाले ओपिडी सेवा लिएको विवरणमा उल्लेख छ। तर इमर्जेन्सी र आइपिडी (इनप्यासेन्ट डिपार्टमेन्ट) सेवा लिनेको संख्या वीरमा भन्दा पाटनमा बढी देखिएको छ।

पाटनमा पछिल्लो एक वर्षमा ४१ हजार ३३८ जनाको इमर्जेन्सीमा उपचार गरिएको थियो भनर् २० हजार ५४८ जनाले आइपिडी सेवा लिएका छन्।

पाटनपछि बढी उपचार हुने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ। पोखरामा सोही अवधिमा २ लाख ७२ हजार ३५९ जनाले ओपिडी सेवा लिएका छन्। ४० हजार ७३९ जनाले इमर्जेन्सी र २० हजार ४६६ जनाले आइपिडी सेवा लिएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो एक वर्षमा ६८ हजार ४२७ जनाले ओपिडी सेवा लिएका छन्। सो प्रतिष्ठानमा आकस्मिक सेवा लिनेको संख्या ८ हजार १८९ रहेको छ। ६ हजार १५२ जनाले भने आइपिडी सेवा लिएका छन्।

६ वटा प्रतिष्ठानमध्ये सबैभन्दा कान्छो प्रतिष्ठान मानिएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो एक वर्षमा ८६ हजार ९३६ जनालाई ओपिडी सेवा दिएको छ भने १५ हजार ९७६ जनाले इमर्जेन्सी र ६ हजार ७०४ जनाले आइपिडी सेवा लिएको प्रतिष्ठानले पेश गरेको विवरणमा उल्लेख छ।

प्रतिष्ठानहरूमा हुने चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रममा पनि वीपी प्रतिष्ठान नै अगाडि  रहेको देखिएको छ। वीपीमा हाल चिकित्सा शिक्षाका विभिन्न विधाका ९ वटा शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन्।

वीपीपछि शैक्षिक कार्यक्रम धेरै सञ्चालन गरेको पाटनमा देखिन्छ। पाटनमा हाल ६ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन्।

पाटनपछि न्याम्समा ५ वटा शैक्षिक कार्यक्रम सञ्चालित छन् भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३, राप्ती स्वास्थ्य प्रतिष्ठानमा ४ र कर्णाली प्रतिष्ठानमा पनि ४ वटा शैक्षिक कार्यक्रम सञ्चालित छन्।

यस्तो छ अस्पतालमा हुने मृत्युदर

उपचारमा आउने बिरामीको न्यून मृत्यु हुने प्रतिशतमा पनि वीपी पहिलो नम्बरमा छ। अस्पतालमा उपचार गराउन आएकामध्ये १ दशमलव ३ प्रतिशत बिरामीको मात्र मृत्यु भएको सो प्रतिष्ठानको तथ्यांकमा उल्लेख छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्युदर २ दशमलव ४ प्रतिशत रहेको छ।

मृत्युदर थोरै भएका अन्यमा राप्ती र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ प्रतिशत, पोखरा र कर्णालीमा २ दशमलव ४ प्रतिशत र न्याम्समा २ दशमलव ७ प्रतिशत रहेको छ।

सबैभन्दा धेरै शल्यक्रिया पाटनमा

प्रतिष्ठानहरूको विवरणअनुसार ६ वटा स्वास्थ्य विज्ञान प्रष्तिष्ठानमध्ये विभिन्न प्रकारका रोगहरूको शल्यक्रिया हुने दर सबैभन्दा बढी रहेको प्रतिष्ठान भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (५५ प्रतिशत) रहेको छ।

तर सबैभन्दा थोरै शल्यक्रिया कर्णाली प्रतिष्ठानमा (१६ दशमलव ४९ प्रतिशत) रहेको छ। वीपीमा शल्यक्रिया हुने दर ४० दशमलव २० रहेको छ भने पोखरा प्रतिष्ठानमा ३० दशमलव ७९ प्रतिशत रहेको छ।

बेड अकुपेन्सी दर राप्तीमा धेरै‚ कर्णालीमा थोरै

६ वटा प्रतिष्ठानमध्ये बेड अकुपेन्सी दर सबैभन्दा बढी ६९ प्रतिशत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पाइएको छ । दोस्रोमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान देखिएको छ। सो प्रतिष्ठानमा ६८ प्रतिशत अकुपेन्सी दर रहेको छ। तेस्रोमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ६२ दशमलव ८ प्रतिशत रहेको छ।

चौथोमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ६० प्रतिशत, पाँचौंमा न्याम्स ४८ दशमलव २ प्रतिशत र छैटौँमा कर्णाली ४५ दशमलव ३ प्रतिशत रहेको छ।

बिरामी उपचारका लागि अस्पताल बसाईको अवस्था भने वीरमा धेरै देखिएको छ। वीरमा भर्ना भएका एकजना बिरामी औसतमा ६ दशमलव ९ दिन बसेर उपचार गरेको पाइएको छ।

दोस्रोमा पाटन ६ दिन, वीपीमा ५ दशमलव ३ दिन, कर्णालीमा ५ दशमलव १ दिन, राप्तीमा ५ दिन र पोखरामा ३ दशमलव ९ दिन रहने गरेको देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.