विकासले एक गोली छले, अर्कोमा ढले

|

धनगढी : कैलालीमा आइतबार बेलुकी गोली चल्यो। जिल्लाको अत्तरियास्थित गोदावरी नगरपालिका-२ को सशस्त्र प्रहरी क्याम्पअगाडि गोली चलेको थियो। प्रहरीका अनुसार अत्तरिया र सुखडमा पसल राखेर सुनचाँदी व्यवसाय गर्दै आएका २८ वर्षीय विकास सुनारमाथि २ राउण्ड गोली बर्सिएको थियो।

सुनारको पसल दुई ठाउँमा भएकाले उनी दिउँसो सुखड र राति अत्तरियामा बस्छन्। अरु दिनजस्तै हिजो (आइतबार) पनि बेलुका करिब ६ बजे पसल बन्द गरेर उनी सुखडबाट अत्तरियातिर लागे। उनी आफ्नो प्रदेश ३ ०२०११ प ७३५० नम्बरको निजी मोटरसाइकलमा अत्तरियातर्फ आइरहेका थिए।

करिब ६ बजेर २० मिनेटमा उनी गोदावरी नगरपालिका-२ स्थित सशस्त्र प्रहरीको सुदूरपश्चिम मुख्यालयनजिकै पुगेका थिए। त्यत्तिकैमा पूर्वबाट पश्चिमतर्फ एउटा सेतो कलरको अपाचे मोटरसाइकल (नम्बर नखुलेको) मा  दुईजना अज्ञात व्यक्ति आए। विकासको मोटरसाइकलनजिक आइपुगेपपछि ती दुईजनाले  विकासमाथि गोली चलाए। 

गोली हान्नेहरूको खोजतलास भइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले घाइते विकासमाथि २ गोली चलाइएको जानकारी दिए।

उनले भने, ‘घाइतेले हामीसँग २ गोली चलेको भनेर भनेका छन्। पहिलो गोली प्रहार गर्दा उनी छल्न सफल भएछन्। तर पुनः दोस्रो गोली प्रहार हुँदा उनको दायाँ पाखुरामा गोली लागेछ। दोस्रो गोलीमा उनी बाइकबाट ढलेछन्।’ पाखुरामा गोली लागेका उनको ढाड पनि चोट लागेको जोशीले बताए।

गोलीको आवाज सुनेपछि स्थानीय र प्रहरी त्यहाँ पुगेका थिए। त्यसपछि विकासको उद्धार गरेर उपचारका लागि धनगढी ल्याइएको थियो। विकासको अहिले धनगढीस्थित मायामेट्रो अस्पताल उपचार जारी छ। उनी खतरामुक्त रहेको भए पनि डिस्चार्ज भने नभएको प्रहरीले जनाएको छ।

विकासमाथि गोली चलाउनेहरू राति नै फरार भएको र खोजी तीव्र पारेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनीमाथि कसले र किन गोली चलाए खुल्न बाँकी रहेको छ।

घटनाको अनुसन्धान र अभियुक्तहरूको खोजीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीका फरकफरक टोली खटिएका छन्।

३५ तोला सुन लुटिएको दाबी

गोली लागेर घाइते भएका व्यवसायी विकासले आफ्नो साथमा रहेको सुन लुटिएको दाबी गरेका छन्। घाइते सुनारले आफूसँग करिब ३५ तोला सुन (तयार सुनका गहना) रहेको र उक्त सुन तिनै बन्दुकधारीले लुटेर भागेको दाबी गरेका हुन्।

प्रहरीसमक्ष विकासले आफूलाई लुटपाट तथा ज्यान मार्ने किसिमले नै आक्रमण भएको बताएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए।

के गर्दैछ प्रहरी?

प्रहरीले लुटेराहरूको पहिचानका लागि सुनचाँदी पसलदेखि गोली प्रहार भएको ठाउँका सिसिटिभी क्यामेरा फुटेजको समेत अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा गोली लागेका विकासलाई गोली चलाउनेहरूले (सुखड) पसलबाटै पिछा गर्दै आएको खुलेको बताएको छ।

घटनामा सुनारकै साथी तथा निकटस्थहरू संलग्न रहेको प्रहरीको आशंका छ। प्रहरीले मसिनो रुपमा अनुसन्धान गरिरहेको छ। घाइते विकासको पसलमा यसअघि पनि चोरी भएको थियो।

त्यसवेला उनले इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी पनि दिएका थिए तर त्यसको अनुसन्धान अहिलेसम्म पनि सकिएको छैन।

तर्सिए व्यवसायीहरू, पसलमा ताला

गोली प्रकरणपछि कैलालीको अत्तरिया क्षेत्रका व्यवसायीहरू त्रसित भएका छन्। उनीहरूले दिनदहाडै व्यापारीमाथि गोली चलाउनु गम्भीर विषय भएको भन्दै असुरक्षित महसुस गरेको बताएका छन्।

यतिमात्र होइन, असुरक्षा बढेको भन्दै अत्तरियाका सुनचाँदी व्यवसायीहरूले पसल नै बन्द गरेका छन्। गोली चलेको घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा नल्याएसम्म व्यवसायीहरू सुरक्षित नहुने सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष कमलप्रसाद लामिछानेले बताए।

उनले उक्त घटनापछि अरु व्यवसायीहरू पनि असुरक्षित रहेको दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.