|

विराटनगर : प्रदेशसभा सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणको मिति तय गरेसँगै दलहरू यतिवेला संसदीय दलको नेता छान्ने दौडमा छन्। ​प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहणका लागि मंगलबार आह्वान गरेका थिए। 

त्यसो त केन्द्रीय समीकरण कुरेर बसेका प्रदेशमा दलहरूले संसदीय दलको नेता चयन गर्न ढिलाइ गरिरहेका छन्। योसँगै केन्द्रमा दलहरूले शक्ति बाँडफाँटको सहमतिले पनि प्रदेशमा प्रभाव पर्ने हुँदा दलको नेता कसरी चयन गर्ने भन्नेमा दोधार भइरहेका छन्। पछिल्लो समय प्रदेश १ को राजनीतिक अवस्था रोचक छ। 

९३ सांसद रहेको प्रदेश १ प्रदेशसभामा जसपाकी एक्ली सांसद प्रदेश सरकार गठनको निर्णायक भूमिकामा उभिएकी छिन्। उनले जुन दललाई समर्थन गर्छिन् उही दलको सरकार गठन हुन्छ। तर प्रमुख दलहरूले संसदीय दलको नेता चयन नगरेसम्म कुनै प्रतिक्रिया दिन नसक्ने धारणा राख्दै आइरहेको जसपाले अहिलेसम्म कुन दललाई समर्थन जनाएर अघि बढ्ने टुंगो लागिसकेको छैन।

केन्द्रको समीकरण र निर्देशन कुरेर बसेका प्रदेशस्थित दलहरूका प्रदेश सांसदहरूले पुस ११ गते शपथ लिँदै छन्।

कुन दलको के छ अवस्था?

एमाले

प्रदेश १ मा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेमा संसदीय दलका बलियो उम्मेदवार पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका हिक्मतकुमार कार्कीले सहमतिका साथ दलको नेताको नाम पेश गर्ने बताउँदै आइरहेका छन्।  एक साताभित्र दलको नेता चयन गर्ने एमालेको तयारी छ।

२५ जना प्रत्यक्ष र १५ जना समानुपातिक प्रणालीबाट निर्वाचित गरी एमाले प्रदेश संसदीय दलमा ४० सदस्य छन्। एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका कार्की हालसम्म संभवतः दलको नेतामा एक्लो दाबेदारसमेत हुन्। उनलाई दलभित्र चुनौती दिन अहिलेसम्म कोही खुलेका छैनन्।

काँग्रेस

प्रदेश १ प्रदेशसभामा दोस्रो ठूलो दल रहेको काँग्रेसमा भने मुख्यमन्त्रीको अपेक्षासहित संसदीय दलको नेता बन्ने दौडमा प्रतिस्पर्धी धेरै देखिने भएका छन्।गठबन्धनमा सबैभन्दा ठूलो दल बनेका काँग्रेस ठूलो दल भएकै कारण प्रदेशको नेतृत्व काँग्रेसको हुनुपर्ने आशासहित काँग्रेसभित्र प्रतिस्पर्धी धेरै छन्।

प्रत्यक्ष निर्वाचनमा १७ र समानुपातिक प्रणालीमा १२ गरेर २९ जना सांसद भएको काँग्रेसमा दलको नेताको दौडमा ४ जना देखिएका छन्। संसदीय दलको नेतामा प्रतिस्पर्धाको मैदानमा वर्तमान मन्त्रीदेखि पूर्वनगर प्रमुखसम्म रहेका छन्।

जसमा प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्यहरू अमृत अर्याल र भीम पराजुली तथा हालका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की दलको नेता बन्ने दौडमा छन्। कार्की शेखर कोइराला पक्षका हुन् भने थापा, अर्याल र पराजुली संस्थापन पक्षका हुन्। प्रदेश सभापति थापा कृष्णप्रसाद सिटौला समूहका हुन्।

प्रदेश सभापतिसमेत रहेका नवनिर्वाचित सांसद थापाले पुस ९ वा पुस ११ मा दलको नेता चयन प्रक्रिया शुरु जानकारी दिए। काँग्रेसभित्र दलको नेताका आकांक्षी धेरै भएका कारण पनि निर्वाचनबाटै त्यसको छिनोफानो हुने सम्भावना बढी देखिएको काँग्रेसका नेताहरू बताउँछन्।

मतदाता नामावली प्रकाशनदेखि मतदानसम्मको कार्यक्रम बैठकले तय गर्ने थापाले जानकारी दिए।

काँग्रेसमा यस्तो छ स्थिति

काँग्रेस प्रदेश १ मा संस्थापन पक्षमा १२, कोइराला पक्षमा ८ र सिटौला समूहका ९ जना छन्। यस आधारमा हेर्दा सिटौलासहितको संस्थापन पक्ष प्रदेशमा बलियो देखिन्छ।

सिटौला पक्ष दोश्रो स्थानमा छ भने  कोइराला पक्ष कमजोर देखिएको छ। अर्थात तेश्रो स्थानमा  देखिएको छ कोइराला पक्ष।

माओवादी केन्द्र

केन्द्रमा प्रतिनिधिसभा सदस्यको शपथपछि मात्रै नेता चयन गर्ने भएपछि तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यको शपथपछि मात्रै दलको नेता छान्ने तयारी गरेको छ।

प्रत्यक्षबाट ९ र समानुपातिक प्रणालीबाट ४ गरी १३ जना सदस्य रहेको माओवादी संसदीय दलभित्र अहिलेसम्म इन्द्रबहादुर आङबो एक्ला दाबेदार देखिन्छन्। शुरुका ३ वर्ष र राजेन्द्र राई नेतृत्वको सरकार बनेयता लगातार आर्थिक मामिलामन्त्री रहेका उनी पार्टीका सबैभन्दा सिनियर नेतासमेत भएकाले उनी नै नेता चुनिने माओवादी नेताहरू बताउँछन्।

राप्रपा, जसपा र एकीकृत समाजवादी

चौथो ठूलो दल रहेको  राप्रपामा प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी ६ जना सांसद छन्।

राप्रपा संसदीय दलले ‘२/३ दिनभित्र नेता चयन गर्ने’ जानकारी सांसद सविना बजगाइँले दिइन्। उनका अनुसार पार्टीका केन्द्रीय प्रवक्ता भक्ति सिटौला दलको नेता चयन हुनेछन्।

४ जना सांसद रहेको पाँचौं ठूलो दल नेकपा एकीकृत समाजवादीमा दलको नेतामा मुख्यमन्त्री राजेन्द्र राई नै रहने निश्चितजस्तै देखिएको छ।

३ प्रत्यक्ष र १ समानुपातिक गरी ४ जना सांसद रहेको एकीकृत समाजवादीमा दलको नेतामा मुख्यमन्त्री राई नै चयन हुने निश्चित रहेको समाजवादीका नेताहरू बताउँछन्। यता, जनता समाजवादीसँग एकजना मात्रै सांसद रहेका कारण निर्मला लिम्बू नै दलको नेता हुने छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.