|

बागलुङ : गत वर्षको तुलनामा यस वर्ष झण्डै २०० हेक्टरभन्दा बढी जमिनमा रोपाइँ भएको थियो। समयमै वर्षा हुँदा बागलुङका किसानले असार र साउनमै रोपाइँ गरे। रोपाइँपछि पनि नियमित वर्षात हुँदा खेतमा लगाएको धान सप्रियो, किसान खुशी भए। जब धान पाक्यो र भित्र्याउने वेला भयो‚ तब बेमौसमी वर्षा भयो। लगातारको वर्षाले भित्र्याउनै आँटेको धानमा क्षति पुग्दा जिल्लामा धान उत्पादनमा गिरावट आयो।

मध्यपहाडी जिल्ला भए पनि यहाँ विगतमा राम्रो धान उत्पादन हुन्थ्यो तर यस वर्ष उत्पादनमा कमी आउँदा किसान मर्कामा परेका छन्। जिल्लामा यस वर्ष ५ प्रतिशतले धान उत्पादनमा कमी आएको छ।

बागलुङ नगरपालिका–४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षहरूमा १२ मुरी धान उत्पादन भएकोमा यस वर्ष भित्र्याउने वेलामा परेको पानीले क्षति पुर्‍याएकाले ७ मुरीमात्र स्यारेको बताउँछिन्।

केसी भन्छिन्‚ ‘यसपाला धान निकै राम्रो भएको थियो, पोहोर परार सालको भन्दा धेरै नै उत्पादन हुने आश थियो तर पाकेको धान स्यार्ने वेला एक्कासी एक साता पानी पर्दा धेरै नोक्सान भयो। धान सबै खेतभरि भएको थियो, न उठाउन मिल्ने न टिप्न, हामी किसानलाई वर्षाले रुवाउनु रुवायो।’

अहिलेको भन्दा अघिल्ला सालमा झण्डै दोब्बरले धान उत्पादन हुँदासमेत खाद्यान्न किनेर खानु परेको उनले सुनाइन्। ‘पहिला–पहिला अहिलेको भन्दा धेरै धान फल्थ्यो र त दोकाने चामल किनेर खानु पर्थ्यो, अहिले त झन् निकै कम उत्पादन भएको छ, बाहिरबाट आएकै चामलले वर्ष गुजार्नु पर्ने भयो‚’ केसीले भनिन्।

स्थानीय हरिप्रसाद सापकोटाले धानबालीमा ठूलो क्षति पुगेको भन्दै अहिलेसम्म राहत पाउन नसकेको गुनासो गरे। उनले बेमौसमी वर्षाका कारण यस वर्ष दोब्बरले धान उत्पादनमा कमी आएको बताए। असोज अन्तिम साताको वर्षाले आफ्नो ५० प्रतिशत धान नोक्सान भएको गुनासो उनले गरे।

सापकोटाले भने‚ ‘यो वर्ष बेमौसमको वर्षाले किसानलाई धेरै दुःखी बनायो। बर्खाभरि दुःख गरेर धान लगाइयो, भित्र्याउने वेला पानीले खत्तम बनाइदियो, यसपाला धान धेरै फलेको थियो। सिंचाइ पनि राम्रो भएको थियो तर काट्ने वेला हप्ता दिन झरी पर्दा नोक्सान बेहोर्नु पर्‍यो।’

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बेमौसमी वर्षाका कारण बागलुङका किसानले समस्या भोग्नु परेको बताए। उनले यस वर्ष धान उत्पादन ५ प्रतिशतभन्दा बढीले घटेको बताए। अहिले पनि बागलुङ धानमा आत्मनिर्भर नरहेको भन्दै त्यसमाथि वर्षाले नोक्सानी गरेको उनको भनाई छ।

‘यस वर्ष धान राम्रो हुन्छ भन्ने आँकलन हामीले गरेका थियौँ, किनकि समयमै वर्षा भएको थियो। त्यसले गर्दा सिँचाइ पर्याप्त भएको थियो, अलिकति धाउन रोपाइँको क्षेत्र पनि बढेको थियो‚’ प्रमुख भट्टराईले भने‚ ‘जिल्लाको सबै ठाउँमा होइन केही ठाउँमा धेरै नै क्षति पुगेको थियो।’

गत वर्ष जिल्लाभर ५ हजार ८ सय हेक्टरमा धान लगाइएकोमा यस वर्ष ६ हजारभन्दा बढी हेक्टरमा रोपाइँ भएको थियो। सिँचाइ राम्रो भएपछि जिल्लामा धान उत्पादन बढ्ने आँकलन गरिएको उनको भनाई छ।

अघिल्लो वर्ष १८ हजार ३५४ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १८ हजार ६९० मेट्रिक टन धान उत्पादन भएको भट्टराईको भनाई छ। तुलनात्मक रुपमा केही बढेको देखिए पनि खेतीको क्षेत्रफल बढ्दा उत्पादन पनि बढ्नु पर्ने हो तर त्यसो हुन सकेन।

बागलुङमा ४६ हजार १४८ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ३० हजार ५२३ हेक्टरमा मात्रै खेती हुँदै आएको छ। ६ हजार १४८ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ। त्यसमध्ये बाह्रै महिना सिँचित क्षेत्र २ हजार ७७५ हेक्टर रहेको छ। वर्षेनी बागलुङमा रोपाइँ गर्ने क्षेत्रफल बढ्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.