|

काठमाडौँ : नेपाल सरकारले कोभिड १९ संक्रमण जोखिम पुनः बढ्दै गएको भन्दै तत्काल बुस्टर डोज लगाउन आग्रह गरेको छ। यद्यपि सरकारले १८ वर्षमाथि उमेरका व्यक्तिले लगाउने बुस्टर डोज आफूसँग नभएको पनि स्वीकार गरेको छ।

चीन र भारतमा कोरानाको नयाँ प्रजाति ‘बिएफ ७’को संक्रमण बढेपछि नेपाल सरकारले कोरोना खोपको अतिरिक्त (बुस्टर डोज) खोप लगाउन भनेको हो।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै छिमेकी देशमा कोभिड १९ संक्रमण बढ्दै गएको हुँदा नेपालमा पनि जोखिम बढ्दै गएको हुनाले बुस्टर डोज खोप लगाउन आह्वान गरेको हो।

मन्त्रालयले शनिवार जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘कोरोना खोपका अतिरिक्त (बुस्टर डोज) लगाउन बाँकी भएकाले स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गरेर खोप लगाउन स्वास्थ्य मन्त्रालय अपिल गर्दछ।’

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार हाल केन्द्रीय भण्डारण केन्द्र, प्रदेश, जिल्ला स्थानीय खोप केन्द्र गरी नेपालमा ४७ लाख ६८ हजार खोप मौज्दात छ। तीमध्ये ४० लाख सिनोफाम, २ लाख ८० हजार भेरोसेल र बालबालिकालाई लगाउन मिल्ने फाइजर ४ लाख ८० डोज रहेको छ।

हाल मौज्दात भेरोसेल र फाइजर खोप पहिलो र दोस्रो डोजका लागि  यो खोप प्रयोग गर्न मिल्ने भए पनि यो खोप पनि निकै कम मात्रामा रहेको हो। 

चीनबाट आएको उक्त ४० लाख डोज सिनोफाम खोप प्रयोग गर्न मिल्दैन। हाल नेपालमा पहिलो र दोस्रो डोज खोप प्रायः सबैले लगाएको हुँदा चीनबाट आएको उक्त  ४० लाख डोज सिनोफाम खोप बुस्टर डोजको रूपमा लगाउन नमिल्ने हुँदा हाल उक्त खोप  व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति व्यवस्था शाखा अन्तर्गत केन्द्रीय भण्डार कक्षमा थन्किएर बसेको छ।

सिनोफाम खोप विश्व स्वास्थ्य संगठनले पनि बुस्टर डोजको रूपमा प्रयोग गर्न अनुमति हालसम्म दिएको छैन। राष्ट्रिय खोप सल्लाहकार समितिले पनि अनुमति दिएको छैन। त्यसकारण यो खोप यत्तिकै गोदाममा थन्किएको हो।

गत चैतमा चीन सरकारले उक्त खोप अनुदान स्वरूप नेपाललाई दिएको थियो।

विज्ञहरूले उक्त खोप नल्याउन सुझाव दिए पनि शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै चीन सरकारले सहयोग खोप अनुदान दिने घोषणा गरेको हुँदा उक्त खोप नेपालले स्वीकारेर ल्याउन दबाव दिएको थियो। त्यसपछि उक्त खोप गत चैतमा नेपाल ल्याइएको थियो।

हाल उक्त खोप टेकुस्थित केन्द्रीय भण्डार कक्षमा भण्डार गरिएको छ।‘ हामीले शुरुमै सिनोफाम खोप नल्याउँदा राम्रो हुन्छ भनेका हौँ तर विभिन्न दबाब आएपछि खोप ल्याइयो। यो खोप लगाउन मिल्ने अवस्था छैन’‚ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले भने।

१५ लाख डोज फाइजर खोप आउँदै

तर जनवरीको पहिलो हप्ता नेपालमा १५ लाख डोज फाइजर खोप आउने तयारीमा रहेको डा. सुरेन्द्र डा चौरसियाको भनाइ छ। ‘जनवरी पहिलो हप्ता फाइजर खोप ल्याउने तयारी छ’‚ डा. चौरसियाले भने।

कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता गरिएको ९२ लाख मात्रा खोपमध्ये ३७ लाख मात्रा ल्याइसकेको छ। अब त्यही बाँकी रहेकामध्ये १५ लाख मात्रा खोप बुस्टर डोजका लागि ल्याउन लागिएको हो। सम्झौता गरिएको खोपमध्ये दुईपटक गरेर ३७ लाख मात्रा खोप भने स्वदेश आइसकेको छ।

सरकारले गरिसक्यो दोस्रो मात्रा ‘ बुस्टर डोज लगाउने निर्णय

अर्को अचम्मको कुरा के छ भने राष्ट्रिय खोप सल्लाहकार समितिको मिति ०७९ भदौ २० गतेको सिफारिस तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रिस्तरीय मिति ०७९ कात्तिक १७ गतेको निर्णयअनुसार कोभिडविरुद्ध खोपको दोस्रो बुस्टर डोज खोप लगाउन सिफारिस समेत गरिसकेको छ।

यही सिफारिस अनुसार ०७९ कात्तिक १७ गतेको मिति राखेर परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालय ७ वटै र ७७ स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको छ।

राष्ट्रिय खोप सल्लाहकार समितिको मिति ०७९ भदौ २० गतेको सिफारिस तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रिस्तरीय मिति ०७९ कात्तिक १७ गतेको निर्णयअनुसार कोभिडविरुद्ध खोपको दोस्रो बुस्टर अर्थात् चौथो खोप दिने विषय लागू गर्न भनिएको छ।

सरकारले कोभिडको दोस्रो मात्रै हैन, चौथो डोज समेत लगाउने निर्णय भए पनि हाल खोप पर्याप्त मात्रामा छैन भने नागरिकहरू पनि सरकारको उक्त निर्णयमा बेखबर छन। स्वास्थ्य मन्त्रालयले पनि दोस्रो डोज बुस्टर खोप लगाउन भन्दै सार्वजनिक सूचना जारी समेत गरेको छैन।

बुस्टर खोप लगाउन जाने संख्या बढ्न थाल्यो

छिमेकी देशमा कोभिड संक्रमण पुनः बढ्दै गएपछि नेपालमा बुस्टर डोज लगाउन जानेको संख्या भने बिस्तारै बढ्न थालेको छ। एक हप्ता अघिसम्म खोप केन्द्रमा खोप लगाउन जानेको संख्या कम हुने गरेकोमा केही  दिनयता बुस्टर डोज खोप लगाउन आउनेको संख्या बढ्न थालेको बताउँछन् टेकु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका बहिरंग विभाग प्रमुख शंकर पाण्डे। उनले भने‚ ‘अहिले बुस्टर डोज लगाउन आउनेको संख्या अलि बढ्न थालेको छ तर हामीसँग खोप कम छ फेरि धेरैले फाइजर तथा कोभिशिल्ड खोप खोज्नु हुन्छ‚ त्यो खोप हामीसँगै छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.