|

काठमाडौं : अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन मंगलबार आदेश दिएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको सन्दीपको पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए। उनले सन्दीपविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले सम्बन्धित पक्षलाई बुझ्न पीडित किशोरीको जन्मसम्बन्धी कागजातहरू सम्बन्धित कार्यालयहरूबाट मगाउनु भन्ने आदेश दिएको बताए।

उनका अनुसार अदालतले क्रिकेटर देव खनाललाई सन्दीप र पीडित किशोरीबीच सम्पर्क गराएकोमा बकपत्र दिन बोलाइएको छ र किशोरीको मेडिकल टेस्ट गर्ने डाक्टरलाई पनि बकपत्रका लागि बोलाउन आदेश दिइएको छ। अदालतले पीडित युवतीको दाजुले किशोरी वीरगञ्जमा जन्मिएको भनेपछि सम्बन्धित अस्पतालबाट कागजात झिकाउन पनि आदेश दिएको उनले बताए।

उनले भने, ‘सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले सम्बन्धित पक्षलाई बुझ्न, पीडित युवतीको जन्मसम्बन्धी कागजातहरू सम्बन्धित कार्यालयहरूबाट मगाउनु भन्ने आदेश भयो। आदेशपछि बकपत्र पनि शुरु भयो। मागिएका कागजातहरू पनि सम्मानित अदालतमा दिन भनिएको छ। बकपत्रको क्रममा सबै साक्षीहरू जाहेरवालाको तर्फबाट सरकारी साक्षीहरू र प्रतिवादी सन्दीप लामिछानेको साक्षीहरूको बकपत्र भयो। दुईजनाको हुन सकेन। दुईजनालाई बोलाउन र सम्बन्धित अस्पतालबाट जन्म मिति पठाउन आदेश भएको छ। देव खनालसँग बकपत्र गर्ने, दोस्रो डाक्टरसँग बकपत्र गर्ने आदेश भएको छ।’ 

अधिवक्ता घिमिरेले सन्दीप लामिछानेविरुद्धको जाहेरीलाई जतिसक्दो चाँडो टुंगोमा पुर्‍याउने बताए। उनले अबको करिब ३ महिनासम्ममा सबै विषय टुंगिने दाबी गरे। उनले उमेरका कारण केस नलम्बिएको भन्दै आफ्नो पहिलो प्राथमिकता उमेरभन्दा पनि सन्दीपको निर्दोष छु भन्ने आत्मविश्वासलाई साबित गर्ने कुरामा रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.