|

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित काठेखोलामा पुल निर्माण गरिएको छ।

पुल बनाइएपछि यहाँका स्थानीय खुसी भएका छन् । कालीगण्डकी गाउँपालिका र पर्यटन मन्त्रालयको संयुक्त लगानीमा पुल निर्माण भएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए।

 ५ लाख २२ हजार ७१२ रुपैयाँ लगानीमा पुल निर्माण भएको हो। उनका अनुसार गाउँपालिकाले २ लाख ७७ हजार ८१२ र पर्यटन मन्त्रालयले २ लाख ४५ बजेट विनियोजन गरेको थियो।

यो पुल १० दिनमा निर्माण भएको हो। हेर्दा सामान्य भएपछि यस पुलले ठूलो राहत मिलेको छ।  पुल ५ मिटर लामो छ। साथै वारिपारि केही मिटर पक्की गोरेटो बाटोसमेत निर्माण गरिएको वडाध्यक्ष यादवप्रसाद पाण्डे (सुन्दर) ले बताए। यस पुलबाट ६३ घरपरिवार लाभान्वीत भएका छन्।

यहाँ पुल नहुँदा खोलाबाट नै हिड्न बाध्य थिए। जनता माध्यमिक विद्यालय अर्चलेमा पढ्न जाने विद्यार्थी यही खोला तर्नुपर्ने बाध्यता थियो। साथै दैनिक घाँस दाउरा र खेती गर्ने किसान यही खोलाबाट वारिपारि गर्दै आएका थिए। हिउँदको समयमा केही सहज भएपनि बर्खाको समयमा खोला तर्न निकै जोखिम मोल्नुपर्ने अवस्था थियो।

पुल बनेपछि यहाँका विद्यार्थीलाई राहत मिलेको पाण्डेले बताए। यसअघि यस क्षेत्रका विद्यार्थी खोलाबाट नै हिड्नुपर्ने बाध्यता थियो। खोला तर्ने क्रममा स्थानीय एकजना महिलाको बगेर मृत्यु भएको थियो।

यहाँ काठको पुल निर्माण गरिएको छ। सिसौ र सालको काठबाट पुल निर्माण भएको उनले बताए। हेर्दा आकर्षक छ। पर्यटर्कीय आकर्षण हुने गरी नमुनाको रुपमा यस पुल निर्माण गरिएको उनले बताए। यस पुललाई रंगरोगन गरेर चिटिक्क बनाइने छ। साथै पुलमा आउने दुवै तर्फका गोरेटो बाटोलाई स्तरोन्नति गर्ने योजना रहेको वडाध्यक्ष पाण्डेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.