|

काठमाडौं : टेलिभिजन च्यानल प्रसारण सुरु भएको करिब १०० वर्ष भयो। तर, दोस्रो विश्वयुद्धपश्चात् यसले व्यापकता लिएको इतिहासले बताउँछ। टेलिभिजन प्रसारण सुरु भएसँगै यसका कार्यक्रममा पनि विभिन्न विविधता आउँदै गयो। सन् १९४९ मा अमेरिकाको एबीसी टेलिभिजनबाट प्रसारण सुरु भएको ‘क्यान्डिड माइक्रोफोन’लाई टेलिभिजन इतिहासको पहिलो ‘रियालिटी सो’ मानिन्छ, जुन टेलिभिजनका दर्शकका लागि नयाँ खुराक थियो। त्यसयता बिस्तारै रियालिटी सोमा वृद्धि हुँदै गयो। 

नेपालमा टेलिभिजन प्रसारण सुरु भएको चार दशक पनि पूरा भएको छैन। यो बिचमा टेलिभिजनसँगै प्रसारण हुने कार्यक्रममा पनि विविधता आउँदै गएको छ। गायन तथा नृत्यसँग सम्बन्धित केही मौलिक रियालिटी सो पनि प्रसारण भए। तर, पछिल्ला केही वर्षयता भने विश्व चर्चित रियालिटी सो नेपालमा भित्र्याउने क्रम बढेर गएको देखिन्छ। जो दर्शकमाझ लोकप्रिय पनि भए र टेलिभिजनको ‘टीआरपी’मा पनि सकारात्मक असर गरे। उदाहरणको रूपमा नेपाल आइडल, भ्वइस अफ नेपाल, हिमालय रोडिजलाई लिन सकिन्छ। विदेशी रियालिटी सोका फ्रेन्चाइजको लोकप्रियतासँगै केही मौलिक रियालिटी सोले पनि सफलता पाए जसको एउटा उदाहरण हो, कमेडी च्याम्पियन।

भर्खरै एउटा नयाँ रियालिटी सोको प्रसारण सुरु भएको छ, जसको नाम हो, पोएट आइडल। गायन तथा नृत्य जस्ता चर्चित विधामा धेरै रियालिटी सो बन्दै आएकोमा कविताको लागि रियालिटी सो नेपालका लागि त नयाँ हो नै साथै विश्वमै यसको अभ्यास खासै भएको देखिँदैन। एपी वान टेलिभिजन र ओएसआर रियालिटीबाट पोएट आइडल प्रसारण हुन्छ। यसको ‘अडिसन राउण्ड’का चार भाग प्रसारण भइसकेका छन्। 

कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारी कार्यक्रमको पहिलो चार भागलाई मिलेको प्रतिक्रियाले उर्जा थपेको बताउँछन्। ‘एकदमै नयाँ स्वादको कार्यक्रम भएकाले कार्यक्रम कस्तो हुने हो, दर्शकले कसरी लिने हुन् भन्ने केही थाहा थिएन’, उनी भन्छन्, ‘दर्शकबाट नकरात्मक प्रतिक्रिया पाएको भए त्यसले अर्को राउण्डमा पनि असर गर्न सक्थ्यो। तर, प्रसारण भइसकेका एपिसोडमा दर्शकले दिएको प्रतिक्रियाले हामी उत्साहित भएका छौँ। अर्को राउण्डका लागि पनि फुल इनर्जीका साथ काम गरिरहेका छौँ।’

देशका विभिन्न ठाउँबाट डिजिटल राउण्ड पार गरेर आएका प्रतियोगिको अहिले फिजिकल राउण्डको अडिसन प्रसारण भइरहेको छ। भर्खरै छन्द, र्‍याप लगायतका विभिन्न विधाका कवि तथा लेखकहरूसँग प्रतियोगीको तालिम तथा परामर्शको चरण सकिएको अधिकारीले बताए,जसमा कार्यक्रमका निर्णायक तथा प्रतियोगी सबै उत्साहित देखिएको उनी बताउँछन्। 

दर्शकका सकरात्मक मात्रै नभएर नकरात्मक प्रतिक्रिया तथा सुझावका बारेमा पनि आफूलाई थाहा भएको र मिश्रित प्रतिक्रियाले काममा झनै निखार ल्याउने उनी बताउँछन्। ‘यूट्युबमा आएका सबै प्रतिक्रिया पढेर बस्ने बानी छैन। सुटिङले गर्दा त्यसको लागि समय पनि हुँदैन’, उनी भन्छन्, ‘नकरात्मक प्रतिक्रिया आयो भनेर म विचलित भएँ भने, आफ्नो काममा अडिग भइनँ भने जे गर्न खोजेको हो त्यो नहुन सक्छ। त्यसैले यसलाई सामान्य रूपले लिएको छु। मिश्रित प्रतिक्रियाले अझ राम्रो काम निकाल्न मद्दत गर्छ जस्तो लाग्छ।’

‘कविता पूरा हेर्न पाइएन भन्ने पनि धेरैको गुनासो छ। उहाँहरूले यो अडिसन राउण्ड हो भन्ने बुझ्नु जरुरी छ। धेरै जनाको ‘अडिसन’ एक घण्टामा देखाउनुपर्ने भएकाले सबैको समेटिने गरी छोटो छोटो आएको हो’, उनी भन्छन्, ’अर्को चरणमा पुगेपछि सो अर्को लयमा जानेछ। सबैको प्रस्तुति पूरा–पूरा हेर्न पाइनेछ।’ 

यसअघि रोडिज, को बन्छ करोडपति?, ऐना जस्ता टेलिभिजन कार्यक्रम निर्देशन गरेका अधिकारीका लागि यो फरक स्वादको कार्यक्रम हो। तर, फरक शैली र स्वादका कार्यक्रम भए पनि सबै आफ्नै क्षेत्रका कार्यक्रम भएकाले काममा असहजता नआएको उनी बताउँछन्। ‘म आफैँ खेलाडी भएकाले रोडिज गर्न गाह्रो भएन। क्षेत्रप्रताप अधिकारीको छोरा भएकाले गीत कविता सुन्दै हुर्केको हुँ। नारायणगोपाल अंकल, नातिकाजी श्रेष्ठ हाम्रै घरमा आउने, गीतका कविताका कुरा गर्ने भएकाले बच्चैदेखि त्यही माहोलबाट हुँ। त्यसैले पनि कविताको मर्म बुझेको छु’, उनी भन्छन्, ‘बेलायतबाट टेलिभिजन प्रोडक्सनको डिग्री लिएर आएको हुँ। मैले जानेको, मैले गर्ने नै यही हो। त्यसैले सबै ठिक छ, राम्रो भइरा’को छ, इन्जोय गरिरा’को छु।’ 

हरेक बिहीबार र शुक्रबार राति साढे ८ बजे प्रसारण हुने द पोएट आइडलमा अर्को हप्ता अन्तिम १४ प्रतियोगीको छिनोफानो हुनेछ। कार्यक्रममा कवि विप्लव प्रतीक, उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र रंगकर्मी निर्णायक रहेका छन्। कार्यक्रमलाई अभिनेता दिव्य देवले सञ्चालन गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.